काठमाडौं ।
आर्थिक विवादमा मुछिएपछि जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाको जिम्मेवारी खोसिएको छ। प्रहरी प्रधान कार्यालयले सोमबार गरेको निर्णय अनुसार खतिवडालाई सप्तरीबाट हटाई बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको हो।
प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआईजी विनोद घिमिरेले पनि खतिवडामाथि थप बुझ्नुपर्ने विषय भएकाले उनलाई बागमती प्रदेशमा सरुवा गरिएको पुष्टि गरे। उनका अनुसार, “विषय गम्भीर प्रकृतिको भएकाले अनुसन्धानको सहजताका लागि जिम्मेवारी परिवर्तन गरिएको हो।”
गाँजा मुद्दामा आर्थिक लेनदेनको आरोप
खतिवडामाथि गाँजासँग सम्बन्धित मुद्दामा आरोपीलाई नपक्रने सर्तमा आर्थिक लेनदेन गरेको आरोप लागेको छ। स्रोतका अनुसार, गाँजा कसुरमा मुछिएका जोगानन्द मण्डललाई पक्राउ नगर्ने शर्तमा उनका भाइ अखिलेश मण्डलसँग चार लाख रुपैयाँ घुस लिएको आरोप लागेको हो। उक्त रकम एसपी खतिवडाले वरिष्ठ सई विश्वनाथ साहमार्फत लिएको भनिएको छ।
यो आरोप सार्वजनिक भएपछि मधेश प्रदेश प्रहरी कार्यालयले औपचारिक रूपमा छानबिन प्रक्रिया थालेको पुष्टि गरेको छ।
एसपी गौतम केसीले सम्हाल्ने नयाँ जिम्मेवारी
खतिवडाको स्थानमा प्रहरी प्रधान कार्यालयको युएन शाखामा कार्यरत एसपी गौतम केसीलाई सप्तरी पठाइएको छ। केसी यसअघि धादिङको प्रहरी प्रमुखका रूपमा कार्यरत थिए। तर, गत असोजमा परेको अविरल वर्षाका बेला झ्याप्ले खोलामा पहिरो जाँदा गाडी पुरिएर जनधनको ठूलो क्षति भएको थियो। उक्त घटनामा पनि छानबिन समितिले केसीको कार्यशैलीमा कमजोरी देखिएको बताउँदै उनलाई जिम्मेवारीबाट हटाइएको थियो।
संगठनभित्रको अनुशासन र छानबिनको दबाब
लगातार प्रहरी अधिकृतहरू मुछिने आर्थिक र प्रशासनिक विवादले संगठनको भित्रि अनुशासनप्रतिको प्रश्न उठाएको छ। मधेश प्रदेश प्रहरी स्रोतका अनुसार, खतिवडासम्बन्धी प्रारम्भिक छानबिन रिपोर्ट तयार हुँदैछ र त्यसपछि आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ।











प्रतिक्रिया