अविरल वर्षाले कोशी राजमार्गको फ्याक्सिन्दा खण्ड अवरुद्ध, सवारी साधन बीच बाटोमै रोकिए


संखुवासभा ।

अविरल वर्षाका कारण कोशी राजमार्गअन्तर्गत मकालु गाउँपालिका–५ स्थित फ्याक्सिन्दा खण्डमा मङ्गलबार बिहानदेखि सडक अवरुद्ध भएको छ। वर्षाले फाक्रे खोलानजिक पहिरो खस्दा खाँदबारी–गोला सडकखण्ड ठप्प भएको हो।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी दक्ष कुमार बस्नेतले फ्याक्सिन्दा क्षेत्रमा खसेको ठूलो पहिरोका कारण सवारी आवागमन पूर्णरूपमा अवरुद्ध भएको जानकारी दिनुभयो। उहाँका अनुसार पहिरो हटाउने कार्य तीव्र गतिमा भइरहेको छ।

उत्तर–दक्षिण कोशी सडक आयोजनाले पहिरो पन्छाउने काममा जुटिरहेको जनाएको छ। सडक अवरुद्ध हुँदा खाँदबारीबाट भोटखोला जाँदै गरेका तथा भोटखोलाबाट खाँदबारी फर्कंदै गरेका साना तथा ठूला सवारीसाधनहरू बाटोमै रोकिएका छन्।