गोरखा–मनकामना सडक १८ घण्टापछि एकतर्फी सुचारु, लगातार वर्षाले अन्य सडकमा पनि क्षति


गोरखा ।

गोरखा जिल्लामा आइतबारदेखि परेको लगातार वर्षाका कारण अवरुद्ध भएको गोरखा–नाम्जुङ–घैरुङ–मनकामना सडक खण्ड १८ घण्टापछि एकतर्फी रुपमा सुचारु भएको छ।

शहिद लखन गाउँपालिका–७ स्थित ढुङ्गाडेमा सडक भासिएर सोमबार बिहानदेखि अवरुद्ध भएको सडक मंगलबार बिहानदेखि सवारी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ।

सडक भासिएर झण्डै ३ सय मिटर तल पहिरो गएको हुँदा, शहिद लखन गाउँपालिका, पूर्वाधार कार्यालय गोरखा, नेपाल प्रहरी तथा स्थानीय जनप्रतिनिधिको सहयोगमा जेसिबि प्रयोग गरी पहिरो पन्छाएर सडक खुलाइएको वडा नं ७ का अध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो।

उक्त सडक सुचारु भएपछि गोरखा सदरमुकामबाट शहिद लखन गाउँपालिका हुँदै प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरसम्मको यातायात पुनः सहज भएको शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले बताउनुभयो।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार हाल गोरखा सदरमुकामदेखि ढुङ्गाडे, बुङकोट, नाम्जुङ, घैरुङ हुँदै मनकामनासम्मको सवारी आवागमन बिना अवरोध सञ्चालनमा रहेको छ।