काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिमा रकम दाखिला नगरी हिनामिना गरेको अभियोगमा प्रदेश अस्पताल, सुर्खेतमा कार्यरत कर्मचारी तृप्ति शाहीसहित तीन जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
स्वास्थ्य बिमा वापतको २५ लाख ६७ हजार ५ सय २६ रुपियाँ ५० पैसा दाखिला नगरेको अभियोगमा अख्तियारले शाहीसहित लेखा अधिकृत (अधिकृतस्तर छैटौं) शंकरप्रसाद सुवेदी र कुमारी बैंकका एक्सटेन्सन काउन्टरका तत्कालीन प्रमुख गोमा सिंजाली मगरलाई प्रतिवादी बनाई मुद्दा दायर गरेको अख्तियारकाका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।
शाही अस्पतालले बिमाको लागि सुन्दर कर्णाली संस्थासँग करार सम्झौता गरेकोमा सोही संस्थाबाट अस्पतालको सामाजिक सेवा एकाई कार्यक्रमतर्फ शाखाको नाम दर्ता गर्ने काउन्टरमा कार्यरत हुनुहुन्थ्यो । शाहीले अस्पतालमै नाम दर्ताको लागि प्रयोग गर्ने युजर नेम र पासवर्ड प्रयोग गरेर कुमारी बैंकको एक्सटेन्सन काउन्टरमा कार्यरत गोमासिंजाली मगरले रकम दाखिलाको भौचर जारी गर्दै आउनुभएको थियो ।
शाहीले डल्फिन सफ्टवेयरमार्फत बिमितको नाम दर्ता गर्दा ५ रुपियाँ राजस्व लिएर बिल जारी गर्ने र बिलको आधारमा रकम संकलन गर्दै आएको र मगरले डल्फिन सफ्टवयेर मिलान गरी रकम दाखिला गरेको भौचर जारी गर्दै आउनुभएको थियो । त्यसपछि लेखा शाखाका अधिकृत सुवेदीले डल्फिन सफ्टवेयर हेरेर दैनिक रूपमा हिसाब फरफारक गर्दै आउनुभएको अख्तियारको भनाइ छ ।
शाहीले अनाधिकृत रूपमा बिलिङ काउन्टरमा प्रवेश गरी बिलिङ गर्ने गरेको र बिलिङबाट प्राप्त रकम बैंक दाखिला नगरी हिनामिना गरी अनियमितता गरेको भन्ने उजुरीको सम्बन्धमा अनुसन्धान हुँदा सो तथ्य बाहिर आएको हो । प्रतिवादीहरूले बिमा वापत २०८० श्रावण १ गतेदेखि २०८१ असार ३२ गते सम्मको अवधिमा संलकन भएको राजस्व रकम ३४ लाख ३ हजार ८ सय ५६ रुपियाँ ५० पैसामध्ये ८ लाख ३६ हजार ३ सय ६० रुपियाँमात्रै बैंकमा दाखिला गरी बाँकी रकम दाखिला नगर्नुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको अख्तियारको दावी छ।
यसबाट प्रतिवादीहरूले आफनो जिम्मामा रहेको प्रदेश अस्पताल सुर्खेतको सम्पत्ति हिनामिना गरी हानी पु¥याएको अख्तियारका प्रवक्ता पौडेलले जानकारी दिनुभयो । तीनै जनाले मिलेमतोमा भ्रष्टाचार गरेकोलाई मध्यनजर गर्दै अख्तियारले भ्रष्टाचार गरेको रकम बिगो कायम गरी बिगोबमोजिमको जरिवाना र कसुर सजायको लागि मागदाबी गरेको छ ।











प्रतिक्रिया