अल्बानिया हुँदै ग्रिस लैजाने भन्दै चार जनासँग ठगी गर्ने अभियुक्त काठमाडौंबाट पक्राउ


काठमाडौं ।

आकर्षक तलब र वैदेशिक रोजगारीको प्रलोभन देखाएर चार जना बेरोजगार युवायुवतीलाई झुक्याई ३७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

गोरखाको वारपाक सुलिकोट गाउँपालिका–४ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका–२६ गल्कोपाखामा बस्दै आएका २९ वर्षीय राजेश बरामलाई काठमाडौंको सोह्रखुट्टे क्षेत्रबाट असार ८ गते पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

बरामले अल्बानिया हुँदै ग्रिस लैजाने भन्दै पीडितसँग ठूलो रकम असुलेका थिए। तर, न त विदेश पठाइयो न त सम्पर्कमा नै आएपछि ठगी भएको भन्दै पीडितहरूले प्रहरीमा जाहेरी दिएका थिए । पीडितका अनुसार बरामले जनही लाखौँ रुपैयाँ असुल्दै आकर्षक तलबको झुटो प्रलोभन दिएका थिए ।

चार जना पीडितबाट जम्मा ३७ लाख रुपैयाँ असुलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाको गम्भीरता हेर्दै महानगरीय प्रहरी कार्यालय, काठमाडौंबाट खटिएको टोलीले उनलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाएको हो ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ भने अन्य संलग्न व्यक्तिहरुका बारेमा पनि खोजी कार्य तीव्र पारिएको जनाएको छ । प्रहरीले वैदेशिक रोजगारीका नाममा हुने ठगीबाट सतर्क रहन नागरिकलाई आग्रह गरेको छ। विशेषगरी दलालमार्फत हुने प्रक्रियामा सावधानी अपनाउन र सरकारी स्वीकृति बिना रकम नदिन समेत आग्रह गरिएको छ।