कैलाली कारागारमा कैदी मृत्यु प्रकरण : सई पक्राउपछि परिवारले बल्ल बुझ्यो शव


कैलाली ।

कैलाली कारागारमा कैद भुक्तान गरिरहेको अवस्थामा मृत्यु भएका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिस सिंह पालीको परिवारले पाँच दिनपछि बल्ल शव बुझेका छन् ।

पालीकी श्रीमती जानकी साउँदले दिएको किटानी जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक सई हरजीत नाथलाई पक्राउ गरेपछि मृतकका परिवारले बल्ल शव बुझेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी राजकुमार सिंहले पालीको शव परीक्षणपछि शुक्रबार बिहान पीडित पक्षले शव बुझेको जानकारी दिएका छन् । उहाँकाअनुसार मृतककी श्रीमतीको किटानी जोहरीका आधारमा सई नाथलाई पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएको थियो ।

नाथ मृतक पाली प्रतिवादी रहेको बैंकिङ कसुर मुद्दाका वादी समेत रहेका थिए। नाथले दिएको मुद्दामा पालीलाई जिल्ला अदालतले २०८० सालको फागुनमा १० दिन कैद र दुई लाख जरिवाना हुने फैसला सुनाएको थियो । अहिले मृतककी श्रीमतीले उनीविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गराएका छन् ।

मृतककी श्रीमती साउँदले नाथकै योजनामा कारागारभित्र कुटपिट गरी श्रीमानको हत्या गरिएको आरोप लगाउदै बुधबार कारागार प्रमुख बसन्त बहादुर खत्रीसहितका पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । तर कैलाली प्रहरीले उहाँलाई जाहेरी सच्याएर ल्याउन भनेपछि बिहीबार भने नाथविरुद्ध मात्र जाहेरी दिइएको थियो ।

२९ जेठमा डडेल्धुराबाट पक्राउ परेका पालीलाई कैलाली प्रहरीले ३० गते धनगढी लगिएको थियो । ३१ गते शनिबार पक्राउ परेका कारण उनलाई असार १ गते मात्र अदालत पेस गरिएको थियो । अदालतले पालीलाई सोही दिन कैद भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको थियो ।

तर असार २ गते राति १०ः३० बजे कारागारका बाथरुम नजिकै पाली अचेत अवस्थामा भेटिएपछि सेती प्रादेशिक अस्पताल लगिएकोमा सोही राति मृत्यु भएको थियो । मृतक पालीका शरीरमा चोटपटक समेत देखिएका कारण परिवारले उनको योजनाबद्धरुपले हत्या गरेको आरोप लगाएका थिए ।