तपाईँले खोज्नुभएको चिज तपाईँभित्रै छ । हामी बाहिर त सबैथोक गर्छौँ । आफुले आफुलाई सजाउँँछौँ किनभने बाहिर चिजहरू देखिन्छन् । तर, मूल कुरा के हो भने भित्रका लागि हामी के गरिरहेका छौँ ? यथार्थमा बाहिर देखिएका सबै कुरा भित्रबाटै आइरहेका हुन्छन् । यदि मानिसलाई भित्र रिस उठिरहेको छ भने उसलाई मुस्कुराउनका लागि तपाईँले जतिसुकै आग्रह गरे पनि अलिकति मात्रै उसको ध्यान भङ्ग हुनासाथ उसले मुस्कुराउन छोड्नेछ । उसको क्रोध बाहिर देखिनेछ । तथापि, हामी जे जति कार्य गरिरहेका छौँ नि, ती कार्यहरू भित्रका लागि नभएर बाहिरका लागि गरिरहेका छौँ । हामीले बाहिर जतिसुकै परिश्रम गरे पनि केही हुँदैन । मानौँ एउटा कार छ । त्यसमा इन्जिन छैन । टायर पनि छैन । त्यसलाई दिनभरि पालिस गरिरहे पनि के काम भयो र ! त्यसलाई कतै गुडाउन त सकिँदैन ! यो त्यस्तै कुरा हो ।
शान्ति तपाईँभित्रबाट शुरु हुनुपर्छ, बाहिरबाट होइन । मानिसहरू शान्ति भयो भने यस्तो हुन्छ, त्यस्तो हुन्छ भनेर धारणा बनाउँछन् तर त्यसबाट शान्ति हुँदैन । भित्रैबाट शान्ति भएपछि मात्रै शान्ति हुन्छ । एउटा सानो बीउबाट रुखको निर्माण प्रक्रिया शुरु हुन्छ । बीउ सानो हुन्छ तर शुरुवात त्यहीँबाट हुन्छ । यदि दुई शब्द बुझियो भने पनि त्यसमा विचार गर्नका लागि मैले त बीउ रोपिदिएँ । यदि त्यसलाई हेरचाह ग¥यो भने पक्कै पनि त्यो रुखमा परिणत हुनेछ । मेरो भनाइ के छ भने सुन्नुहोस्, बुझ्नुहोस् अनि त्यसै अनुरूप जीवनमा परिवर्तन ल्याउनुहोस् । तपाईँभित्रको चिजलाई खोज्नुहोस् !
चाहे जुनसुकै धर्मको भए पनि जीवनमा यस्तो शान्ति जुन व्यक्तिगत शान्ति होस् । कतिपय मानिसहरू धर्म मान्दैनन् । यसको अर्थ उनीहरू शान्ति महसुस गर्न सक्दैनन् भन्ने हुँदै होइन । मानिसहरू के ठान्छन् भने, ‘यस्तो गर्नुभयो, उस्तो गर्नुभयो भने मात्रै यो सबै कुरा हुनेछ ।’ होइन, शान्ति सबैभित्र छ तर हामीले त्यसलाई प्रकट हुने मौका नै दिएका छैनौँ । त्यसलाई चिन्ने अवसर प्रदान गरेका छैनौँ । यसकारण यो अत्यन्तै आवश्यक कुरा हो !
जे जति पनि युद्धहरू छन्, यस विश्वको आजको अवस्था जे जस्तो छ– कसले यस्तो बनायो ? यो सबै मानिसले नै बनाएको हो । यदि मानिसले यस्तो बनाएको हो भने अनि तपाईँलाई मानिसकै कारणले यस्तो भएको हो भन्ने लागेको छ भने यो एकदमै राम्रो खबर हो ! यसको अर्थ के हो भने, यसलाई बदल्न पनि सकिन्छ । प्रकृतिलाई परिवर्तन गर्न एकदमै गाह्रो छ तर यदि मानिसले यस्तो बनाएको हो भने यसलाई परिवर्तन गर्न सकिन्छ ।
आन्तरिक शान्ति के होइन र केचाहिँ हो ? मानिसको बुझाइमा त उनीहरूका समस्या हल भएमा शान्ति प्राप्त भइहाल्छ भन्ने हुन्छ । कुनै भोकाएको मानिसले ‘खाना पाएँ भने मैले शान्ति पाउनेछु’ भन्ने ठान्छ । मानौँ छिमेकीको कुकुर रातभरि भुकिरहेको छ अनि त्यो कुकुरले भुक्न छोड्यो भने शान्ति पाइनेछ भन्ने लाग्छ । हाम्रो समस्याको हल हुनु भित्री शान्ति होइन, किनभने हाम्रा समस्याहरू त फेरिरहन्छन् । मोबाइल फोनको आविष्कार हुनुभन्दा पहिला त्यसको ब्याट्रीको अवस्थाका बारेमा कसैले सोच्नुपर्ने आवश्यकता पथ्र्यो र ? अहिले मोबाइल आएपछि चार्ज कति छ भन्ने कुरा नै हाम्रो समस्या बनिदिन्छ । मानिसहरू त यी लडाइँहरू रोकिए भने शान्ति हुनेछ भन्ने ठान्छन् तर यो पनि शान्ति होइन ।
यो दुनियाँमा मानिसहरूले यदि आजका बारेमा थाहा पाउन थाले भने उनीहरूका लागि शान्तिको सन्देश प्राप्त गर्न एकदमै सहज हुनेछ । शान्तिलाई निर्माण गरिरहनुपर्दैन । शान्तिको अर्थ मानिसहरूले युद्ध गर्न बन्द गर्नु पनि होइन । शान्ति त तपाईँको हृदयमा छ । आज पनि छ र तपाईँले आफुलाई अशान्त महसुस गरिरहनुभएको समयमा पनि त्यो शान्ति तपाईँभित्रै हुन्छ । जब तपाईँ आफुलाई हराएको महसुस गर्नुहुन्छ, जब तपाईँ आफुलाई एक्लो भएको महसुस गर्नुहुन्छ त्यतिखेर पनि त्यो संसारलाई सञ्चालन गर्ने शक्ति तपाईँभित्र अवस्थित हुन्छ । त्यो शक्ति पहिलादेखि नै रहेको छ । तपाईँ त्यसलाई बिर्सनुहुन्छ तर उसले तपाईँलाई कहिल्यै बिर्सँदैन । यो श्वासको आवागमन भएसम्म उसले तपाईँलाई बिर्सने छैन ।
यो समाजलाई सुधार गर्नका लागि मानिसहरूले अनेकन् सूत्र निर्माण गरेका हुन्छन् । यो दुनियाँको विद्यालय पनि अचम्मको विद्यालय हो । यहाँ परीक्षा हुँदैन । यहाँ कसैको पनि प्रगति विवरण छापिँदैन । मानिसहरू एकअर्कालाई साथ दिन लागिपरिरहेका छन् । तथापि, एक दिन कसैले पनि साथ दिनु नपर्ने स्थिति उत्पन्न हुन्छ । त्यो दिन आउनेछ तर त्यो दिन आउनुभन्दा पहिला नै तपाईँ आफ्नो जीवनमा त्यो शान्तिको अनुभूति गर्नुहोस् । आज के हो भन्नेबारेमा बुझ्नुहोस् । यसलाई बुझेर आफुले आफुलाई चिन्नुहोस् ।
एउटा कथा छ– दुईवटा कमिलाको । एउटा कमिला मिस्रीको पहाडमा बस्दथ्यो र अर्काेचाहिँ नुनको पहाडमा बस्दथ्यो । एकदिन मिस्रीको पहाडमा बस्ने कमिलाले कतै जाँदै गर्दा नुनको पहाडमा बस्ने कमिलालाई भेट्यो । उसले त्यो नयाँ कमिलालाई देखेर ‘तिमी को हौ र कहाँबाट यहाँ आयौ’ भनेर सोध्यो । त्यसपछि नुनको पहाडमा बस्ने कमिलाले ‘म नुनको पहाडमा बस्ने कमिला हुँ’ भन्यो ।
मिस्रीको पहाडमा बस्ने कमिलालाई मिस्रीको स्वाद मात्र थाहा थियो भने नुनको पहाडमा बस्ने कमिलाले नुनको स्वाद मात्र चाखेको थियो । दुवैजनाले एक आपसमा वार्तालाप गर्न लागे । नुन कमिलाले भन्यो, ‘यो मिस्रीे भनेको कस्तो हुन्छ ?’ मिस्री कमिलाले उसलाई भन्यो, ‘यो मीठो हुन्छ । यसको स्वाद पनि धेरै राम्रो हुन्छ ।’
तर, नुन कमिलाले त्यो कुरा बुझ्दै बुझेन । अनि, मिस्री कमिलाले भन्यो, ‘मैले जति नै बखान गरे पनि त्यो तिमीले बुझ्दैनौ । तिमीलाई अब म बस्ने पहाडमा लैजान्छु । तिमीले त्यो मिस्री खाएपछि कति मीठो हुन्छ भनेर आफुले थाहा पाउँछौ ।’
अर्काे दिन उसले त्यो मिस्रीे मीठो हुने कि नहुने हो भन्ने शङ्का गरेर अलिकति नुन लिएर जानेबारेमा सोच्यो । त्यसैले बोक्न सक्ने र मुखमा राख्न सक्ने जति नुन सुटुक्क राखेपछि ऊ मिस्रीवाला कमिलाको बासस्थानतिर लाग्यो । मिस्री कमिलाले त्यो नुन कमिलालाई गुलियो नै गुलियो, मिस्री नै मिस्री भएको ठाउँमा लिएर गएपछि भन्यो, ‘खाऊ ! अनि मलाई यसको स्वाद कस्तो लाग्यो भन ।’
नुन कमिलाले अलिकति मिस्री मुखमा राखेर भन्यो– ‘यसको स्वाद त मकहाँ भएको नुनकै जस्तै छ ! यसमा र त्यसमा केही फरकै छैन ।’ मिस्री कमिलाले भन्यो– ‘यस्तो त हुन नपर्ने हो । तिम्रो मुख खोलेर देखाऊ त ।’
उसले मुख खोलेर देखाउँदा त उसको मुखमा निकै ठूलो नुनको ढिका पो रहेछ । त्यसैले जति मिस्री खाए पनि गुलियो भएकै थिएन उसलाई । नुनिलै भइरहेको थियो ! त्यसपछि मिस्री कमिलाले भन्यो, ‘तिमी त्यो नुनको ढिका निकाल र यो मिस्री खाऊ ।’ उसले नुनको ढिका फालेर मिस्री चाखेपछि बल्ल उसलाई मीठो कस्तो हुन्छ भनेर अनुभव भयो । अनि उसले भन्यो– ‘आहा ! साँच्चै यसको स्वाद त अचम्मको रहेछ !’
हाम्रो पनि त्यही कमिलाको जस्तै अवस्था छ । हामीले त्यो परमानन्दको सुखलाई अनुभव नगरेसम्म त्यो परमानन्द, त्यो वास्तविक सुख हामीलाई आवश्यक छ कि छैन भनेर कसरी थाहा हुन्छ !
संसारले त भन्छ– ‘हाम्रा पनि केही आवश्यकता छन् ।’ अनि, हामी सबै तिनै आवश्यकता पूरा गर्न सधैँ केही न केही गरिरहन्छौँ । मानिसका जुन निजी आवश्यकता छन्, तिनलाई पूरा गर्न भने ऊ कहिल्यै पनि चिन्तित हुँदैन । समाजले हामीलाई भनिरहेका आवश्यकतालाई पूरा गर्नमा त मानिस निकै चिन्तित हुन्छन् ।
मानिसहरू अन्य थुप्रै आवश्यकतालाई पूरा गर्न तल्लिन हुन्छन् । तर, ‘यो मेरो जीवन हो, म जीवित छु, मेरो जीवनमा एक–एक श्वास आइरहेको छ, गइरहेको छ’ भनेर कहिल्यै सोच्दैनन् । एकदिन त यस्तो अवस्था पनि आउँछ, म जीवित रहँदिन । मलाई त्यो दिन कहिले आउँछ थाहा छैन तर एकदिन अवश्य आउँछ भन्नेचाहिँ थाहा छ । मेरा सबै इच्छा त कहिल्यै पनि पूरा हुँदैनन् । तर, जबसम्म म जीवित छु, म आफ्नो वास्तविक आवश्यकतालाई त पूरा गर्दै जान सक्छु ! परमानन्दको सुखको अनुभव गर्नु, परम् शान्तिको अनुभव गर्नु नै वास्तविक आवश्यकता हो । यदि सबै चीजको अनुभव गरे पनि त्यो वास्तविक चीजको अनुभव गरेनौँ भने यो संसारमा खाली हात आएका थियौँ र खाली हात नै जानुपर्नेछ । त्यसैले आफ्नो जीवनमा वास्तविक सुखलाई अपनाउनुहोस् ।
माथिको कथाले हामीलाई दिने सन्देश के हो भने, कुनै दिन हामी आफ्ना लागि आफुले नै सबैभन्दा ठूलो शत्रु बन्दछौँ । हामीले आफ्नो एउटा स्वभाव बनाएका छौँ– हामी चीजहरूलाई यथार्थमा भए जसरी स्वीकार गर्दैनौँ । बरु हरेक चीजलाई आफ्नै दृष्टिकोणद्वारा हेर्दछौँ । केही मानिसहरूले मसँग सोध्नुहुन्छ– ‘के जीवनमा सबै कुरा भाग्यबाट तय हुँदैन त ? फेरि यसो हो भने र यदि सबै कुरा पूर्वनिर्धारित नै हुन्छ भने मसँग के उपाय रहला ?’ यदि तपाईँको भाग्यका तास पहिले नै फिटेर बाँडिसकिएको छ भने त तपाईँ निर्णय लिने व्यक्ति त होइन ! म उत्तर दिन्छु, ‘होइन । यी कुराहरू भाग्यबाट तय हुँदैनन् । हाम्रो आफ्नो भ्रम, हाम्रा आफ्ना द्विविधाहरूले नै हामीलाई गलत विकल्पहरूलाई अपनाउनका लागि बाध्य तुल्याउँछन् । हाम्रो धेरैजसो दुःखको कारण पनि यही हो । तर, जब हामी यी विचारलाई छोडिदिन्छौँ– तब हामी ती कुराहरूलाई जस्तो छ त्यही रूपमा देख्न थाल्नेछौँ । त्यसपछि हामीसँग सारा विकल्पहरू हुनेछन् ।
यदि हामीले जागृत हृदयबाट सोचविचार गरेर कुनै बाटोलाई चुन्छौँ भने अँध्यारोमा दियो बालेजस्तै हुन्छ । चाहे एउटा दियो जति नै सानो होओस् तर त्यो बलेपछि त्यसले वास्तविक चीजलाई देखाइदिन्छ । त्यसपछि हामीले देख्न थाल्छौँ । हामीले अँध्यारोमा देख्न नपाएका कुरालाई देख्न थाल्छौँ । सचेत भएर चुन्ने शक्ति तपाईँमा विकसित हुन्छ । त्यो तपाईँको आफ्नो दियो हो, जसले अँध्यारोलाई भगाउँछ ।
यो संसार त समस्याहरूले भरिएको छ तर यहाँ धेरै आनन्द पनि छ । हो, कालो–घना बादलहरूको एउटा मोटो तह हुन सक्छ तर त्यसको ठीकमाथि चम्किलो सफा–नीलो आकाश अवस्थित छ । सूर्य पनि आफ्नो चम्किलो किरणको साथमा बलिरहेको छ । अब यो प्रश्न उठ्न सक्छ– तपाईँ कहाँनिर रहन चाहनुहुन्छ ? यो कुरा तपाईँको छनोटमा निर्भर रहन्छ ।
(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन ।
संकलन एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल । थप जानकारीका लागि www.premrawat.com)











प्रतिक्रिया