ललितपुर ।
चार वर्षपछि ललितपुरको ग्वार्को र सातदोबाटो सडक खण्डमा भएको फ्लाइओभरको निर्माण कार्य पूरा भएको छ ।
ठेक्का रकम मूल्य अभिवृद्धि करसहित १७ करोड ६ लाख ८८ हजार ८ सय ८८ रुपियाँको लगातमा सो कार्य पूरा भएको हो । सोको ठेक्का आशिष समानान्तर रेलिगेर जेभी काठमाडौंले लिएको थियो । सो फ्लाइओभरमा आज शुक्रवारबाट गाडी गुड्ने सडक विभागले जनाएको छ । यद्यपि, २ प्रतिशत काम हुनुपर्ने सडक विभागले जनाएको छ । रेलिङ, पेभमेन्ट, रंगरोगनलगायत कार्यहरू बाँकी छन् ।
मुख्य संरचनाको निर्माणपछि लेन सेपरेटर राख्ने, लाइनिङ गर्नेलगायतका काम पूरा भएपछि सवारीसाधन सञ्चालन हुने अवस्थामा पुगेको सडक विभागले जानकारी जनाएको छ । संसद्को पूर्वाधार विकास समितिले सो निर्माण कार्यको अनुगमन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ग्वार्को फ्लाइओभर सञ्चालन गर्न ४ वटा शर्त पूरा गर्न निर्देशन दिएको छ । निर्माण सम्पन्न भएको फ्लाइओभरमाको निरीक्षणका लागि पुगेको समितिले भार क्षमता परीक्षण गरेरमात्रै गाडी कुदाउन निर्देशन दिएको हो ।
विकास समितिका सभापति दीपकबहादुर सिंहले सीसीटीभी जडानसहित प्राविधिक परीक्षणपछि सञ्चालन गर्न निर्देशन दिएको जानकारी दिनुभयो । ‘फ्लाइओभरमा सडकबत्ती, सीसीटीभी, रोड मार्किङ गर्नुपर्ने र सडकको भार क्षमता गरेपछि मात्रै सडक सञ्चालन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र काटेका छौं’, सिंहले भन्नुभयो– ‘सर्वसाधारणको जिउधनलाई पहिलो प्राथमिकतामा राख्दै सार्वजनिक यातायात चल्ने ठाउँमा प्राविधिक परीक्षण हुनुपर्छ भनेका छौैं ।’
सडक विभागले आज शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गराई सञ्चालन गर्ने तयारी गरेको छ । २०७८ मा फागुन १२ ठेक्का लागेको यो परियोजना सम्पन्न हुन ४ वर्षभन्दा बढी समय लागेको छ । फ्लाइओभरको संरचना निर्माणको काम सकिएपछि ८ जेठदेखि कालोपत्रको काम शुरू भएको थियो ।
ग्वार्को ओभरपासअन्तर्गत २० मिटर स्पानसहित ४ लेनको पुल निर्माण भएको छ । यसबाहेक ५ सय मिटर लामो अप्रोच सडक बनेको छ । जसमा बालकुमारी र सातदोबाटोबाट र्याम बनाइएको छ । चक्रपथ सडकको बीचको चार लेन सडकलाई पर्खाल लगाएर माथि उठाई फ्लाइओभार बनाइएको हो ।
ग्वार्को चोकमा बनेको पुल मुनिबाट मंगलबजार–इमाडोल जाने सवारीसाधन निर्वाध चल्न सक्ने गरी फ्लाइओभर बनाइएको छ । सो फ्लाइओभरको माथिबाट कोटेश्वर र ग्वार्को क्षेत्रको यातायात सञ्चालनमा सहजता आउने अपेक्षा गरिएकोे छ ।











प्रतिक्रिया