काठमाडौं ।
नेक्स्ट डोर कन्स्ट्रक्सन प्रालिको चेक अनादर सम्बन्धी उजुरीका आधारमा फरार रहेका प्रतिवादी विरेन्द्र खत्री अन्ततः पक्राउ परेका छन्। काठमाडौं जिल्ला अदालतबाट विगतमा दोषी ठहर भई दुई वर्ष कैद सजाय पाएका खत्रीलाई भक्तपुरको सूर्यविनायक नगरपालिका–५, कटुन्जेबाट प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार, नेक्स्ट डोर कन्स्ट्रक्सनले २०७९ सालमा चेक अनादर मुद्दा दर्ता गराएको थियो। उजुरीमा उल्लेख भए अनुसार, प्रतिवादी खत्रीले २०७८ साल साउन २५ गते वादी कम्पनीको नाममा १ करोड १५ लाख रुपैयाँ बराबरको चेक जारी गरेका थिए। तर उक्त चेक अनादर ९बाउन्स० भएको पुष्टि भएपछि कानुनी प्रक्रिया अघि बढाइएको थियो।
काठमाडौं जिल्ला अदालतले सोही मुद्दामा २०८१ साल पुस २९ गते फैसला सुनाउँदै, प्रतिवादी विरेन्द्र खत्रीलाई २ वर्ष कैद सजायका साथै बिगो १,१५,००,००० र त्यसमा लाग्ने ब्याज वादीलाई दिलाउने आदेश दिएको थियो। तर फैसला पछि खत्री फरार रहेका थिए।
उपत्यका अपराध अनुसन्धान महाशाखाका न्यायालयको फैसलाको पालना गर्दै फरार प्रतिवादी विरुद्ध खोजी जारी थियो। सुराकीको आधारमा खटिएको टोलीले सूर्यविनायकबाट पक्राउ गरी निर्णय कार्यान्वयनको लागि अदालतमा पेश गरेको हो।
प्रहरीका अनुसार, खत्रीलाई अब काठमाडौं जिल्ला अदालतमार्फत फैसला कार्यान्वयन गरी कैद भुक्तान गराइने छ। यस घटनाले चेक अनादर जस्ता आर्थिक अपराधमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने दिशामा सकारात्मक सन्देश दिएको छ।











प्रतिक्रिया