काठमाडौं।
मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमार्फत १४ करोडभन्दा बढी ठगी गरेको अभियोगमा लामो समयदेखि फरार रहेका मुख्य प्रतिवादी ज्योती बहादुर भण्डारीलाई नेपाल प्रहरीले कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याएको छ।
नेपाल प्रहरीको विशेष टोलीले कम्बोडियामा लुकेर बसेका भण्डारीलाई पक्राउ गरी हिजो (असार ४ गते) नेपाल ल्याएको हो। उनलाई हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) को हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।
ठगी प्रकरणको पृष्ठभूमि
मितेरी सहकारी संस्था तथा त्यसका १४४ जना बचतकर्ता र सञ्चालकहरूबाट गरी करिब १४ करोड रुपैयाँभन्दा बढी ठगी गरिएको उजुरीपछि अनुसन्धान अगाडि बढाइएको थियो। अनुसन्धानका क्रममा सहकारीका तत्कालीन महाप्रबन्धक ज्योती गुरुङले थाइल्याण्डमा बसोबास गर्ने ज्योती बहादुर भण्डारीलाई रकम पठाइएको बताएकी थिइन्।
भण्डारीले आफूले ३३ करोड ११ लाख पार्सलमा पठाएको भन्दै प्रमाणस्वरूप टोकनको फोटोसमेत पठाएको पाइएको छ। त्यसबापत सहकारीका पदाधिकारीहरूलाई विभिन्न व्यक्ति र फोन नम्बरमार्फत सम्पर्क गरी थप ३ करोड ४४ लाख ७४ हजार ३२० ठगी गरेको खुलेको छ।
राहदानी र नागरिकता सम्बन्धी कीर्ते
अनुसन्धानबाट भण्डारीको नाममा दुई फरक राहदानी र दुई फरक नागरिकता नम्बर प्रयोग गरिएको पाइएको छ। ती राहदानीमा क्रमशः कास्की र बर्दिया जन्मस्थान उल्लेख गरिएका छन्। उनले अन्य व्यक्तिका नागरिकता तथा राहदानी विवरण परिवर्तन गरी कीर्ते कागजातमार्फत सामाजिक सञ्जाल (फेसबुक) र विभिन्न माध्यम प्रयोग गरी ठगी गरेको प्रमाण भेटिएको छ।
भण्डारीमाथि यसअघि जिल्ला प्रहरी परिसर, काठमाडौंमा दर्ता भएका तीनवटा ठगीसम्बन्धी मुद्दामा समेत फरार प्रतिवादीको रूपमा नाम रहेको छ।
प्रहरीले ज्योती बहादुर भण्डारीसँग सम्बन्धित ठगी घटनामा संलग्न अन्य पीडितहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरोसँग सम्पर्क गर्न अनुरोध गरेको छ।











प्रतिक्रिया