पाठक पत्र : झोलेको हातमा देश, सबैलाई राष्ट्रभन्दा पार्टी प्यारो


गत २०८० मंसिर ७ गते नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौंको तीनकुने र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बल्खुमा आन्दोलन गरे । दुईवटै आन्दोलनमा धेरै मानिस हुने अनुमान गरिएको थियो । सोही अनुरुप सुरक्षाकर्मी पनि खटाउनुपर्‍यो । प्रहरीसँग हातहतियार नभएपछि सशस्त्र र सेनाबाट हतियार सापटी लियो ।

०८१ चैत १५ गते राजावादी र गणतन्त्रवादीहरुले आन्दोलन गरे । दुर्गा प्रसाईंको नेतृत्वमा राजावादीहरुले तीनकुने र प्रचण्ड, माधव नेपाललगायत गणतन्त्रवादीहरुले भृकुण्टीमण्डपमा कार्यक्रम गरेका थिए । तर, तीनकुनेमा हिंसात्मक घटना हुन पुग्यो । प्रहरीले अश्रुग्यास प्रहार गर्‍यो । अन्ततः राजावादीहरुको आन्दोलनमा दुईजनाले ज्यान गुमाए । सयौं घाइते भए ।

जनताले तिरेको करबाट प्रहरी, सशस्त्र र सेनाले हातहतियार तथा भीड नियन्त्रणका उपकरण खरिद गर्छ । यसरी किनिएका हतियार, गोली, अश्रुग्यासहरुमा नम्बर लेखिएको हुन्छ । २०४६ सालअघि सुरक्षा निकायसँग कति हतियार थिए ? अहिले कति छन् ? यसको विवरण सरकार सार्वजनिक गर्दैन । २०४६ सालअघि होस् या त्यसपछि किनिएका हातहतियार सरकारले जनताले नै तिरेको करबाट किनेको हो ।

२०५२ फागुन १ गते माओवादीले जनयुद्ध शुरु गर्‍यो । दश वर्ष चलेको जनयुद्धमा १७ जना सर्वसाधारण शहीद भए । हजारौं अंगभंग भए । माओवादीले भरुवा बन्दुकबाट जनयुद्ध शुरु गरेको थियो । किनकि माओवादीसँग हतियार थिएन । पछिल्लो समय भारतीय मिडिया तथा नेताहरुले माओवादीलाई लड्न हातहतियार आफ्नो देशले सहयोग गरेको दाबी गरिरहेका छन् ।
यतिमात्र होइन, नेपालमा विभिन्न मितिमा भएका राजनीतिक परिवर्तनका क्रममा लड्न कांग्रेस, एमाले, माओवादीलगायत दलहरुलाई हतियार र तिनका नेतृत्वलाई लुकाउन पनि भारतले नै सहयोग गरेको बताइन्छ । भारतले नेपालको थुप्रै भूभाग कब्जा गरेको छ । टकनपुर, दार्जीलिङ, सिक्किम, कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत धेरै नेपाली भूभागमाथि भारतीय कब्जा छ ।

चीनले पनि नेपालको थुप्रै कब्जा कब्जा गरेको छ । विदेशी देशहरुबाट नेपाल सरकारले २७ अर्ब ऋण लिइसकेको छ । अब सरकारले न छिमेकी देशहरुले कब्जा गरेको भूभाग नै फिर्ता ल्याउन सक्नेछ, न त विदेशी ऋण नै तिर्न सक्नेछ । यता भारत र चीनले कब्जा गरेर बचेका सरकारी, सार्वजनिक, गुठी, मठमन्दिर, ताल, पोखरीका जग्गा दलका कार्यकर्ताहरुको नाममा गइसक्यो ।

देश दिनप्रतिदिन शिथिल बन्दै गएको छ । अर्थतन्त्र धराशायी अवस्थामा पुगेको छ । राजस्व उठ्न ठप्प भइसक्यो । अहिलेसम्म त विदेशीसँग ऋण ल्याउँदै सरकारले देश चलाइरहेको छ । तर, विदेशीले ऋण दिन छोडे के होला ? सरकारले सरकारी कर्मचारीको तलबभत्ता कसरी दिन्छ ? सामाजिक सुरक्षा भत्ता कहाँबाट ल्याएर दिन्छ ?

पेन्सन कसरी दिन्छ ? २००७ सालअघि छिमेकीहरुबीच झैझगडा गर्दा ‘तेरो घरमा कालो कांग्रेस वा कम्युनिस्ट पसिहालोस्’ भन्दै श्राप दिइन्थ्यो । कांग्रेस, एमाले, माओवादीहरुले लुट्न मात्र सिकेको हुनाले त्यति बेला मानिसहरुले यस्तो श्राप दिन्थे । तर, अहिले यी तीन दलले देशै बेचेका छन् । पटक–पटक सरकारमा गएर जनताको करमाथि मोजमस्ती गरे । अहिले देशै संकटमा पारिदिए ।

हरेक राजनीतिक पार्टी एउटै ड्याङका मुला बने । त्यो चाहे कहिल्यै सरकारमा नगएको मजदुर किसान पार्टी नै किन नहोस्, आफ्नालाई पोस्न मात्र यो पार्टीले जानेको छ । मजदुर किसान पार्टीलाई सरकारी, सार्वजनिक जग्गा त देख्नै हुँदैन । कार्यकर्ता लगाएर कब्जा गरिहाल्छ । विगतको तुलनामा जनता धेरै शिक्षित भइसके । उनीहरुमा के गर्नुपर्छ र के गर्नुहुँदैन ? भन्ने ज्ञान र सचेतनाको विकास भइसक्यो ।

विडम्बना, नेताहरुले आफ्नो स्वार्थका निम्ति देशै बेच्दासमेत उनीहरु मौन छन् । आखिर किन ? यो विषय थाहा नभएको हो कि थाहा भए पनि नबोलेको ? के जनतामा देशप्रतिको माया मर्दै गएको हो ? जति नेताहरुको हक, अधिकार छ, यो देशमाथि त्योभन्दा सयौं गुणा बढी जनताको छ । किनकि जनताकै बलिदान र करबाट यो देश बनेको हो र चलिरहेको छ ।

अर्कोतर्फ सञ्चारमाध्यम राज्यको चौथो अंग हो । जनताको ऐना हो । देश र जनतालाई हानि–नोक्सानी पुग्ने कुनै पनि गतिविधि भएमा वा हुन लागेमा मिडियाले सतर्क गराउनुपर्छ । त्यसको विरोधमा आवाज उठाउनुपर्छ । नेता वा सरकारमा बसेकाहरुलाई जनताप्रति जवाफदेही बनाउनुपर्छ । दुर्भाग्य, यहाँ त नेताहरुले देशै बेच्दासमेत सञ्चारमाध्यमहरु मौन छन् । कोही चुइँक्कसमेत बोल्दैनन् । पत्रकारहरु नै दलका झोले बने । यसको उदाहरण गत जेठ १५ गते एमालेको कार्यक्रममा देखिएको मिडियाकर्मीहरुको भीड पनि हो ।

यसरी दलमा लागेपछि पार्टीले जे भन्यो, त्यही गर्छन्, त्यही लेख्छन् । पत्रकार स्वतन्त्र हुनुपर्छ । तर, यहाँ त पत्रकार भन्दै सूचना विभागबाट कार्ड लिने अनि उता दलको सदस्यता पनि लिने गरिएको छ ।अहिले जनता खुलेरै मिडियामाथि आरोप लगाउँछन् कि मिडियाले आफ्नो पार्टीको विरोधमा लेख्दैनन् । अरुको पायो भनेचाहिँ सानो गल्तीलाई समेत ठूलो बनाउँछन् । पैसा पायो भनेचाहिँ जतिसुकै ठूलो गल्ती पनि लुकाउँछन् । पत्रकार एक कप चियामा बिक्छन् भन्ने भाष्य आम सर्वसाधारणमा निर्माण भएको छ ।

नेपालका कतिपय मिडियाहरु विदेशीले चलाइरहेको समेत आरोप लाग्ने गरेको छ । कुनै मिडियामा भारतको लगानी छ त कुनै चीन, अमेरिकाको । यसरी विदेशी पैसाले चलेको मिडियाले सम्बन्धित देशको विरोधमा न लेख्छन्, न बोल्छन् । उल्टै गल्ती गरे पनि गुनगान गाउँछन् ।

देशमा के भइरहेको छ ? जनताको अवस्था कस्तो छ ? भनेर पत्रकार आफैंलाई थाहा छैन भने त्यस्ता पत्रकारले जनतालाई कसरी सचेत गराउँछन् ? यहाँ त मिडिया, सरकारी कर्मचारी, जनप्रतिनिधि सबै झोले बने । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म एमालेको झोले हुँ’ भन्दै पोस्टरसमेत सार्वजनिक गरे ।

देशको अभिभावकजस्तो व्यक्तिले आफूलाई कुनै दलको झोले भन्न सुहाउँछ ? ओलीको सानो गल्तीले पनि मुलुक र जनतालाई ठूलो समस्यामा पार्न सक्छन् । तर, देशै झोलेको हातमा भएपछि देश र जनताले दुःख पाउनु नौलो कुरा भएन । यहाँ जनतादेखि सबै कार्यकर्ता भए । देशभन्दा ठूलो पार्टी बनेको छ । देश रहोस् वा नरहोस् तर पार्टीचाहिँ ठूलो हुनुपर्‍यो । अनि यस्तो विचार र सिद्धान्तले कसरी देश बन्छ ?

– रुषा थापा, भक्तपुर ।