उपेन्द्र देवकोटा फाउन्डेसनको आयोजनामा दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन हुने


काठमाडौँ। 

नेपालमा स्नायु स्वास्थ्य विज्ञानको प्रवर्धन र विकासका लागि उपेन्द्र देवकोटा फाउन्डेसनले आगामी असार ४ र ५ गते काठमाडौँमा दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ । “स्नायु विज्ञानको विकासक्रम एवं नवप्रवर्तन” भन्ने नाराका साथ आयोजना हुने सम्मेलन प्रा. डा. उपेन्द्र देवकोटाको सातौँ पुण्य तिथिको अवसरमा गरिन लागेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

नेपालमा आधुनिक स्नायु विज्ञानका प्रवर्तक मानिने प्रा. डा. देवकोटाको स्मृतिमा स्थापित यो सम्मेलनले न्युरो सर्जरी, न्युरो मेडिसिन, न्युरो रेडियोलोजी, न्युरो इन्टरभेन्सन, न्युरो ओटोलोजी, न्युरो एनेस्थेसिया, न्युरो साइक्याट्री, न्युरो नर्सिङ र पुनर्स्थापनासहितका स्नायु विज्ञानका प्रमुख विधाहरूलाई एउटै मञ्चमा ल्याउने  फाउन्डेसनका अध्यक्ष डा.मधु दीक्षित देवकोटाले जानकारी गराए । 

फाउन्डेसनका सिईओ मिलन गुरुङका अनुसार स्ट्रोक, पार्किन्सन, छारे रोग, अल्जाइमरजस्ता स्नायु सम्बन्धी रोगहरूको बढ्दो चुनौतीलाई सम्बोधन गर्न सम्मेलनले समयमै पहिचान, उपचार विधि र नवीनतम प्रविधि प्रयोगबारे गहन छलफल गर्नेछ। सम्मेलनबाट प्राप्त सुझावले चिकित्सा अभ्यास र दीर्घकालीन स्वास्थ्य नीतिमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

उक्त सम्मेलनमा अमेरिका, बेलायत, भारत, फ्रान्स, इजिप्ट, पाकिस्तानलगायत देशहरूका स्नायु विज्ञान विशेषज्ञहरूको सहभागिता रहने गुरुङले जानकारी गराए ।  बोस्टन चिल्ड्रेन अस्पताल (हावर्ड युनिभर्सिटी), लन्डनको किङ्स कलेज, भारतको एआईएलएमएस तथा सिएमसी भेलोर जस्ता प्रतिष्ठित संस्थासँग आबद्ध चिकित्सकहरू सहभागिता जनाउँदै २५ वटा सत्रमा १३५ कार्यपत्रहरू प्रस्तुत गर्नेछन् ।

सम्मेलनअघि असार २ र ३ गते ‘प्री–कन्फरेन्स’ कार्यक्रम आयोजना गरिनेछ, जसमा विभिन्न कार्यशाला र प्रशिक्षण समावेश गरिएका छन् । अस्पताल परिसरमै हुने कार्यशालामा मानव शवको प्रयोगमार्फत स्नायु शल्यक्रियासम्बन्धी व्यावहारिक कक्षा सञ्चालन गरिनेछ ।

बेलायतका डा. बसेल जेबियन, डा. फ्रान्सेस्को भर्गानी, डा. जोसे पेड्रो लाभाडोर तथा भारतका डा. आनन्द बाल सुब्रमनियम र डा. आदित्य गुप्तासहित ३१ जना विशेषज्ञहरूले प्रशिक्षण दिनेछन् । सहभागी ६०–७० जना प्रशिक्षार्थीहरूलाई स्नायु संरचना, फङ्कसनल न्युरोसर्जरी, इन्डोस्कोपिक ढाड तथा मस्तिष्क शल्यक्रिया, न्युरो–इन्डोभास्कुलर प्रविधि र बोटुलिनम टक्सिनको प्रयोगबारे अभ्यास गराइने अर्गनाईजिङ चेयर डा. सुरत गुरुङले जानकारी गराए । 

त्यस्तै नर्सिङ क्षेत्रका लागि ‘एड्भान्स कार्डियाक लाइफ सपोर्ट’ तालिम पनि संचालन गरिने अर्गनाईजिङ कमिटिका सचिव डा. सागर कोईरालाले जानकारी गराए । 

त्यसैगरी साइन्टिफिक चियर डा. सुरेश विश्वकर्माले फाउन्डेसनको यो सम्मेलन नेपालमा विगत ३७ वर्षमा न्युरो विज्ञानमा भएको प्रगतिको अन्तर्राष्ट्रिय उत्सवका रूपमा लिइएको छ भने ।

प्रा. डा. देवकोटाले नेपालमा स्नायु शल्यक्रियाको सुरुवात गर्दै न्युरो सेवा विस्तारमा महत्त्वपूर्ण योगदान पु¥याएका थिए।   । उनको स्मृतिमा आयोजना हुने यो सम्मेलनले उनले देखाएको मार्गअनुसार नेपाललाई स्नायु सेवामा आत्मनिर्भर बनाउने दिशामा थप योगदान पु¥याउने विश्वास फाउन्डेसनले लिएको जनाएको छ ।

सम्मेलनमा स्वास्थ्य नीति निर्माणमा सरोकारवालाको भूमिका र सरकारी सहकार्यबारे समेत विस्तृत छलफल गरिने र नयाँ नयाँ बिषय बस्तुका बारेमा ज्ञान आदान प्रदान हुने आयोजकले जनाएको छ । यस अघि सन् २०२३ मा पहिलो एक दिने न्युरो सम्बन्धी सम्मेलन फाउन्डेसनले गरेको थियो ।