काठमाण्डौं
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो धितोपत्र कारोबारसम्बन्धी सम्पूर्ण प्रशासनिक कार्य गर्नका लागि श्री हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडलाई आधिकारिक शेयर रजिष्ट्रारको रूपमा नियुक्त गरेको छ ।
इन्स्योरेन्सको सञ्चालक समितिको निर्णयअनुसार शेयरको दाखिला–खारेज, नामसारी, रोक्का राख्ने तथा शेयरधनीको विवरण अद्यावधिक गर्ने जस्ता सम्पूर्ण कार्यहरू अबदेखि श्री हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडमार्फत सम्पादन हुने छन् । कम्पनीले सबै शेयरधनीहरू तथा सरोकारवाला पक्षलाई यस विषयमा जानकारी गराएको छ ।
यस नियुक्तिसम्बन्धी सम्झौता आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको विराटनगर, मोरङस्थित रजिष्ट्रर्ड कार्यालयमा आयोजित एक विशेष समारोहमा सम्पन्न भयो। कार्यक्रममा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री चिरायु भण्डारी र हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री सुमेर शम्शेर ज. व. राणाबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो ।
यो साझेदारीले शेयरधनीहरुलाई अझ प्रभावकारी, सरल र छरितो सेवा प्रदान गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ ।
प्रतिक्रिया