‘फास्ट ट्र्याक’ भर्ती प्रक्रिया खारेजीको माग गर्दै अखिल क्रान्तिकारीद्वारा तालाबन्दी


काठमाडौँ।

त्रिभुवन विश्वविद्यालयमा फास्ट ट्र्याक प्रणालीमार्फत प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक पदमा स्थायी नियुक्ति गर्ने निर्णयको विरोधमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) त्रिवि जिल्ला समिति, कीर्तिपुरले अनिश्चितकालीन तालाबन्दी घोषणा गरेको छ।

अखिल (क्रान्तिकारी) ले प्रवेश विन्दु अर्थात उपप्राध्यापक पदमै लिखित परीक्षा नगरी मौखिक तथा अनुसन्धान कृति प्रकाशनलाई मात्र मूल्यांकनको आधार बनाइएको यो प्रक्रिया गम्भीर त्रुटिपूर्ण छ। संगठनले यसले त्रिविमा शैक्षिक अराजकता र दलालीकरणलाई बढावा दिने भन्दै आपत्ति जनाएको छ।

“डलर तिरेर कृति प्रकाशन गर्ने गिरोह विश्वविद्यालयमा भित्रिन सक्छ,” संगठनका कार्यवाहक अध्यक्ष शिवराज भट्टले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, लिखित खुला प्रतिस्पर्धा नहुँदा वास्तविक प्राध्यापनमा रुचि राख्ने विद्वानहरूको होइन, नक्कली अनुसन्धानकर्ता समूहको प्रवेश हुनसक्ने खतरा छ।

अखिल (क्रान्तिकारी) ले विश्वविद्यालयमा शैक्षिक गुणस्तर रक्षा गर्नका लागि यो प्रक्रिया तत्काल खारेज गरिनु पर्ने माग गर्दै, विज्ञापन र छनोट प्रक्रिया नरोकेसम्म आन्दोलन जारी रहने चेतावनी दिएको छ।