राप्रपा उपाध्यक्ष मिश्र अदालतमा उपस्थित


काठमाडौं ।

गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनमा हिंसा भड्काएको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेका राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र अदालतमा उपस्थित भएका छन् । मिश्र मंगलबार बिहान काठमाडौं जिल्ला अदालतमा उपस्थित भएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।

उनको आजै थुनछेक बहस हुने बताइएको छ। गत जेठ ११ मा मिश्र विरुद्ध ४ वटा मुद्दामा अभियोजन गरिएको थियो । मिश्र विरुद्ध राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदावी लिइएको हो । तीनकुने घटना भएको चैत १५ कै राति मिश्र पक्राउ परेका थिए ।

पक्राउविरुद्ध उनी सर्वोच्च अदालतमा बन्द्रीप्रत्यक्षीकरणको रिट बोकेर सर्वोच्च पुगेका थिए । जसमा सर्वोच्चले उनलाई रिहा गर्न आदेश दिएको थियो । सो आदेशलगत्तै हाजिर जमानीमा रिहा भएका उनी सम्पर्क विहीन हुँदै आएका थिए ।