राजधानीको तारागाउँ नेक्सट परिसरमा एट द टिपिङ पोइन्ट : आर्ट एण्ड इकोलोजी फ्रम द रूफटप अफ द वल्र्ड नामक प्रदर्शनी चलिरहेको छ।
कला र वातावरणीय चेतनाको संगमका रूपमा प्रस्तुत प्रदर्शनी सर्राफ फाउन्डेसनको सहकार्यमा सगरमाथा नेक्स्टले गरेको हो। ख्यातिप्राप्त भारतीय कला इतिहासकार डा. अर्शिया लोखान्डवालाको संयोजनमा जारी प्रदर्शनी तीन महिनासम्म चल्नेछ।
१२ जना नेपाली तथा अन्तर्राष्ट्रिय कलाकार सहभागी प्रदर्शनीले जलवायु परिवर्तन, सांस्कृतिक चेतना, स्वदेशी ज्ञान र वैज्ञानिक दृष्टिकोणलाई समेट्दै समकालीन कलाको माध्यमबाट पृथ्वीप्रतिको सम्बन्ध पुनः परिभाषित गराउने उद्देश्य राखेको छ। प्रदर्शनीमा कलाकार सलिल सुवेदीको टोलीले अर्थ इमर्जेन्स नामक विशेष लाइभ प्रस्तुति दिइरहेको छ। शरीरमा रातो माटो पोतेर भूमिस“ग साक्षात्कार गरिएको प्रदर्शनीले मानव र माटोको सम्बन्धलाई उजागर गर्छ। उनको प्रदर्शनी उत्तर–उपनिवेशवादी चिन्तक गायत्री चक्रवर्ती स्पिवाकको प्लानेटरिटी विचारमा आधारित छ। प्रदर्शनीमा स्वालबार्डको हिम क्षेत्रमा खिचिएको हिमाली सिंह सोइनको कवितामूलक भिडियोले उपनिवेशवाद, जलवायु परिवर्तन र असफल उत्खननमाथि प्रश्न उठाएको भने उर्सुला बिमान्नले कोलम्बियाको इन्गा समुदायस“गको सहकार्यमा बनाएको फरेस्ट माइन्ड भिडियो निबन्धले जंगललाई चेतनशील ज्ञानको स्रोतका रूपमा व्यक्त गरेको छ।
त्यसैगरी उत्सा हजारिकाको यन्त्र–ब्लुम जीवित मूर्तिकलाले दिल्लीको सम्राट यन्त्र स्यान्डायललाई चमेलीका फूलमार्फत नया“ स्वरुप दिने प्रयास गरेको छ। अली मण्डलको फल ह्याबिट्याटले च्याउ, माटो र काठको संयोजनमा बन्ने आत्मविकासशील मूर्तिकला प्रस्तुत गर्छ भने नेपाली कलाकार समयुक्ता भण्डारीको एकोज अफ सर्भाइवलले शहरीकरणबीच हराउँदै गएका भंगेराको आवाजलाई प्रविधि र ध्वनिमार्फत प्रतिविम्बित गराएको छ। अमित माछामासीले भक्तपुरको हराउँदै गएको कृषियोग्य भू–परिवर्तनलाई तीनव फोटोग्राफिक श्रृंखलामार्फत प्रस्तुत गरिरहेका छन्। मोनिका उर्सिना जेगरले लिक्विड टाइममार्फत पहाडको ढुंगाबाट बालुवा हुँदै कंक्रिट निर्माणसम्मको चक्रलाई आलोचनात्मक रूपमा प्रस्तुत गर्छ भने जोआना मोलको ४००४ ले माइक्रोचिप निर्माण प्रक्रियाले कीराको जनसंख्यामा आइरहेको गिरावटलाई डिजिटल रूपमा देखाइएको छ।
क्रिस जोर्डनले समुद्री प्लास्टिक प्रदूषणका कारण मरेका अल्बाट्रस चराको बच्चाका तस्बिर र फिल्म प्रस्तुत गरिरहेका छन्। सौगंगा दर्शनधारीको नेवार समुदायको योमरी चाडसँग सम्बन्धित मूर्तिकलाले खाद्य संस्कृति र पारिस्थितिक सन्तुलनसंग जोड्ने काम गर्छ भने रोबर्टिना शेबजानिकले द एटलान्टिक टेल्स् एण्ड को सोनिकमार्फत साउन्ड इन्स्टलेसन गर्दै वातावरणीय ह्रासको अदृश्य पक्ष प्रस्तुत गरेका छन्।
प्रदर्शनीले आर्कटिकदेखि एन्डिजसम्म, नेपालको खेतबारीदेखि डिजिटल क्लाउडसम्म फैलिएको संसारलाई एउटै कलात्मक फ्रेममा बा“धेर पेस गर्ने काम गरेको छ।











प्रतिक्रिया