मेदिन शर्मा चुँदेलीद्धारा लिखित खण्डकाव्य पुकारको भव्य लोकार्पण

पुकार खण्डकाव्यले नेपाली साहित्यको विकासमा महत्वपूर्ण भुमिका खेल्ने विश्वास


    काठमाडौं ।

    सामाजिक सेवामा सक्रिय रहँदै आउनुभएका पुर्व शिक्षक तथा सर्जक मेदिनी शर्मा ‘चुँदेली ’ द्धारा लिखित तथा कामदा पण्डित द्धारा प्रकाशित खण्डकाव्य पुकारको शुक्रबार तनहुँको चुँदी स्थित चन्द्रावती माध्यामिक विद्यालयमा भव्य कार्यक्रमका बीच लोकार्पण गरिएको छ ।

    सो पुस्तकको लोकार्पण भानु नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि आनन्दराज त्रिपाठी, साहित्यिक ब्यक्तित्व शेषमणी आचार्य, जेष्ठ नागरिक बासुदेब ढकाल, चन्द्रावती मावि का प्रअ प्रेम नाथ ढकाल लगायतले संयुक्त रुपमा गर्नुभएको थियो । पुस्तकको लोकार्पण गर्दै प्रमुख अतिथि त्रिपाठीले मेदिनी शर्माको पुकार खण्डकाव्यले नेपाली साहित्यिक क्षेत्रको विकासमा महत्वपुर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

    नगरप्रमुख त्रिपाठीले मेदिनी शर्मा सरले तनहुँको शैक्षिक विकासमा समेत उल्लेखनीय भुमिका निर्वाह गर्नुभएको र उहाँ तनहुँ जिल्लाको शैक्षिक विकास, सामाजिक विकास र समाज सेवामा समेत प्रेरणाको स्रोत रहनुभएको स्पष्ट पार्नुभयो ।सर्जक चुँदेली चन्द्रावती माविका संस्थापक सदस्य तथा लामो समय त्यसै विद्यालयमा शिक्षण पेशामा समर्पित रहेर त्यस क्षेत्रको शैक्षिक उन्नयनमा महत्वपुर्ण योगदान दिनुभएको भन्दै कार्यक्रममा सहभागी सबैले उहाँ प्रति उच्च सम्मान व्यक्त गरेका थिए ।


    लोकार्पण पश्चात सो पुकार खण्डकाव्यको समीक्षात्मक टिप्पणी चन्द्रावती माविका नेपाली बिषय शिक्षिका हिमकला दवाडी बराल, सामाजिक तथा राजनैतिक ब्यक्तित्व विद्यानाथ ढकाल ,र साहित्यिक ब्यक्तित्व शेषमणि आचार्यले गर्नुभएको थियो। सो कार्यक्रममा सर्जककी धर्मपत्नी कामदा पण्डित,विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थीहरु,समाजसेवी,वुद्धिजीवी,जेष्ठ नागरिक,महिला तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।


    सो कार्यक्रममा सर्जक मेदिनी शर्मा चुँदेलीले नीकै मिहिनेतका साथ उक्त खण्डकाव्य सिर्जना गर्नुभएकोमा उहाँलाई प्रमुख अतिथि भानु नगरका मेयर त्रिपाठी तथा पुर्व शिक्षक रामबहादुर अधिकारी, निर्मल पण्डित,डा पंकज कोइराला,अजित आचार्य, बाबुराम खनाल,बिकास पण्डित लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।चुँदी माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चोप बहादुर खत्री को सभापतित्वमा भएको सो कार्यक्रममा सतीश पण्डितले ले स्वागत मन्तब्य मार्फत सहभागी सबैलाई स्वागत गर्नुभएको थियो।

    कार्यक्रमको अन्त्यमा सो खण्डकाव्यका सर्जक चुँदेलीले उपस्थित प्रमुख अतिथि लगायत सम्पुर्ण लाई कार्यक्रम सफल पार्न सहयोग गर्नु भएकोमा धन्यवाद दिनुका साथै सभा हल उपलब्ध गराइ कार्यक्रम संयोजनमा महत्वपूर्ण भूमिका निर्वाह गरिदिनु भएकोमा चन्द्रावती मावि परिवार लाई बिषेश धन्यवाद व्यक्त गर्नुभएको थियो ।

    चुँदेलीले आफ्नो गाउँटोलमा रहेका सबै पक्षको सहयोग र साथबाट आफुले खण्डकाव्य प्रकाशन गर्न सफल भएको र आगामी दिनमा पनि यस्तै खाले सरसहयोगको आशा गरेको बताउनुभयो । सो कार्यक्रमको सञ्चालन समीर पण्डितले गर्नुभएको थियो ।

    पुकार खण्डकाव्य सर्जक चुँदेलीको चौथो कृति हो । विशेष गरी छन्द विधामा रुची राख्नुहुने सर्जक चुँदेलीले आफ्नो साहित्यिक यात्रा विस २०१८ सालमा विवेक बिन्दु पत्रिकामा पिल्सिएकी तारा शिर्षकको कविता प्रकाशन बाट शुरु गर्नुभएको थियो ।

    उहाँद्धारा लिखित आमाको वेदना पहिलो, घर सम्झना दोस्रो र श्रद्धा सुमन तेस्रो कृति यस अघि नै लोकार्पण भइसकेका छन् । हालै लोकार्पण भएको सबैभन्दा पछिल्लो पुकार खण्डकाव्यमा सर्जकले आर्य संस्कृति , अनुराग,प्रकृति प्रेम, राष्ट्रिय भावनाको महत्व उल्लेख गर्दै सामाजिक विकृति एवं विसमताका विरुद्ध जागरण र सन्देश दिनुभएको छ ।