पर्यटकको औसत १३ दिनको बसाइ, दैनिक ४० डलर मात्रै खर्च

1.41k
Shares

काठमाडौं ।

नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको औसत दैनिक खर्च घटेको छ भने औसत बसाइ अवधिमा सामान्य वृद्धि देखिएको छ । अर्थ मन्त्रालयद्वारा सार्वजनिक आर्थिक सर्वेक्षण २०८१\८२ अनुसार, सन् २०२४ मा नेपाल भ्रमण गर्ने पर्यटकहरूको औसत दैनिक खर्च ४० दशमलव ८ अमेरिकी डलरमा झरेको छ, जुन अघिल्लो वर्षको ४१ डलरभन्दा कम हो । साथै पर्यटकको औसत बसाइ १३ दशमलव ३ दिन पुगेको छ, जुन अघिल्लो वर्षको १३ दशमलव २ दिनको तुलनामा सामान्य वृद्धि हो ।

घटबढको आँकडा ठूलो नभए पनि पर्यटन सेवाबाट प्राप्त हुने प्रत्यक्ष आम्दानी प्रभावित पार्न सक्छ । पर्यटकको औसत दैनिक खर्च सामान्य घटेको छ । तर, यसलाई बसाइ अवधिले ‘रिकभर’ गर्ने व्यवसायीहरू बताउँछन् । खर्चसँगै बसाइ अवधि पनि घटेको भए चिन्ताको विषय हुनसक्थ्यो तर अवधि सुधार देखिएकाले आम्दानी वृद्धि हुने पर्यटन व्यवसायी मित्र श्रेष्ठले बताउनुभयो । नेपाल पर्यटनको गन्तव्यका रूपमा विस्तार भइरहे पनि पर्यटकको खर्च घट्नु, पर्वतारोहणमा खुम्चिने प्रवृत्ति देखिनु र औसत बसाइमा सन्तोषजनक सुधार नदेखिनु चुनौतीका विषय रहेको भन्दै श्रेष्ठले भन्नुभयो– ‘आगामी दिनमा गुणस्तरीय सेवा, विविध आकर्षण र आन्तरिक पूर्वाधार सुदृढीकरणमार्फत पर्यटन आम्दानी र प्रभावकारिता दुवैमा सुधार ल्याउन आवश्यक छ ।’

नेपालको पर्यटन क्षेत्रमा गुणस्तरीय सेवा अभाव, एयर कनेक्टिभिटी कमजोर, सबै गन्तव्यमा वर्षभर सेवा दिनसक्ने क्षमता विकास नहुनु, जलवायु परिवर्तनका कारण जोखिम बढ्नु, सहजीकरणको अभाव र प्रशासनिक झन्झट तथा अन्य प्रतिस्पर्धी मुलुकहरूको आकर्षण वृद्धि जस्ता चुनौती रहेको उहाँको भनाइ छ । सर्वेक्षणअनुसार सन् २०२४ मा पर्यटन आम्दानीे १५ प्रतिशतले बढेर ८३ अर्ब ३९ करोड ४० लाख रुपियाँ पुगेको छ । अघिल्लो वर्ष यो आम्दानी ७२ अर्ब ४५ करोड ५६ लाख रुपियाँ थियो ।

त्यस्तै सन् २०२४ मा नेपाल आएका पर्यटकमध्ये सबैभन्दा धेरै ६० दशमलव ४ प्रतिशतले अवकाशपछि, मनोरञ्जन वा यात्रालाई मुख्य उद्देश्य बनाएका थिए । तीर्थयात्राको उद्देश्यले १५ दशमलव ३ प्रतिशत, पर्वतारोहण वा साहसिक यात्राका लागि १४ दशमलव ५ प्रतिशत र अन्य उद्देश्यले ९ दशमलव ८ प्रतिशत पर्यटक नेपाल भित्रिएका थिए ।देशगत आगमनको हिसाबले भारतबाट सबैभन्दा धेरै २७ दशमलव ७० प्रतिशत पर्यटक आएका थिए ।

त्यसपछि अमेरिका ९ दशमलव ६७ प्रतिशत, चीन ८ दशमलव ८९प्रतिशत, बेलायत ४ दशमलव ७९ प्रतिशत, बंगलादेश ४ दशमलव २७ प्रतिशत, अष्ट्रेलिया ३ दशमलव ८३ प्रतिशत र श्रीलंका, थाइल्याण्ड, जर्मनी र दक्षिण कोरियाबाट २\२ प्रतिशतभन्दा पर्यटक आउँदा अन्य मुलुकबाट ३० दशमलव ५७ प्रतिशत पर्यटक आएका थिए । सन् २०२४ मा हिमाल आरोहण अनुमति लिएका समूहको संख्या २ हजार ३७५ पुगेको भए पनि वास्तविक आरोहीको संख्या अघिल्लो वर्षको ९ हजार ३९८ बाट घटेर ९ हजार १९१ मात्र रह्यो । यसबाट रोयल्टी आम्दानीमा पनि कमी आई ९९ करोड ९३ लाख रुपियाँबाट घटेर ९२ करोड ५८ लाखमा झरेको छ ।

हाल नेपालमा २१४ तारे होटल र १,३६४ डिलक्स, लक्जरी तथा हेरिटेज होटल छन्, जसको कुल बेड संख्या २० हजार ३४३ पुगेको छ । अन्य होटल, लज, रिसोर्टको संख्या ४२ हजार २९९ पुगेको छ । १५ खर्ब रुपैयाँभन्दा बढीको लगानी भइसकेको होटल क्षेत्र वार्षिक ३५ लाख पर्यटक धान्न सक्ने दाबी गरिएको छ ।नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ को पहिलो पाँच महिनामा ५ लाख १ हजार २६४ पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२४ मा ११ लाख ५० हजारभन्दा बढी पर्यटक आएका थिए, जुन सन् २०२३ को तुलनामा १४ प्रतिशतले बढी हो ।

पर्यटन क्षेत्रको पूर्वाधारमा विस्तारसँगै सेवा प्रदायक संस्था पनि वृद्धि भएका छन् । हालसम्म ४ हजार ९६३ ट्राभल एजेन्सी, ३ हजार २५२ ट्रेकिङ एजेन्सी, ९७ ¥याफ्टिङ एजेन्सी, १५५ टुरिस्ट ट्रान्सपोर्ट कम्पनी, ५ हजार २६९ टुर गाइड, २७ हजार १२८ ट्रेकिङ गाइड र ४२५ ¥याफ्टिङ गाइड रहेको सरकारी तथ्यांक छ । साथै अन्तर्राष्ट्रिय हवाई सेवा प्रदान गर्ने विमान सेवाको संख्या ३१ पुगेको छ भने नेपालले ४२ देशसँग द्विपक्षीय हवाई सेवा सम्झौता गरिसकेको छ । वार्षिक अन्तर्राष्ट्रिय हवाई सीट क्षमता ८९ लाख ७३ हजार पुगेको छ ।