नेपालको स्वास्थ्य सेवा क्षेत्रले परम्परागत प्रणालीबाट चल्दै आएको लामो इतिहास बोकेको छ । विगतका केही वर्षयता स्वास्थ्य सेवामा निजी तथा सरकारी दुवै तहमा केही प्रविधिमैत्री प्रयासहरू देखिए पनि ती प्रयासहरू अझै पनि सीमित र छिटपुट छन् । यस्ता परिस्थितिमा मेड आईक्यू प्रा.लि.ले ल्याएको ’हस्पिटल अपरेटिङ सिस्टम (एचओएस)’ सफ्टवेयर एक सकारात्मक र दूरदर्शी कदम हो, जसले नेपाली स्वास्थ्य प्रणालीलाई नयाँ युगमा प्रवेश गराउने संकेत गरेको छ ।
नेपाल सरकारद्वारा २०८१ सालमा जारी गरिएको ‘एकीकृत विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका’ अनुरूप निर्मित एचओएस सफ्टवेयरले अस्पताल व्यवस्थापन, सेवाप्रवाह र अभिलेख संकलनको परम्परागत तरिकालाई व्यवस्थित, सुरक्षित र पारदर्शी बनाउन सक्छ । यस्तो प्रविधिको प्रयोगले संस्थागत सुधार मात्र सम्भव हुने नभई बिरामीको विश्वास पनि वृद्धि हुनसक्छ । नेपाली स्वास्थ्य प्रणालीमा अझै पनि कागजी फाइल, म्यानुअल इन्ट्री र विखण्डित सेवा प्रवाहको अभ्यास व्यापक छ । एउटै बिरामीको रिपोर्ट, उपचार इतिहास वा औषधिको सूची पत्ता लगाउन घण्टौं समय लाग्ने अवस्था विद्यमान छ ।
यस्तोमा डिजिटल हस्पिटल म्यानेजमेन्ट सिस्टमजस्तो एचओएसले अस्पतालहरूको प्रशासनिक दक्षता मात्र होइन, सेवा उपभोगकर्ताको अनुभवलाई समेत सहज र गुणस्तरीय बनाउने अपेक्षा गर्न सकिन्छ । मेड आईक्यूले अन्य देशहरूमा प्रयोग भएका सफल प्रविधिहरूको अध्ययन गरी नेपाली सन्दर्भमा त्यसको उपयोगिता अनुकूल परिमार्जन गरेको कुरा उल्लेखनीय छ । विशेषतः नेपालजस्तो विविध भूगोल र अपुग जनशक्ति भएको मुलुकमा त्यस्ता प्रविधिहरूलाई स्थानीयकरण गर्न सक्नु आफैंमा चुनौतीपूर्ण कार्य हो ।
यद्यपि प्रविधिको विकास आफैंमा प्रशंसनीय भए पनि यसको प्रभावकारी कार्यान्वयन अझ बढी चुनौतीपूर्ण कार्य हो । नेपालका धेरै सरकारी तथा निजी अस्पतालहरू अझै पनि प्रविधिमा लगानी गर्न हिच्किचाउँछन् वा प्रविधिसम्बन्धी मानव संसाधन अभाव झेलिरहेका छन् । यस्तो अवस्थामा एचओएसजस्ता सफ्टवेयरहरूको सफल कार्यान्वयनका लागि भने व्यापक तालिम, नीतिगत समर्थन र दीर्घकालीन दृष्टिकोण आवश्यक पर्छ । यस्तो कार्यका लागि सरकारले समयसापेक्ष साथ, सहयोग र प्रोत्साहन गरी आवश्यक उपकरण भित्र्याउन सही दिशानिर्देश गर्ने र प्रविधिमैत्री बनाई देशमा भएका अनेक खाले चलखेललाई कमी गर्नु राज्यको दायित्व हो ।
अर्कोतर्फ, नीति निर्माण तहमा पनि प्रविधिलाई प्राथमिकतामा राख्ने सोच र सहकार्यको खाँचो छ । डिजिटल स्वास्थ्य प्रणाली केवल एउटा सफ्टवेयरको प्रयोगमा सीमित नभई समग्र सेवा संरचनामा रूपान्तरण ल्याउने प्रक्रिया हो । यसमा जनशक्ति विकास, साइबर सुरक्षाको सुनिश्चितता र नियमित अनुगमन तथा मूल्यांकन प्रणाली अनिवार्य हुन्छ । मेड आईक्यूको प्रयासबाट सन्देश प्रस्ट छ– अब समय प्रविधिमा रूपान्तरणको हो । निजी क्षेत्रबाट भएका यस्ता शुरुवाती पहललाई राज्यले नीतिगत, प्राविधिक र वित्तीय रूपमा सघाउनु आवश्यक छ, ताकि प्रविधिको लाभ सबै नेपाली नागरिकसम्म पुग्न सकोस् । डिजिटल स्वास्थ्य प्रणालीलाई केवल विकल्प नभई अबको आवश्यकता मान्दै, हामीले यस्तो प्रयासलाई निरन्तरता र सबलता दिन आवश्यक छ ।











प्रतिक्रिया