ललितपुर।
ललितपुरमा व्यवसायिक रूपमा सञ्चालन भइरहेको अनलाइन जुवा (सट्टाबाजी) कारोबारमा संलग्न रहेको आरोपमा ५ जना भारतीय र १२ जना नेपाली नागरिकसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ गरिएको समूहले 711Bat.club र Unicon 365 नामक अनलाइन बेटिङ साइटमार्फत करोडौंको सट्टाबाजी सञ्चालन गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
विशेष सूचनाको आधारमा अनुसन्धान थालेको प्रहरी टोलीले ललितपुर महानगरपालिका–२६, जैनखेल भ्युटावरस्थित एक घर र वडा नं. १०, नख्खुस्थित सनराइज अपार्टमेन्टको फ्ल्याट भाडामा लिएर कारोबार सञ्चालन भइरहेको पत्ता लगाएपछि छापा मारेर ८१ करोड ४७ लाख ५७ हजार ४४६ रूपैयाँ ४० पैसाको जुवा कारोबारमा संलग्न समूहलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतको बिहार राज्य छप्रा जिल्ला मसरथ थानाका २६ वर्षीय दिपक कुमार सिंह, २० वर्षका ऋषम राज, २५ वर्षका अंकित कुमार सिंह, २५ वर्षकै धिरज कुमार सिंह र सोही उमेरका मोहित कुमार सिंह रहेका छन्।
यस्तै, डोटीको पूर्वीचौकी गाउँपालिका–४का २६ वर्षीय ठक्कर कुँवर, २३ वर्षीय सुवाश खड्का, सोही उमेरका हर्क बहादुर खड्का र ३० वर्षीय तिलक खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ।
त्यस्तै नवलपरासी (पूर्व) गैँडाकोट नगरपालिका–१२ का जोर्डन भन्ने जित बहादुर महतो (२६ वर्ष), कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ का राजेन्द्र बहादुर महता (३० वर्ष), अछामको साँफेबगर नगरपालिका–७ का विकास थापा (२१ वर्ष), साँफेबगर ९ का डायमन्ड कुँवर (२९), अछामकै चौरपाटी गाउँपालिका–७ का मनोज बोगटी (२१ वर्ष), कैलालीको गौरीगंगा नगरपालिका–६ का अरविन खड्का (२१), रुपन्देहीको तिलोतमा नपा–३ का पूर्ण दर्लामी (२६), र दाङको लमही नगरपालिका–१ का विष्णु कुमार राउत (२४ वर्ष) रहेका छन्।
उनीहरुको साथबाट प्रहरीले ल्यापटप: १४ थान,मोबाइल: ६० थान,चेकबुक र बचत पासबुक: ९ थान,Visa कार्डहरू: १५ थान, नेपाली राहदानी: ४ थान,भारतीय राहदानी: ४ थान बरामद गरेको छ।
पक्राउ परेका उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिमको जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको प्रहरीले जनाएको छ।











प्रतिक्रिया