सुनसान थियो सहर, डरले ढाकिएको,
तर जनताको मुटुमा, आँधी जस्तै बौलाएको।
न त बन्दुकले रोक्न सके ती पाइला,
न त धम्कीले थाम्न सके ती ज्वाला।
साठी कटेका बाआमा, रङ्गीन सपना बोकेर,
काँडैमा हिँडे, आशाको किरण हेरेर।
छातिमा ढुङ्गा राखी, ओठमा नारा चिच्याए,
“लोकतन्त्र चाहिन्छ!” – जनताले बोल्न पाए।
राजगद्दी हल्लियो, सिंहदरबार झस्कियो,
मानव सागर देखेर, सम्पूर्ण देश चम्कियो।
रगतले लेखिएको त्यो उज्यालो बिहानी,
युगौँसम्म सम्झिने छ – हाम्रो जेठ उन्नाईसको कहानी।
आज पनि जब चल्छ हावा, झुल्किन्छ त्यो दिन,
जहाँ उठेका थिए लाखौं, एउटै साँचो छिन।
न त्यो केवल मिति हो, न त्यो केवल कथा,
त्यो हो जनताको आवाज , अडिग, बलियो र सच्चा।
तर – – – – –
दोष दिने दिनलाई होइन, नेता नै भए खराब,
देश बेचेर खाए, जसले गरे सत्ताको व्यापार।
सर्वोच्चसमेत मौन जस्तो, अन्यायले पायो साज,
रवि जस्ता असल थुनिन्छन्, अपराधी छन् आजाद।
जिउँदो मान्छे जलाउनेहरू हिँड्छन् शानले,
निर्दोषहरू थुन्ने हो भने, के बाँचिन्छ कानुनले?
देशको गुन गर्नेहरू त सबै पुग्छन् जेलैमा,
दोषीहरू डुल्छन्, चकचक गर्छन् बेलैमा।
कुलमान हटाउँदा उज्यालो झनै हरायो,
बालेन, हर्कलाई रोक्दा आशा नै मर्ने भयो।
देश लुट्ने बाहरुलाई ‘काल’ले बोलायो रे,
नाटक मञ्चन छ चारैतिर, सपना फेरि सुस्तायो रे ।
न भिजन, न जोश, न छ कुनै लगाव,
मुखैमुखी भाषण — काममा छैन प्रभाव।
भन्दै हिँडेका छन्, “देशको म माया गर्छु,”
काम चाहिँ शून्य, स्वार्थमा आँखा फर्काउँछु ।
अब बाहिर जाऊ, पुराना नेताहरु थोत्रा ,
छोरा–नातिलाई देऊ, देश बोक्ने यात्रा ,
साठी कटेपछि विश्राम होस् नियमले,
सल्लाहकार बनून्, देश अघि बढोस् नयाँ लहरले ।











प्रतिक्रिया