सूर्योदयको काखमा न्यानो र अलौकिक अनुभूति

श्रीअन्तुको यात्रा

5.17k
Shares

चलचित्र पत्रकार संघ नेपालद्वारा आयोजित एक भेलामा सहभागी हुन यही जेठको पहिलो साता पूर्वको सुन्दर जिल्ला इलाम जाने मौका जुर्‍यो । संघको २६औं वार्षिकोत्सवका अवसरमा आयोजित २३औँ चलचित्र पत्रकारिता दिवस तथा दोस्रो राष्ट्रिय भेलाका लागि म पहिलोपटक इलाम पुगेको थिएँ ।

चार दिनका लागि भएको यो यात्रा मेरा लागि केवल औपचारिक कार्यक्रममा सहभागिता जनाउने मात्र नभई पूर्वी नेपालको प्राकृतिक सौन्दर्यता, सांस्कृतिक विविधता र आतिथ्यभाव नजिकबाट अनुभूत गर्ने अवसर पनि बन्यो ।पहिलो दिन काठमाडौंबाट बिहानै प्रस्थान गरे पनि मध्यरातमा मात्र इलामको श्रीअन्तु पुगियो । पर्यटकीय क्षेत्र इलाम टेक्दा रात परिसकेको कारण त्यहाँको सुन्दरता नियाल्ने अवसर मिलेन ।

थकानले चुर हुँदै रातको १ बजे श्रीअन्तुस्थित केबिज हिल रिसोर्टमा पुगियो । रातिको समयमा पनि होटलका कार्मचारीको आतिथ्य सत्कारमा भने कमी थिएन । थाकेको शरीर बिहानसम्म पनि भारी थियो तर पनि इलामको सुन्दरता हेर्ने उत्कट इच्छाले सूर्योदयसँगै रिसोर्टबाहिर पुर्‍यायो । श्रीअन्तु पुग्नुपहिले नै त्यहाँको सुन्दर चियाबारी, सूर्योदयको दृश्य र श्रीअन्तु डाँडाको बारेमा सुनेको थिएँ ।

सामाजिक सञ्जालको जमाना भएकाले आफू नपुगे पनि त्यहाँका दृश्यहरु सामाजिक सञ्जालमार्फत हेरेर मन रोमाञ्चित र उत्सुक भइसकेको थियो । जब आफ्नै आँखाले त्यहाँको सुन्दरता हेर्ने मौका पाइयो, त्यसले कल्पनाभन्दा अझ सुन्दर, स्वच्छ र अलौकिक अनुभव गरायो ।

इलामका हरिया फाँटमा छायाङ्कंन गरिएका म्युजिक भिडियो र फिल्मका दृश्य हेरिएको र सुुनिएकै थियो । फिल्म साथीको गीत ‘उडी–उडी हिँड्छु मन चिया बारीमा’मा अभिनेत्री करिश्मा मानन्धरको नृत्यदेखि गायक यम बरालको ‘बादलुको घुम्टोले इलाम बजार छोपिँदा’ बोलको गीत, फिल्म लाहुरेमा दीपा झाको स्वरको ‘सधैँ उडी हिँड्ने बादललाई’ मा अभिनेत्री तृप्ती नाडकरको चिया बगानको नृत्य होस् या फिल्म अजम्बरी नाताको लागि पूर्णिमा श्रेष्ठले गाएको ‘चियाको बोटैमा दुईं पात एकै सुइरो’मा निरुता सिंहको चञ्चल नृत्य, यी सबे दृश्य आँखामा नाचिरहेका थिए ।

इलामकै चेली निर्देशक तथा कोरियोग्राफर रेनेशा वान्तवा राईले कोरियोग्राफी गरेको ‘के यो माया हो’मा समावेश चियाको बोटमा मुना पलाएझैँ होस् या अर्जुन खतिवडाले पुनः आफ्नो स्वरमा गाएको सोही गीत मनमा गुञ्जिरहेको थियो भने सोही गीत ओठले पनि पछ्याइरहेको थियो । तीमध्ये केही गीतमा टिकटक भिडियोसमेत बनाइयो र इलामको सम्झना सधैँका लागि सँगालियो । मन त सूर्योदय हेर्ने थियो, तर बिहानैदेखि कुहिरो र तुवाँलो छाएकाले सम्भव भएन ।

एकछिनमै कुहिरो र तुवाँलो हटेर सूर्यको किरण छाउन थालेपछि चिया बगानको हरियालीमा लुकामारी खेल्दै देखिने सूर्यको किरण, छिन्मै ह्वारह्वारती छाउने कुहिरो र तुवाँलो, छिन्मै बर्सिने पानी अनि चिसो हावाको सुमधुर स्पर्शले श्रीअन्तुले साँच्चिकै स्वर्गको टुक्राजस्तै महशुस गरायो । कार्यक्रम इलामको सूर्योदय नगरपालिका–५ स्थित प्रसिद्ध पर्यटकीय गन्तव्य श्रीअन्तुमा भएको थियो । कोशी प्रदेशले नगरपालिकालाई पर्यटकीय नगारपालिका घोषणा गरेको रहेछ । दोस्रो दिन जेठ ७ गते चलचित्र पत्रकार संघले आयोजना गरेको भव्य कार्यक्रममा अन्य ६ पत्रकारसहित मलाई प्रोत्साहन पुरस्कारबाट पुरस्कृत गरिनु मेरो व्यक्तिगत जीवनको महत्वपूर्ण क्षणमध्ये एक थियो ।

यसले इलामको चिसो मौसममा पनि केवल न्यानो आत्मबल मात्र बढाएन पत्रकारिताको क्षेत्रमा अझ लगनशील भएर लाग्ने तातो उत्प्रेरणा पनि थप्यो । केबिज हिल रिसोर्टको हल, श्रीअन्तु पोखरी, बगान र त्यहाँका डाँडाकाँडामा प्रशिक्षण कार्यशाला, सिनेमा संवाद, अन्तरक्रियाजस्ता विभिन्न कार्यक्रमसहित संघले आफ्ना देशभरका करिब १ सय ५० चलचित्र पत्रकार, फिल्मकर्मी र अन्य अतिथिसहित करिब २ सय ५० व्यक्तिका साथ तीन दिनसम्म चलचित्र पत्रकारिता दिवस भव्यरुपमा मनायो । ६ गते शुरु भएको कार्यक्रम ९ गते ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो ।

संघका अध्यक्ष समिर बलामी, महासचिव रघुनाथ सापकोटा, उपाध्यक्ष सुरक्षा भट्टराई, सचिव नवीन गिरी, सदस्यहरु निशा बजगाईं, सुष्माश्री कार्की, सिपी जैसी, सुरेन्द्र थापा, महमद जलिमलगायतको केन्द्रीय कार्यसमितिको अथक सक्रियतामा सम्पन्न चारदिने कार्यक्रमकै दौरान बीचको एकदिन केही समय निकालियो । झिसमिसे बिहानै केही साथीहरुका साथ भारतको सुन्दर नगरी मिरिकतर्फ लागियो । श्रीअन्तुबाट फिक्कल र पशुपतिनगर हुँदै मिरिकको सौन्दर्य नियालेर दिउँसो करिब १२ बजे श्रीअन्तुमै फर्कियौँ ।

सोचेभन्दा केही ढिला भए पनि अघिल्लो कार्यक्रम छुटेको क्षतिपूर्ति भने अन्तु पोखरीमा भएको सिनेमा र पर्यटन विषयक अन्तरक्रिया कार्यक्रमले पूरा ग¥यो । जहाँ नेपाली फिल्मका हस्तीहरु शिव श्रेष्ठ, अभिनेत्री गौरी मल्ल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, सूर्योदय नगरपकालिकाका उपप्रमूख दुर्गाकुमार बरालदेखि लिएर चलचित्र पत्रकारिताका हस्तीहरु विदुर गिरी, लक्ष्मण सुवेदीलगायत सहभागी भएका थिए । जसमा श्रीअन्तुको सौन्दर्यको चर्चा गर्दै आगामी दिनमा फिल्म सुटिङको लागि पहल गर्ने प्रतिबद्धता आयो ।

सोही दिन दिउँसो सूर्योदय नगरपालिकाले भव्य स्वागतका साथ हामीलाई त्यहाँको स्थानीय हिल टावर रिसोर्टमा स्वागत गरेको थियो । नगरका उपप्रमुख दुर्गाकुमार बराल, प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार राई, विभिन्न वडाका अध्यक्ष र स्थानीय बासिन्दासम्मले अतिथिलाई गरेको सत्कारले न्यानोपनको आभास दिलायो । कार्यक्रममा सहभागी भएका फिल्म निर्माता नवीन श्रेष्ठले आफ्नो आगामी फिल्मको केही दृश्य श्रीअन्तुमा छायाङ्कन गर्ने प्रतिबद्धता जनाए ।

त्यस्तै नगरपालिकाका उपप्रमुख दुर्गाकुमार बरालले इलाम र १४ वडा रहेको सूर्योदय नगरपालिकाको बारेमा परिचय दिँदै दार्जीलिङ, सिक्किम, भुटान, मुम्बईदेखि पर्यटकहरु इलाम घुम्न आउने जानकारी गराएर चलचित्र पत्रकारले पनि सोही स्थान रोजेकोमा खुशी व्यक्त गरे ।इलामलाई प्राकृतिक सुन्दरता मात्र होइन, धार्मिक पर्यटकीय हिसाबले अगाडि बढाउनका लागि स्थानीय बौद्ध गुम्बा र चित्रे गुम्बालाई लिएर पनि योजना बनाइएको रहेछ भने त्यहाँको प्राकृतिक सुन्दरता नियाल्न स्काई ब्रिज पनि तयार हुँदै गरेको नगरका उपप्रमुख बरालबाट थाहा हुन आयो ।

त्यसो त श्रीअन्तु आपैmँमा प्राकृतिक सौन्दर्यताले भरिपूर्ण त थियो नै, त्यहाँका होटल व्यवसायीहरूबाट पाइएको स्नेह र सेवाभाव पनि अविस्मरणीय थियो । चलचित्र पत्रकार संघले इलामसम्म पुगेर यति बृहत् कार्यक्रम गर्नुको उद्देश्य सिने पर्यटनको प्रवद्र्धन पनि थियो । यो उद्देश्य सफल भएको महसुस गर्न सकिन्छ । काठमाडौंबाट इलाम पुगेर त्यहाँका स्थानीय निकाय, संघसंस्था तथा होटल व्यवसायीका साथ समन्वय गरेर करिब २ सय ५० को सहभागितामा कार्यक्रम गर्नु चुनौतीपूर्ण थियो । त्यो चुनौती सफलतामा परिणत भयो ।

सहभागी सञ्चारकर्मी, कलाकर्मी र सरोकारवालाले इलामको सुन्दरता एवं सम्भावनालाई नजिकबाट बुझ्ने मौका मात्र पाएनन्, आ–आफ्नो क्षेत्रबाट यसलाई देश–विदेशमा पैmलाउने अवसर पनि पाए । यसले स्थानीय पर्यटनको प्रवद्र्धनमा समेत सशक्त भूमिका खेल्ने देखिन्छ । काठमाडौं फर्कने क्रममा श्रीअन्तु हुँदै कन्याममा पुगेर केही तस्वीर र भिडियो खिच्ने, हर्कटेमा चिया, छुर्पी, डल्ले खुर्सानीको अचारजस्ता स्थानीय उत्पादन खरिद गर्ने क्रममा आफन्त र साथीसंगीबाट पाएको प्रतिक्रियाले पनि यो प्रस्ट गरायो । यस यात्राबाट काठमाडौं फर्किएर यो आलेख तयार पार्दा इलाममा बिताएका हरेक क्षण स्मृतिमा अमिटरूपमा घुमिरह्यो, सूर्योदयको काखको न्यानो सुन्दर अनुभूति गराइरह्यो ।