कान्समा इरान विरोेधी पानाहीले चुमे अवार्ड


विश्वकै प्रतिष्ठित अवार्ड कान्स फिल्म फेस्टिभलको ७८ संस्करण हालै सम्पन्न भएको छ।
फ्रान्सको कान्स शहरमा आयोजित समारोहमा इरान विरोधी फिल्म निर्देशक जाफर पानाहीले आफ्नो नयाँ फिल्म इट वाज जस्ट एन एक्सिडेन्टका लागि अवार्डको मुख्य विधा पाम डि ओर पुरस्कार जिते। लामो समयदेखि इरानी सरकारले लगाएको यात्रा प्रतिबन्ध २०२३ मा हटेपछि यो पानाहीको पहिलो कान्स सहभागिता हो। ‘अहिले हाम्रो देशको स्वतन्त्रता नै सबैभन्दा महत्वपूर्ण छ। हामी एकजुट होऔ“। कुनै पनि व्यक्तिले हामी के लगाउने, के गर्ने, के नगर्ने भनेर भन्नु हुँदैन’ ६४ वर्षीय निर्देशक पानाहीले पुरस्कार ग्रहण गर्दै भने। पानाहीको यो फिल्म राजनीतिक व्यङग्यमा आधारित छ। जुन उनले कारावासको अनुभवपछि बनाएका हुन्। इरान सरकारले उनीमाथि पटकपटक प्रतिबन्ध लगाए तापनि उनले गोप्य रूपमा फिल्म निर्माण जारी राखेका छन्।

समारोहमा जोआचिमले ग्राण्ड प्रिक्स अवार्ड जित्दा क्लेबर मेन्डोका फिल्होले निर्देशक, भेगनर मौराले अभिनेता र नादिया मेलिटीले अभिनेत्रीको अवार्ड चुमे। पियरे र ल्युक डार्डेनले पटकथा, हसन हादीले क्यामेरा डि ओर, ओलिभिएर लक्स र माशा शिलिस्कीले जुरी र रत्चापुम बुनबन्चचोकले ग्राण्ड प्राइज चुमे।

गत मंगलबार शुरू भएको अवार्डको ७८ औं संस्करणको शुभारम्भ समारोहमा फ्रान्सेली रोमनी फिल्म लिभ वान डे प्रदर्शन गरिएको थियो। कान्स फिल्म फेस्टिभल विश्वभरका फिल्मप्रेमीहरूको लागि एक महत्वपूर्ण मञ्च हो, जहाँ नयाँ र उत्कृष्ट फिल्म प्रस्तुत गरिन्छ भने विभिन्न पुरस्कारबाट फिल्मकर्मीलाई हौसला प्रदान गरिन्छ। यस वर्षको महोत्सवले सामाजिक, सांस्कृतिक र राजनीतिक विषयलाई समेटेर विविधता र समावेशिता प्रस्तुत गरेको छ।

यस वर्षको समारोहमा महिला निर्देशित १६ फिल्म आधिकारिक छनोटमा समावेश छन्, जुन यस वर्षको कान्स फिल्म फेस्टिभल नेपाली फिल्म क्षेत्रका लागि पनि विशेष रह्यो। कान्समा अभिनेता प्रदीप खड्का आफू अभिनित फिल्म एक्लोको प्रतिनिधित्व गर्दै त्यसका निर्देशक प्रदीप शाहीका साथ कान्समा सहभागिता जनाएका थिए। कान्समा नेपाली झण्डा र स्टलसमेत राखेका उनीहरू रेड कार्पेटमा समेत सहभागी भएका थिए। उनीहरू कान्सको ग्राण्ड थिएटर लुमियरमा थिएरी क्लिफा निर्देशित फ्रान्सेली फिल्म ला फेम्मे ला प्लस रिच डु मोन्डको प्रिमियरका क्रममा रेड कार्पेटमा सहभागी भएका थिए।