पाश्चात्य साहित्यमा प्रकृतवादको स्थापना

0
Shares

प्रकृति भन्नाले मानवले नबनाएको वा आफैँ (प्रकृति, ईश्वरले बनाएको) उत्पत्ति भएको भन्ने बुझिन्छ । यो वाद यथार्थवादकै अलि विकसित रुप हो भन्दा फरक पर्दैन । प्रकृतिवादलाई अड्ग्रेजी भाषामा नेचुरालिज्म भन्ने गरिन्छ । यसको मूल स्रोत भनेको ल्याटिन भाषाको नाचुरालिस शब्दबाट अपभ्रंश भएर बनेको पाइन्छ । यही नेचुरालिज्म शब्दलाई नेपाली भाषामा भने प्रकृतवाद, हिन्दीमा प्राकृतिवाद, प्रकृतिवाद वा नग्नतावाद भनिएको पनि पाइन्छ । प्रकृतवाद शब्दको उत्पत्ति भनेको इसाको १९ औँ शताब्दीको अन्त्यतिर भएको मानिन्छ । फ्रान्सका प्रसिद्ध उपन्यासकार शाँ फ्लेरीको वस्तुवादी नयाँ अवधारणाको व्याख्याका रुपमा गोकुर्ट उपन्यास रचनाको क्रममा आएको पाइन्छ । अर्का उपन्यासकार बाल्जाकका साहित्य रचनामा पनि प्रकृतवादले ठूलो भूमिका खेलेको पाइन्छ । यी दुवै साहित्यकारको यति महान् भूमिका हुँदाहुँदै पनि प्रकृतवादलाई उन्नायक बनाउने काममा भने (सन् १८४०–१९०२) एमिल जोलाको महत्वपूर्ण भूमिका रहेको पाइन्छ । प्रकृति वा प्रकृतका सन्दर्भमा हेर्ने हो भने जोलाले नै यो शब्दको र शब्दानुसारको भावको समेत सर्वप्रथम उठान गरेका छन् । शुरुमा रोमान्टिक साहित्यकार मुसेट, ह्युगो, रुसोजस्ता रोमान्टिक साहित्यकारको संगतमा लागेर सोही अनुसारका रोमान्टिक कविता रचना गर्ने जोलाले पछि फ्लुबर्टजस्ता केही मात्रामा यथार्थवादी कविको संगतले स्वयं पनि यथार्थवादी बन्न पुगेका र अन्त्यतिर आएर प्रकृतिवादी वा प्रकृतवादी बनेका छन् । वास्तवमा उनी प्रकृतवादका प्रवक्ता बन्नुका साथै यसै वादका बलिया प्रवर्तक पनि हुन् ।

प्रकृतवादका अर्का बलिया साहित्यकार मोपासाँ पनि हुन् । उनले सन् १८८० तिर रचना गरेको आफ्नो प्रथम कृति पद्यकाव्यले उनलाई प्रकृतिवादी वा प्रकृतवादी साहित्यकारको रेखामा उभ्याएको छ । मोपासाँ संसारका महान् कथाकारमध्येका एक हुन् । उनी अर्का महान् र यथार्थवादी कथाकार फ्लुबर्टका असल शिष्य मानिए पनि फलुबर्टको तुलनामा एमिल जोला नै अधिक यथार्थवादी र त्योभन्दा अझै अधिक प्रकृतिवादी साहित्यकारका रुपमा मानिन्छन् । यी महान् प्रकृतिवादी र थोरै यथार्थवादी साहित्यकार मोपासाँले लगभग तीन सय कथा, आधा दर्जन उपन्यास र केही दर्जन रचना गरेका छन् । उनले रचना गरेका यति धेरै कृतिहरुमध्ये सबैजसो कृतिहरु यथार्थवादी .प्रकृतिवादी नै छन् । उनका धेरैजसो कृतिहरु यौनसँग सम्बद्ध रहेका छन् । उनका सबैजसो कृतिहरुको भाषा सरल रहेको छ । पाठकले अध्ययन गर्दा स्पष्टसँग बुझिने छन् । उनका कृतिमा तार्किकताको पनि बाहुल्यता रहेको छ । यथार्थ. प्रकृतवादका अतिरिक्त मोपासाँले आधुनिक वाणिज्य विषयका समेत कथा रचना गरेका हुनाले वाणिज्य विषयक कथाका प्रवर्तकसमेत मानिन्छन् । उनी सन् १९५०–९३ कालखण्डका नामुद आख्यानकार भए तापनि उनले रचना गरेका साहित्यिक कृतिका साथै उनले साहित्य रचनामा अपनाएको यथार्थ र प्रकृतवादीको सार्वजनिक उद्घाटन भने सन् १९९० को शुरुतिर फ्रान्समा प्रकृतवादी आन्दोलन चर्काएर शिखरतिर पुग्दै गरेको थियो भन्ने कुरा स्मरण गर्नलायकको छ । त्यसपछिका दिनदेखि लिएर हालसम्म पनि फ्रान्सेली साहित्य रचनामा प्रकृतवादको प्रभाव यथावत् रहेकै छ ।

प्रकृतवादको प्रभाव सन् १८८० को शुरुदेखि पर्दै गएर जर्मन साहित्य रचनाका विभिन्न कालखण्डमा समेत यसको प्रभाव कायम रहेको छ । जर्मन साहित्यका विविध विधाहरुमध्ये कविता र नाटक विधाले प्रकृतवादको ग्रहण गर्दै र मलजल गर्दै हुर्काउँदै आजसम्म पनि ल्याउँदै छ । प्रकृतवादी साहित्य सिर्जना गर्ने जर्मन साहित्यकारहरुमा बोल्श, जी एफ कोनप्याड, होल्ज श्लेफ, ब्लाइबटोड आदि रहेका छन् । यी साहित्यकारले कविता साहित्यमा प्रकृतवादलाई अपनाएर हुर्काउने काम गरे भने नाट्य साहित्यका क्षेत्रमा प्रकृतवादको अनुशरण गर्ने प्रमुख नाटककार जेर्हार्ट हाउप्टमानको नाम अग्र लहरमा आउँछ ।

फ्रान्स, जर्मनीपछि बेलायती साहित्यिक रचनामा पनि यथार्थ. प्रकृतवादले प्रभाव जमाउन थालेको पाइन्छ । सन् १८८५ मा जर्ज मुर नामक साहित्यकारले प्रकृतवादको प्रभावलाई समेटेर ‘अ ममर्स वाइफ’ नामको उन्यास लेखे । हुन त त्यसभन्दा अगाडि नै सन् १८८४ मा नै उनै जर्ज मुरले ‘द अक्ल्यान्ड’ नामक कृति प्रकृतवादको प्रभावमा परेर लेखिसकेका थिए । तर जर्ज मुरकै दोस्रो उपन्यास ‘द अक्ल्ल्यान्ड’ले उनको ‘अ ममर्स वाइफ’ले जतिको प्रकृतवादलाई आत्मसात् गर्न सकेको छैन । मुरका यी दुई उपन्यासको तुलनामा आर्नोल्ड बेनेट नामक साहित्यकारले आफूले देखेका कुरा नोटबुकमा टिपोट गर्दै गएर अन्त्यमा लेखेको सन् १९०८ को ‘द ओल्डवाइभ्ज टेल’ अनि सन् १९१० मा रचना गरेको ‘भ्ले ह्याङ्गर’ दुवै कृतिले प्रकृतवादलाई निकै बलियोसँग आत्मसात् गरेको पाइन्छ ।

प्रकृतवाद भन्नाले वैज्ञानिक चाल्र्स डार्बिनको विकासवाद अनि त्यसबाट प्रेरणा पाएर त्यसकै सामयिक मान्यताबाट धेरै प्रभावित भई रचना गरिएका कलात्मक आन्दोलन वा सिद्धान्तलाई आत्मसात् गरिएको साहित्य हो । प्रकृतवादलाई यथार्थवादसँग तुलना गरिन्छ । जुन साहित्यकारले प्राकृतिक सौन्दर्यमा अभिरुचि राख्छन्, उनीहरुले प्रकृतवादलाई आत्मसात् गरेर साहित्य सिर्जना गर्न सक्छन् ।

प्रकृतवाद भन्नाले वैज्ञानिक चाल्र्स डार्बिनको विकासवाद अनि त्यसबाट प्रेरणा पाएर त्यसकै सामयिक मान्यताबाट धेरै प्रभावित भई रचना गरिएका कलात्मक आन्दोलन वा सिद्धान्तलाई आत्मसात् गरिएको साहित्य हो । प्रकृतवादलाई यथार्थवादसँग तुलना गरिन्छ । जुन साहित्यकारले प्राकृतिक सौन्दर्यमा अभिरुचि राख्छन्, उनीहरुले प्रकृतवादलाई आत्मसात् गरेर साहित्य सिर्जना गर्न सक्छन् । यसो भन्दैमा केवल प्रकृतिको सौन्दर्यलाई मात्र आत्मसात् गर्ने भन्ने होइन कि जसले भगवान्, मान्छेको मान्छे हुनाको धर्म, नैतिकताको विषय आदिका विरुद्धमा जाने प्रवृत्तिका विरुद्धमा आवाज उठाएर त्यसलाई सशक्त बनाउन सकेको खण्डमा त्यसबाट प्रभावित भएर सही बाटोमा फर्काउन सकिएको खण्डमा त्यही साहित्यिक कृति अधिक प्रभावकारी र संसारप्रिय बन्न सक्छ । प्रकृतिवादी वा प्रकृतवादी साहित्य सिर्जनामा विशेष गरेर आख्यान साहित्य (उपन्यास, कथा आदि) साहित्य रचना हुन्छन् वा गरिन्छन् । हुन त कविता विधाको रचना पनि गरेका छन् कैयौँ साहित्यकारहरुले ।

इसाको १९ औँ शताब्दीको उत्तरार्धतिर सर्वप्रथम फ्रान्स, त्यसपछि जर्मनीबाट विकास हुँदै र फैलँदै गएको प्रकृतवादी साहित्य रचना वा प्रकृतवादी सिद्धान्तको अवधारणा अमेरिकासम्म फैलँदै गएर उन्नाइसौँ शताब्दीको अन्त्यदेखि क्रमशः खुम्चँदै र ओइलाउँदै गएको पाइन्छ । त्यसो भए पनि त्यसपछिका साहित्यकारहरुमा पनि प्रकृतवादको प्रभाव कतै न कतै सूक्ष्मरुपमै भए पनि भेटिने गरेको कुरा अनुभूत हुन्छ ।

साहित्य वा सिद्धान्तमा प्रकृतवादको प्रयोग वा आत्मसात् गरिनु, गर्नुको वास्तविक कारण मानव समाजमा तत्कालीन अवस्थामा यथावत् रुपमा रहेका अन्धविश्वास, आदर्शका कुरा आदिलाई त्यसको प्रभावबाट हटाएर व्यक्तिगत जीवनमा एकान्तको जीवन तथा आन्तरिक यथार्थतिर मान्छेको ध्यान आकृष्ट गराउनका लागि हो । अर्को शब्दमा भन्दा हामी मानव जाति प्रकृतिबाट आएका र प्रकृतिमै मरेर सकिन्छौँ, त्यसैले कसैले पनि यो यथार्थलाई लुकाएर आदर्शवादी बन्नुहुन्न भन्ने कुरातिर मान्छेको ध्यान तानेर सचेत गराउने यसको मूल हेतु रहेको हुन्छ । प्रकृतिवादले जुन र जस्तो वातावरण रहेको छ त्यसलाई सोही रुपमा प्रस्तुत गर्नुपर्छ भन्ने मान्यता राखेको हुन्छ । कुनै पनि विषयवस्तुको सीमा तोक्न मनाही गर्नुपर्छ भन्ने मान्यता राख्छ । साहित्यको नाट्य विधामा प्रकृतवादको आत्मसात् भएको भए त्यसमा भूमिका निर्वाह गर्ने विभिन्न पात्रको चयन यथार्थ पात्रको रुपमा हुनुपर्ने मान्यता राख्छ । प्रकृतिभन्दा पर रहेर हामीले स्वतन्त्रतापूर्वक सत्ता चलाउँछौं भन्ने कुरालाई भ्रमका रुपमा लिन्छ । यसको अर्थ यो हुन्छ कि प्रकृतिले जति मात्रमा प्रदान गरेको छ त्यति मात्र हामीले पाउने हो । बाँकी हामीले जति नै रहर गरे पनि पाइँदैन । मान्छेको जीवन, व्यक्ति, समाज, सभ्यता, संस्कृति, कलामा नभएर देश, काल, परिस्थिति र वातावरणका निर्माण मात्र हुन्, केवल हामीले चाहेरै भएका होइनन् ।

हाम्रो इच्छाले हाम्रो बारीको सुन्तलाको बोटमा लटरम्म सुन्तला फल्ने नभएर वातावरण (प्रकृति) को चाहनाअनुसार फल्ने वा नफल्ने हो भन्ने कुराको विश्वास गर्नु नै प्रकृतवादको एउटा मानसिकता हो । यस्तै मानसिकताबाट रचना भएको साहित्यमा प्रकृतिलाई शाश्वत सत्य ठानेर उसको अस्तित्वलाई स्वीकार गर्ने गरिन्छ । प्रकृतिवादीहरु जीवन र जगत्का यही नियतिपरक र यन्त्रिकतापरक पक्षहरुमाथि र मानवीय प्रेरणाका जैविकता अनि भौतिकतामाथि बुझाउन वा प्रकाश पार्न खोज्छन् र मानव जीवनभित्रका कुरुपता, विकृति, तुच्छता, बीभत्सताजस्ता भय लाग्ने र हातखुट्टा बाँध्न खोज्ने खराब तत्वहरुलाई कुनै धक नमानी उदाङ्गो पारेर संसारलाई देखाउन खोज्छन् ।

नेपाली साहित्यको फाँटमा भन्ने हो भने प्रकृतवाद कुनै निश्चित धाराका रुपमा होस् कि कुनै आन्दोलनको रुपमा होस्, विकसित भएको पाइँदैन । त्यसो भएर पनि नेपाली साहित्यका विभिन्न विधाका आधुनिक लेखकहरुमा प्रकृतिवादी बानी परेको अवस्थाको चित्रण भने स्पष्टरुपमा आएको कुरा अनुभूत हुन्छ । उदाहरणका रुपमा हेर्ने हो भने, आख्यानकार विश्वेश्वरप्रसाद कोइराला, गोविन्दबहादुर मल्ल गोठाले, भवानी भिक्षु आदि साहित्यकारका कृतिहरुमा प्रकृतवादको प्रभाव परेको स्पष्टै देखिन्छ । गोविन्द गोठाले, बीपी कोइराला, भवानी भिक्षु आदिका आख्यान विधाका कृति, कथा, उपन्यास प्रकृतवादको घना छाया परेको छ । बालकृष्ण समको अन्धवेग अनि गोपालप्रसाद रिमालको अन्धवेगजस्ता कृतिमा प्रकृतवादको छाया राम्ररी नै सल्बलाएको छ । त्यस्तै गरेर कुमार नेपालको कथा अनि पुष्कर लोहनीका कविताहरुमा समेत प्रकृतिवादी प्रवृत्ति राम्ररी नै प्रकट हुन पुगेको छ । यसरी पाश्चात्य साहित्यका विभिन्न विधालाई प्रभावित बनाउँदै आएको प्रकृतिवादी शैलीले नेपाली साहित्यलाई समेत आप्mनो प्रभाव जमाउने कुरामा पछाडि परेको छैन । यो प्रवृत्ति हाबी हुनुमा कोही पनि साहित्यकारलाई दोषी ठह¥याउनु मूर्खतापूर्ण बानी हो । साहित्य वा विचारमा कुनै नौलो वाद हाबी हुनुको अर्थ त्यसको वातावरण, आम जनताको रुचि र चासो अनि खोजीका विविध विषयहरु समेटिन्छन् । कोही पनि विचारक वा साहित्यकारले आफू यो फलानो वादलाई अपनाउँछु वा प्रयोग गर्छु भनेर मानसिकरुपमा योजना बनाएको पक्कै हुँदैन । आफूपूर्वका साहित्यकारका कृतिको अध्ययन, अनुसन्धान आदिमा लाग्दा परेको मानसिक प्रभावका आधारमा होस् कि सरलताको मामलामा होस्, ऊ पूर्वका कृति अथवा विचारधाराबाट प्रभावित भएरै त्यसको अनुशरण गर्ने हो । त्यसैले साहित्य र सिद्धान्तका कुनै पनि वादले कुनै पनि क्षेत्रमा प्रभाव जमाउन थालेपछि निकै गतिशील बनेर अन्यत्र पनि फैलन र प्रभाव जमाउन थाल्छ । आजको सञ्चारमाध्यमको उपलब्धताका आधारमा हेर्ने हो भने कुनै पनि वाद वा सिद्धान्तलाई करिब संसारभर नै फैलन आधा वर्ष पनि लाग्दैन ।