मेरो जन्म दिने आमालाई पूर्वी पहाडको शक्तिकी देवी ताप्लेजुङ पाथीभरा मन्दिरको दर्शन गराउन नसकेकोमा दुःख लागेको छ । उहाँ विभिन्न रोगले अशक्त भएका कारण हेलिकोप्टरमार्फत मन्दिर पु¥याएर दर्शन गराउने प्रयास गर्दा पनि सफल हुन सकिन । काठमाडौंबाट सुकेटार हवाईजहाजमा चढाएर लाने प्रयास पनि गरियो तर कहिल्यै नियमित नहुने र लामो समय सेवा नै थिएन । आमालाई समूहमा हेलिकोप्टरमा पठाउन पाए सस्तो पर्ने सोचेर प्रयत्न गर्दै थिएँ, तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटनामा परेपछि आमाले हेलिकोप्टर चढेर जान डर मान्नुभयो । बस, जिपबाट लामो यात्रा गरी फेरि बोकिएर जाँदा स्वास्थ्य प्रतिकूल भई झन् समस्या हुने देखँे । त्यसमाथि उहाँले अरुलाई बोकाएर धर्म गर्न जान्न बाबु भनेपछि त्यो विकल्प पनि बन्द भयो । यसै क्रममा कोरोनाकालको केही समयपछि उहाँको स्वर्गारोहण भयो । आमालाई पाथीभरा माताको दर्शन गराउन नसके पनि विगत तीन–चार वर्षदेखि म त्यहाँ जाने अनुकूल समयको पर्खाइमा थिएँ । बल्ल गत वैशाख ५ गते दर्शन पाथीभरा देवीको गर्ने सौभाग्य पाएँ ।
बिचरा सयौं भरिया दाजुभाइले अशक्त, बूढाबूढी, बच्चा र तिनका झोलासमेत बडो सकसपूर्ण तरिकाले बोकेर लगेको पाथीभराको यात्रामा देखिन्छ । ठूला–ठूला शरीर भएका महिला–पुरुषलाई दुईजना मिलेर पालैपालो बोकेको देख्दा मेरो मन दुखित भयो । अचम्मको अनुभव, कोही साह्रै बूढाबूढी देखिएका पनि सजिलै हिँडेको पाएँ भने कोही वयष्क र हट्टाकट्टा ज्यान भएका पनि बोकिएर गएको देखियो ।
त्यहाँको व्यवस्थापन पक्ष फितलो देखियो । माथिल्लो फेदीमाथि भएका जति पनि शौचालय छन्, ती शौचालयमा पिसाब गर्न जान पनि कठिन थियो । शायद पानीको अभावले हो कि मिनरल वाटरका बोतल प्यानवरपर फालिएका थिए । मन्दिरमुनिको शौचालयमा समेत जथाभावी दिसा गरेर पस्नै नसक्ने थियो । राजमार्गका होटल तथा सिनेमा घरमा बनाउनेजस्तो महिला–पुरुषका लागि छुट्टाछुट्टै व्यवस्थित शौचालय बनाउन अनुरोग गर्दछु । तल्लो फेदीदेखि माथिल्लो फेदीमा एक ठाउँमा बाहेक अन्यत्र शौचालय देखिन । सम्भव भए अरु दुई–तीन ठाउँमा बनाइयोस् ।
माथिल्लो फेदीदेखि ठाउँ–ठाउँमा पैसा (भेटी) बाटैमा फालिएको र हावाले उडाएको हुँदा त्यसलाई दान बाकसजस्तो गरे छरपस्ट हुने थिएन । धेरै वर्षदेखि सुनेको थिएँ । त्यहाँ कसैले पनि बाटोमा झरेका पैसा, सिक्का नटिप्ने कुरा सुनेको थिएँ । एक महिलाले सुनको मुन्द्री बाटोमा देखेपछि सबैलाई सुनाइन् । मैले मन्दिरमा लगेर चढाउन वा समिति अथवा प्रहरीलाई बुझाउन भनेँ । धेरैले भेटी चढाएकै ठाउँमै राख्न सुझाए । यसर्थ मन्दिर व्यवस्थापन समितिले ठाउँ–ठाउँमा यसबारे बोर्डमा सूचना राख्न जरुरी देखेँ । कुनै पनि समस्या या सहकार्यका लागि सम्पर्क व्यक्तिको नम्बर राखिदिनु जरुरी छ । बाटोभरि चढाएका पैसा दिनमा एकपटक संकलन गर्ने व्यवस्था गर्नु उपयुक्त हुन्छ । भरसक निश्चित ठाउँमा मात्र चढाउनका लागि कडाइ गर्ने वा ठाउँ–ठाउँमा बाकस राखिदिन सके पानीले पनि नभिज्ने र संकलन गर्नसमेत सहज हुने थियो ।
पूजाका लागि लाइन बस्ने र पूजापाठमा धेरै समय लगाउने हुँदा चार थरीको लाइन बनाउन सुझाव छ– महिला, पुरुष, परिवार वा समूहमा जानेको लाइन । चौथो भनेको पूजा सामग्री, भाकल चढाउने कुरा नलगी केवल दर्शन गर्न जानेको अलग लाइन बनाउन सके लाइनमा बस्नेको पालो चाँडो आई भीडभाड कम गर्न सकिन्थ्यो । साथै चाडपर्वको बेलामा हजारौँ दर्शनार्थीले सहज किसिमले थोरै समयमा पालो पाउँथे । चढाएका सामग्री जति सक्दो छिटो टिपेर अलग ठाउँमा संकलन गर्नु जरुरी देखेँ ।
कोही त आनन्दले घरमा पूजापाठ गरेजस्तो गरी बस्न खोज्ने रहेछन् । अर्को उदेक लाग्दो विषय भनेको कतिपय व्यक्ति टिकटक, भीडियो र फेसबुकमा लाइभ र पोस्ट गर्नकै लागि मन्दिर गएको जस्तो लाग्छ । लाइन बस्दा, माताको चरणमा शिर राख्दा, मातालाई सारी लगाइदिँदा पनि अनेक भावभङ्गी गरी मोबाइलतिर ध्यान खिचेको देखिन्छ । यसरी कसरी भक्तिभाव होला भन्छु म ? साना उमेरकाको सोख र रहर होला भन्न सकिन्छ । तर मन्दिर क्षेत्रमा यस्तो रहर गर्ने भनेको बीचमा अधबैंसे, चालीसदेखि पचासका अलि धेरै, पचासदेखि साठी वर्षका ठिक्कै र त्यसपछि पनि छोराछोरी, नातिनातिना, आफन्तले देश–विदेशबाट पठाएका मोबाइलमा फोटो–भिडियो कैद गर्ने जमात बढ्दो देख्छु । यो मोहले पनि भीडभाड अलमलिएको देखिन्छ । वरिपरि ठाउँ सीमित भएकाले हजारौँको भीड लाग्ने पर्व वा शनिबार या बिदाका समयमा मन्दिरमा थोरै समय दिएर पूजापाठ या दर्शन गराउने व्यवस्था गर्नु जरुरी छ ।
बाटोमा पानी पर्दा, हावाहुरी आउँदा ठाउँ–ठाउँमा ओत लाग्ने ठाउँ बनेका रहेछन् । उसरी नै केही ठाउँमा पक्की फलामका बारसहित माथि छतसमेत भएका संरचना बनेका रहेछन् । यसरी टुक्रा–टुक्रामा बनाउनुभन्दा तल्लो फेदीदेखि एक चरण क्रमशः र माथि मन्दिरमुनिबाट अर्को चरण क्रमशः निरन्तर तल बनाउँदै लाने योजना भए केही वर्षमा जोडिन सम्भव होला । एक मिटर बराबरको यति रकम भनी भक्तजनहरुलाई आह्वान गरेर तिनको नाम शिलालेखमा रहनेजस्तो अभियान चलाएर यस्ता संरचना बनाउन सकिन्छ । यस्तो योजना अगाडि बढाउन सके झरी, हावाहुरी तथा हिउँ पर्ने बेलामा पनि आवतजावतमा सहज हुने थियो । साथै सम्भव भए बाटोभरि, नभए हरेक २०–५० मिटरमा बत्ती जडान गर्न सके हातले टर्च लाइट वा मोबाइल बालेर हिँड्ने कि लौरो समात्ने भन्ने सकस हुने थिएन । यति धेरै सकस हुँदा पनि बाटोभर भक्तजनको भीड देख्दा अलौकिक शक्ति र आकर्षण छ भन्ने लाग्छ ।
सदरमुकाम पूर्व विमानस्थल क्षेत्र लगभग ८ कि.मि. मात्र पिच सडक रहेछ । त्यसउता तल्लो फेदीसम्म हिलाम्मे÷धुले कच्ची सडक रहेछ । १२ कि.मि. यस्तो धुलाम्मे सडक बनाउन युद्धस्तरमा काम गर्न जरुरी छ । पहिलो चरणमा पिच नगरी यो सडक ढलानले बनाउनु उपयुक्त होला । किनकि प्राय चिसो भइरहने, शीत परिरहने हँुदा सडक चिप्लो हुन सक्छ । यदि पिच सडक नै बनाए पनि खस्रो या पिचमाथि मसिना गिटी छरेर पानी पर्दा पनि नचिप्लने बनाउन सुझाव छ ।
यहीँनेर केवलकारको विषय पनि जोड्न मन लाग्यो । यसमा मेरो कुनै आपत्ति छैन, न समर्थन नै । नो केवलकार समूह, स्थानीय निकाय र संघीय सरकार सहमत भए नयाँ विकल्प हुन सक्छ । जस्तो– अहिले तल्लो फेदीसम्म पुगेको मोटरबाटोलाई माथिल्लो फेदीसम्म लान सहमति गर्ने । तल्लो फेदीमा वनक्षेत्र, घर, व्यापारिक ठाउँलाई खाली गराएर थप सार्वजनिक जग्गासहितमा बसपार्क बनाउने । अहिले सदरमुकामदेखि तल्लो फेदीसम्म चलेका सवारीसाधन धेरैजसोलाई माथि ओसार्न अनुमति वा पालैपालो नियमअनुसार चल्ने व्यवस्था गर्ने । बाँकीले सडक अवस्था राम्रो भएपछि सदरमुकामबाट ओसार्न पाए । यसो गर्दा कसैको चलिआएको पेसा पनि बन्द हँुदैन । तलका हटेका वा हटाइएका व्यवसायलाई माथिल्लो फेदीमा सर्तसहित ठाउँ दिए तिनको पनि व्यवसाय कामयै हुन्छ ।
सबैभन्दा दुःखी पेसा अँगालेका मान्छे बोक्ने ती दाजुभाइको यदि पेसा पलायन हुने चिन्ता भए अहिलेदेखि तिनको लगत राखेर स्वेच्छाले वा समितिमार्फत माथिल्लो फेदीदेखि हरेक ठाउँमा रेखदेखदसहित पानी, अन्य सामानको पसल राख्न दिने अनि माथि मन्दिरमा पनि तिनलाई प्राथमिकता दिएर होटल, पूजा सामग्रीसहितको सहकारी अवधारणाको एकीकृत पेसा अपनाउने व्यवस्था गरे तिनको सकस पनि कम हुने थियो र समितिले पनि थप आम्दानी गर्न सक्थ्यो ।
समितिले बजेट उपलब्धताको आधारमा ठाउँठाउँमा धर्मशालाको व्यवस्था गरेमा अहिलेका भरिया दाजुभाइहरुलाई रेखदेख गर्न दिन सकिन्थ्यो । रोजगारी पनि मिल्ने र मन्दिर व्यवस्थापनको ठूलो आय पनि बन्न सक्थ्यो । अहिले निजी होटल तथा लजमा मनोमानी शुल्क तिरेर यात्रुहरु बस्न बाध्य छन् । मन्दिरछेउ रहेको हेलिप्याड शायद पानी परेर होला, अलि नमिलेको पाएँ, ढलान हुन आवश्यक छ । हुस्सु तथा कुहिरो वा मौसमको कारणले उद्धार या अन्य नियमित उडान सम्भव नभए उडान सुकेटार फर्कनुको विकल्प छैन । यसर्थ माथिल्लो फेदीमा रहेको प्रहरी चौकीमाथि रहेका खाली चौर या बजार क्षेत्रको उत्तरतर्फको बारीजस्तो भिरालो ठाउँमा अर्को वैकल्पिक ‘हेलिप्याड’ बनाउन सके नियमित उडान गर्न सहज हुनेछ ।
चौकी परिसरमा नाम दर्ता गराई जानुहोला भनेर सूचना राखे पनि रजिस्टर मात्र देखियो, कर्मचारी देखिएन । सम्भव भए सबैको, नभए मजस्ता एकल यात्रा गर्नेको अनिवार्य रेकर्ड होस् । भोलि कथंकदाचित केही समस्या पर्दा घर–परिवार हुँदै खोजी गर्न पनि सहज हुन्छ । तिनको घर–परिवारको फोन नम्बर लिन सके खबर गर्न पनि सहज हुन्छ । यसर्थ यति धेरै महिमा बोकेको पूर्वको शक्तिपीठमा अहिलेको नो केवलकार समूह होस् या स्थानीय निकाय, जनता, प्रदेश सरकारदेखि संघीय सरकारले धेरै काम गर्न जरुरी देखेँ । पक्ष र विपक्षभन्दा सहमतिको बाटोमा भक्तजन तथा दर्शनार्थीको हितको लागि ठाउँ–ठाउँमा सूचना, सुझाव राख्ने, समितिको बोर्ड तथा वेबसाइट तत्काल खोलेर जानकारी लिन सकिने व्यवस्था गरियोस् ।
अहिले एकजना राजेन्द्र भाइ आइडी भएका शायद समितिकै कर्मचारी भाइको टिकटकबाट मैले धेरै जानकारी पाएको छु । आधिकारिक रुपमा कर्मचारीकै व्यवस्था भए अरु धेरै जानकारी समेटिने थियो । अर्को कुरा बाटोमा जथाभावी फोहोर गर्नेलाई जरिबाना तोक्ने, सीसी क्यामेराको क्रमशः पहुँच बढाउने गर्नु जरुरी छ । अर्को मनमा लागेको कुरा, जिल्ला प्रहरी कार्यालयका प्रमखुज्यूलाई यस क्षेत्रमा खटिने प्रहरी दाजुभाइलाई बढीमा एक महिना, १५ दिन वा हप्ता–हप्तामा फेरबदल हुने व्यवस्था गर्न विनम्र अनुरोध छ । यस्तो कठिन ठाउँमा लामो समय सेवा दिन साँच्चैको सकस हुन्छ ।
पूजारी, समितिका कर्मचारी, साधुसन्तका लागि माथि नै उचित आवासको व्यवस्था होस् । यथासम्भव देश–विदेशबाट आउने साधुसन्तलाई निःशुल्क आवास र भोजनको सुविधा दिएर बाँकीलाई बजेटअनुसार दिने वा दर्शनार्थीले सामूहिक भोजमा दान दिन सक्ने प्रथा चलाउन सकिन्थ्यो कि ? पहिलोपटक जानुहुने यात्रुले मौसम र बाटोको अवस्था बुझेर जानुहोला । आफ्नो स्वास्थ्यको अवस्था हेरेर माथि उक्लनुहोला । जबर्जस्ती जाने प्रयास नगर्नुहोला । सकेसम्म जान्छु, नसके ‘लौ माता पाथिभरा, यहाँभन्दा माथि आउन सकिन, यहीँबाट पुकारा गर्छु’ भन्ने हिसाबले यात्रा गर्न अनुरोध छ ।
(लेखक सुनकोशी–३, सिन्धुलीवासी हुनुहुन्छ ।)











प्रतिक्रिया