हेटौंडाका सडकमा नाटक


हेटौंडा।

सामाजिक बेथितिप्रति प्रहार गर्दै समाजलाई सकारात्मक सोचसाथ अघि बढाउनका लागि हेटौंडा उपमहानगरका विभिन्न वडामा सचेतनामूलक सडकनाटक प्रस्तुत गरिएको छ।

उपमहानगरपालिका र आर्जन इन्टरटेन्मेन्ट एण्ड एड्भरटाइजिङको सहकार्यमा उपमहानगरकाका विभिन्न वडामा राष्ट्रिय कलाकारको टोलीले वैदेशिक रोजगारीले समाजमा पार्ने नकारात्मक प्रभाव, लागुऔषध दुव्र्यसनको प्रभाव र इन्टरनेटका माध्यमबाट हुने दुव्र्यवहारबारे सडकनाटकमार्फत् सचेतना फैलाउने प्रयास गरे। सडक नाटकमा विष्णु सापकोटा (लाहुरे बा), अस्मिता बस्नेत (थुम्की), शिवहरि नेपाल (ठेकेदार), गुणाखर अधिकारी (पुछारे), युनिसा बानियाँ (चुचु) र कुवेर मोक्तान (बाख्रे) ले अभिनय गरेका थिए। हेटौंडा–१६ को जनप्रिय र १८ को ज्योति माध्यमिक विद्यालय, १३ को महेन्द्र र १४ को जनज्योति माध्यमिक विद्यालय, ३ को महेन्द्रकिरण माध्यमिक विद्यालय, ८ को चन्द्रोदय र १५ को चुरियामाई माध्यमिक विद्यालयमा सडकनाटक देखाइएको थियो।

नाटकको समीक्षा गर्दै प्रमुख अतिथि नगर प्रमुख मीनाकुमारी लामाले समाजमा भएका बेथितिलाई यस्ता प्रस्तुतिमार्फत् उजागर गर्दै सकारात्मक सन्देश दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताइन्।