सुरक्षा निकायबाट रिटायर्ड वा बेरोजगार व्यक्तिहरुलाई सेक्युरिटी गार्डको जागिर दिने भन्दै बाठाटाठाहरुले कम्पनी, फार्म खोलेका छन् । यसका लागि शुरुमै आवेदन फाराम भर्दा एकदेखि तीन हजार रुपियाँसम्म बुझाउनुपर्छ । सँगै शैक्षिक योग्यताको प्रमाणपत्र र पहिला सुरक्षा निकायमा काम गरेको भए त्यसलाई पुष्टि गर्ने कागजात पनि पेस गर्नुपर्छ ।
फाराम बुझाएको केही समयपछि जागिर दिलाइन्छ । प्रायजसो बैंक तथा वित्तीय संस्थाको गार्ड वा कतिपय व्यक्तिको घरमा पनि सुरक्षाकर्मीका रुपमा खटाइन्छ । उनीहरुलाई मासिक १२ हजारदेखि बढीमा २० हजार रुपियाँ तलब दिइन्छ । बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म काम लगाइन्छ । सार्वजनिक बिदा वा चाडपर्वको बेलासमेत छुट्टी दिइँदैन । न त दशैं पेश्की वा उपचार खर्च नै दिइन्छ । उल्टै बिरामी हुँदा बिदामा बसे तलब काटिदिन्छन् । सुरक्षा गार्ड कम्पनी, फार्महरु पछिल्लो समय राम्ररी फस्टाएका छन् । अरुलाई शोषण गरेर यिनीहरुले कमाइरहेका छन् । काम गर्नेलाई तलब कम दिने तर सम्बन्धित बैंक, वित्तीय संस्था वा व्यक्तिसँग भने मोटो रकम असुल्छन् ।
यस्ता कम्पनीहरुले एउटै सेक्युरिटी गार्डको तलब मासिक ३० हजारदेखि ५० हजार रुपियाँसम्म बुझ्ने गरेका छन् । अनि कामदारलाई चाँहि त्यसको आधा तलबसमेत दिँदैनन् । यति मात्र होइन, सम्बन्धित बैंक, वित्तीय संस्था वा व्यक्तिबाटै मासिक रुपमा तलब उठाउँछन् तर सुरक्षा गार्डलाई भने दुई–तीन महिनामा मात्र तलब दिन्छन् । दशैं पेश्की लिन्छन् तर गार्डलाई चाँहि दिँदैनन् ।
अहिले बैंक, वित्तीय संस्था, निजी कम्पनी वा व्यक्तिको घरमा कम्पनीमार्फत खटिएका सुरक्षा गार्डहरु आफूहरुले तलब नपाएको तीनदेखि ६ महिना भइसकेको बताउँछन् । यसको भित्री कुरा बुझ्दा बैंक, वित्तीय संस्था, निजी कम्पनी वा व्यक्तिहरुले नै तलब दिन नसकेको बुझिएको छ । अधिकांश सेक्युरिटी गार्ड भन्छन्, ‘तलब माग्दै कम्पनी जाँदा हामीले नै पैसा पाएका छैनौं, तपाईंहरुलाई कसरी दिने भन्छन् ।’
सेक्युरिटी गार्ड कम्पनीहरुले हिजो बीचमा बसेर नाफा खानु खाए । अनि अहिले चाँहि सम्बन्धित संस्थाले नै तलब नदिएको भन्दै टारिरहेका छन् । बैंक, वित्तीय संस्था, निजी कम्पनी वा व्यक्तिले तलब भुक्तानी नगरे आफूले हिजो कमाएको त्यत्रो पैसाबाट तलब दिनुप¥यो नि त । सेक्युरिटी गार्ड पेसा निकै जोखिमपूर्ण छ । यसमा अरुको सुरक्षा गर्दा आफ्नो ज्यान नै समेत ज्यान सक्छ । कोही पनि व्यक्ति सुरक्षा गार्डमा यत्तिकै जागिर खान आउँदैनन् । आर्थिक अवस्थाका कारण उनीहरु ज्यान जोखिममा पारेर यो जागिर गर्छन् । जागिरबाट आउने तलबले नै उनीहरुको जीविकोपार्जन चलेको हुन्छ ।
ढोकामा बसेकै कारण हाकिमलाई दिनमै पटक–पटक सलाम ठोक्नुपर्छ । अनि त्यही हाकिमले भने उसको तलब दिइरहेको हुँदैन । गार्डहरु भोको पेट बसेर संस्थाको सुरक्षा गर्छन्, ज्यान नै जोखिममा पारेर । फेरि त्यही गार्डको तलब दिनचाहिँ आलटाल । जताबाट पनि उनीहरु पीडित छन् । सरकारले श्रमिकको तलब मासिक १७ हजार ३ सय रुपियाँ तोकेको छ । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मात्र काम लगाउन पाइन्छ । दशैं पेश्की र उपचार खर्च दिनुपर्छ । विडम्बना, अहिले पनि मानिसहरु मासिक ३ हजारदेखि बढीमा १० हजार तलबमा काम गर्न बाध्य छन् । उनीहरुलाई बिदाको दिनसमेत छुट्टी दिइँदैन । न त दशैंमा पेश्की र बिरामी हुँदा उपचार खर्च नै दिइन्छ ।
सरकार बजार चलायमान भएको दाबी गर्छ । यदि साँच्चिकै बजार चलायमान भएको भए व्यापार व्यवसाय नभएको जनाउँदै श्रमिकको तलब रोक्ने निजी संघसंस्था, वित्तीय संस्था, होटल रेस्टुरेन्टलगायतलाई किन कारबाही नगरेको ? अर्कोतर्फ, ढोकामा बस्ने गार्डको तलब दिन नसक्ने बैंक, वित्तीय संस्थाहरुले बचतकर्ताको निक्षेप फिर्ता दिन सक्छन् त ? प्रश्न उठेको छ ।
होटल, रेस्टुरेन्ट छिर्दा तीन–चार दिनको बासी खानेकुरा दिइन्छ । यसले गर्दा मानिसहरु झनै होटल, रेस्टुरेन्ट जान छोडेका छन् । सुपरमार्केट, बिग मार्टहरुमा पनि पछिल्लो समय ग्राहक देखिँदैनन् । यसको कारण मानिससँग पैसा नभएर हो कि कुहिएको गुणस्तरहीन सामान भएर हो ? अथवा सामान धेरै नै महँगो भएर हो ? यो सर्वसाधारणलाई नै थाहा होला । बजारमा मन्दी छ । मन्दीका कारण व्यापार व्यवसाय सुस्ताएको छ । जसको मार सम्बन्धित संघसंस्था वा कम्पनीमा काम गर्ने सेक्युरिटी गार्डसहित कर्मचारीहरुमा परेको छ ।
यता, जनताले तिरेको करबाट प्रधानमन्त्री केपी शर्मा ओलीसहित भीआईपीहरुको सुरक्षामा खटिएका आर्मी, पुलिसहरुले तलबभत्ता खाइरहेका छन् । भीआईपीहरुलाई सलाम ठोकेकै भरमा आर्मी, पुलिस र सशस्त्रहरुले तलबभत्ता बुझिरहेका छन् । उनीहरुको काम सलाम ठोक्नुबाहेक केही हुँदैन । राजनीतिक दलका नेतालाई हिँड्न नसकेर सुरक्षाकर्मीहरुले हात समातेको समेत देख्न सकिन्छ । यसरी आफ्नै खुट्टामा उभिन नसक्नेहरु देश विकास गर्छु भनेर ठूल्ठूलो भाषण ठोक्छन् । यस्ता नेताबाट जनताले पनि विकासको आशा गर्नु लज्जास्पद छ । कोही सुरक्षाकर्मी उठ्न नसक्नेलाई उठाएर वा सलाम ठोकेकै भरमा तलबभत्ता बुझिरहेका छन्, कोही सुरक्षा गार्डचाहिँ ज्यान नै जोखिममा पारेर भोको पेट काम गर्दा पनि तलब पाउँदैनन् । बूढापाका भन्थे– बोल्न सक्नेको पीठो पनि बिक्छ, बोल्ने नसक्नेको चामलसमेत बिक्दैन । हामीकहाँ यस्तै भइरहेको छ ।
– रुषा थापा, भक्तपुर











प्रतिक्रिया