वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ


काठमाडौँ।

बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरू लैजाने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा घर भई बुढानीलकण्ठ बस्ने ४१ वर्षीय विष्णुराज उप्रेती र पाँचथर घर भई ललितपुर बस्ने ५८ वर्षीय शन्त कुमार चेम्जोङ रहेका छन् ।

विभिन्न देश पठाउँछु भन्दै उप्रेतीले पाँच लाख ७३ हजार रुपैयाँ र चेम्जोङले १२ लाख रुपैयाँ लिएपछि विदेश नपठाई सम्पर्क विहीन भएको भन्ने पीडितहरुको जाहेरीका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले आइतबार उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।