यार्सागुम्बा टिप्न हिँडेका युवा कर्णालीमा बेपत्ता


मुगु। 

 यार्सागुम्बा संकलन गर्न हिँडेका मुगु जिल्ला स्थित मुगुम कार्मारोङ गाउँपालिकाका एक युवा चिप्लियर मुगु कर्णाली नदीमा खस्दा बेपत्ता भएका छन् ।

मुगुम कार्मारोङ गाउँपालिका—५ सेरोग गाउँका ४० वर्षीय सेराप साग्बु लामा यार्सा संकलन गर्न बुधवार घरबाट हिँडेका थिए ।

यार्सा संकलनका लागि पाटन क्षेत्र जान लाग्दा मुगु कर्णाली नदी पार गर्न राखिएको काठको लाप्कोबाट चिप्लिएर नदीमा खसेको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ ।

यार्सा संकलनका लागि पाटन क्षेत्र जानका लागि सिरानी चौरस्थित मुगु कर्णाली नदीमाथि राखिएको काठको लाप्कोबाट खसेर लामा बेपत्ता भएको मुगुम कार्मारोङ गाउँपालिका उपाध्यक्ष छिरिङ पुटिक तामङले पुष्टि गरे।

उनका अनुसार घटना बुधवार राति ८:३० बजेतिरको हो। सर्वसाधारणका लागि मुगुम कार्मारोङ गाउँपालिकाले जेठ १३ गतेबाट यार्सा संकलनका लागि खुल्ला गरेको सूचना सार्वजनिक गरेको छ। तर, उनीहरू यार्सा टिप्ने समय अगावै पाटनतिर हिँडेको बुझिएको छ।

नदीमा बेपत्ता सेरापको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।