काठमाडौं ।
नीतिगत स्थायित्व नहुँदा अर्थतन्त्रमा पर्ने असर, कोरोना महामारी तथा नाकाबन्दीलगायतका कारणले भएको आर्थिक मन्दीले मध्यमवर्गीय परिवार तथा साना व्यवसायीलाई पारेको असरलाई सजीव तरिकाले चित्रण गरिएको चलचित्र हो, ‘के घर के डेरा : घर नं २’ जुन अहिले सिनेमा हलहरूमा चलिरहेको छ ।
खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, सिर्जना नापित, हरिहर शर्मा, प्रकाश घिमिरे, रमेश बुढाथोकीलगायतका कलाकारहरुको अभिनय रहेको यस चलचित्रमा शहरका हरेक घरको अवस्थालाई प्रतिबिम्बित गर्ने प्रयास गरिएको छ । काठमाडौंका घरबेटीहरूको पीडा र घर भाडामा बस्नेहरुको व्यथा, मिटर ब्याजले दिने तनावलगायतका समाजका सामान्य तर महत्वपूर्ण घटनालाई चलचित्रले दर्शकलाई कुनै न कुनै माध्यमबाट आफ्नै कथाको महसुस गराउने प्रयास गरेको छ ।
नाकाबन्दीका कारण फलफूल तथा तरकारी भन्सारमै अड्किएर कन्टेनरमै कुहिँदा ठूलो आर्थिक नोक्सानी बेहोर्न पुगेका व्यवसायीको मानसिक स्वास्थ्यमा परेको असर, कोभिडका कारण पर्यटन क्षेत्रमा आएको मन्दीले डुबेको पर्यटन व्यवसाय, मिटर ब्याजको चंगुलमा परेको युवा, विवाह इतर सम्बन्धले निम्त्याउने समस्या तथा छिटो पैसा कमाउनका निम्ति रोज्ने गलत बाटो जस्ता विषयलाई चलचित्रमा सरल तरिकाबाट प्रस्तुत गरिएको छ । साथसाथै चलचित्रमा थोरै राजनीति र थोरै बैंकिङ प्रणालीलाई पनि व्यङ्ग गर्दै हाँसो, आँशु र मिलनलाई मिश्रण गरिएको छ । काठमाडौंमा घर हुने मान्छेका दुःख नै हुँदैनन्, घरभाडाबाट मस्ती गरेका छन् भन्ने भाष्यलाई चिर्न खोजिएको छ । हरेक व्यक्तिका आफ्नै कथा, पीडा र संघर्ष हुन्छन् । ‘संघर्ष नै जीवन हो, जीवन संघर्ष, तर जीवनसँग हारेर मर्छु नभन…’ भन्ने सन्देश खगेन्द्र लामिछानेमार्फत चलचित्रले मधुरो ढंगबाट दिन खोजेको छ ।
चलचित्रमा घरबेटीको भूमिकामा आर्यन सिग्देल र केकी अधिकारी छन् । उनीहरु कोभिड र आर्थिक मन्दीका कारण डुबेका व्यावसायिक दम्पत्ति हुन् । नाकाबन्दीका कारण समयमा तरकारी तथा फलफूलको भन्सार जाँचपास नहुँदा व्यवसायीको पीडालाई कलाकार प्रकाश घिमिरेले प्रतिनिधित्व गरेका छन् । त्यस्तै मिटर ब्याजको चंगुल परेको युवाको भूमिकामा निश्चल बस्नेत देखिएका छन् ।

मध्यान्तरसम्म सामान्य तरिकाबाट अघि बढेको चलचित्र अन्तिमको आधा घण्टा निक्कै सशक्त बनेको छ । तर, चलचित्रको कथा हेर्दा सिक् वेल आउने जस्तो देखिएको छ । किनकी हिसाब बाँकी नै रहेको र धेरै प्रश्न अनुत्तरित रहेकाले अर्को कथा बुन्ने देखिन्छ । तसर्थ, चलचित्र १० मिनेटजति छोटो र दृश्यमा विविधता थपेको भए अझै राम्रो देखिन्थ्यो कि र? साथै निश्चल बस्नेतका प्रायस् एकै थरीका भूमिका र अभिनय देखिँदै आएको छ । यसमा उनले पुनर्विचार गर्नुपर्ने देखिन्छ । लोडसेडिङको अन्त्य भएको बेला उपसनाको मैनबत्तीको व्यापार अलि निल्दो देखिन्छ । यसको विकल्पमा अरु खोजेको भए हुन्थ्यो । खगेन्द्र लामिछानेले निभाएको पात्र को हो, घर कहाँ हो र? त्यहाँबाट कहाँ गयो भन्ने प्रश्नको खुलेको छैन, प्रेमीको मिटर ब्याजको ऋण तिर्ने पात्रको पछि भेटघाट हुन्छ कि हुँदैन भन्ने कौतुहलता पनि छ । सायद यी सबै उत्तर अर्को चलचित्रमा आउने छन् ।
समग्रमा सिनेमाटोग्राफर कृष्णबहादुर थापाले खिचेका दृश्य र साउन्ड इफेक्ट फिल्मका उत्कृष्ट प्राविधिक पक्ष हुन् । कवि तथा उपन्यासका बुद्धि सागरको कथामा निर्माण गरिएको फिल्म करिब साढे २ घण्टाको छ । नकिम उद्दिन, शरद श्रेष्ठ, किरण महर्जन निर्माता तथा कार्यकारी निर्माता युवराज कार्की रहेको फिल्मको निर्देशन दीपेन्द्र के खनालले रहेको यस चलचित्रले व्यावसायिक सफलता प्राप्त गर्ने देखिन्छ ।











प्रतिक्रिया