योजना निर्माणमा ज्येष्ठ नागरिकलाई समेट्न माग

ललितपुर– १६ द्वारा ५० जना ज्येष्ठ नागरिक सम्मान


ललितपुर ।

स्थानीय तहको सेवा प्रवाह र योजना निर्माण प्रक्रियामा ज्येष्ठ नागरिकलाई समेट्न माग गर्दै ललितपुर महानगरपालिका–१६ वडा ज्येष्ठ नागरिक समितिले ५० जना ज्येष्ठ नागरिकलाई सम्मान ग¥यो। 

नागबहालमा एक समारोहको आयोजना गरी नेवाः परम्परा अनुसार तेस्रो जंकु महारथारोण (ज्याजंकू) गरिसकेका वा ८२ वर्ष नाघेका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो।सम्मानित हुनेहरुलाई समितिका संयोजक एवं वडा सदस्य पञ्चबज्र बज्राचार्यले सिरकसहित पौष्टिक आहार, वडाअध्यक्ष निर्मलरत्न शाक्यले दोसल्ला ओढाई, वाग्मती प्रदेशसभाका सदस्य रामकृष्ण चित्रकारले सम्मानपत्र प्रदान गरे।

सो अवसरमा सांसद् चित्रकारले ज्येष्ठ नागरिकलाई सम्मान गर्ने संस्कार सभ्यता समाजको परिचायक रहेको विचार व्यक्त गरे।उनले विशेषतः दोस्रो जनआन्दोलनपछि ज्येष्ठ नागरिकलाई सरकार र जनस्तरबाट सम्मान गर्ने क्रम बढेको बताए।

सो अवसरमा वडा सदस्य एवं कार्यक्रम संयोजक पञ्चबज्र बज्राचार्यले ज्येष्ठ नागरिक मैत्री स्थानीय तह बनाउनुपर्ने खाँचो औल्याउँदै त्यसका लागि नीति र बजेटको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

समारोहमा समितिका संयोजक एवं वडाअध्यक्ष निर्मलरत्न शाक्यले वडाले हरेक वर्ष ज्येष्ठ नागरिक सम्मानसँगै ज्येष्ठ नागरिकहरुलाई लक्षित गरी नियमित स्वास्थ्य परीक्षण सञ्चालन गर्दै आएको बताए ।

सो अवसरमा गुरुजु दिपक बज्राचार्यले नेवाः समुदायमा ज्याजंकु अर्थात् रथारोहणको धार्मिक र सांस्कृतिक महत्वबारे आफ्नो भनाई राखे।
समितिका सहसंयोजक राज बज्राचार्य, सचिव आशारत्न शाक्य र समितिका सदस्य अशोक श्रेष्ठले ज्येष्ठ नागरिकको ज्ञान, सीप, अनुभवलाई स्थानीय तहको विकासमा सदुपयोग गर्नुपर्नेमा ध्यानाकर्षण गर्दै त्यसका लागि उपर्युक्त नीति बनाउन माग गरे। 

समितिले यस अघि २०७६ साल वैशाख २० गते शुक्रबार २ सय ३८ र वि,सं २०७८ पुस १० गते शनिवार १ सय जना र २०८० जेठ २७ गते शनिवार ६० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो।त्यसैगरी २०८१ असार १० गते ३५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो।