स्याङ्जा ।
स्याङ्जाको नौडाँडा कार्कीनेटा जोड्ने सडक सधैँ जीर्ण छ । सरकारको लगानी अनुसारको सुधार नहुँदा सडक जीर्ण भएको हो । मर्मत गरेको एक महिनामै सडक भत्किने, कालोपत्रे गरिएको उप्किने भएकाले लगानी अनुसारको प्रतिफल देखिएन । यो सडकको गुणस्तरमा महालेखाले प्रश्न उठाएको छ ।
महालेखापरीक्षकको कार्यालय काठमाडौंले सार्वजनिक गरेको गण्डकी प्रदेशको महालेखापरीक्षकको सातौँ वर्षिक प्रतिवेदन २०८२ अनुसार नौडाँडा कार्कीनेटा सडकको गुणस्तरमा प्रश्न उठाएको हो । प्रतिवेदनमा भनिएको छ, सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२५ बमोजिम निर्माण कार्य सम्पन्न भइसकेपछि सम्झौता बमोजिम निर्माण कार्यको त्रुटि सच्याउने दायित्वको अवधि समाप्त नहुँदै कुनै त्रुटि देखिएमा निकायले सोको यकिन गरी समयमानै दाबी गर्नुपर्ने व्यवस्था छ । तर उक्त निर्माण कार्यमा सो काम गरेको देखिएन भनिएको छ ।
उक्त सडक २१ करोड ८० लाख ९० हजार लागतमा सम्पन्न भएको थियो । विशेष गरी आँधिखोला गाउँपालिकाको सेपत, फुलबारी, बिचारीचौतारा खण्डमा पीचसहितको काम भएको थियो । उक्त निर्माण कार्यको लागि पूर्वाधार बिकास कार्यालय स्याङजाका विशेषज्ञ परामर्शदाता र प्राविधिक समेतको उपस्थितिमा स्थलगत निरीक्षण गरिएको थियो ।
‘निरीक्षणको क्रममा सडकको विभिन्न भागमा कमजोर निर्माण संरचना र प्राविधिक त्रुटीको कारण निर्माण कार्य न्यून गुणस्तरको भइ भूक्षय भएको, सडक सुरक्षाको लागि बनाइएका ग्याबीन संरचना, मेसिनरी र प्लम कंक्रिट कार्य ठाउँठाउँमा बिग्रिएको, ग्रेड नमिलाई माटो कटिङ गरेको कारण जीर्ण भई बिग्रिएको देखियो’ महालेखाको प्रतिवेदनमा भनिएको छ ।
खरीद कानुन तथा सम्झौताको शर्त बमोजिम त्रुटी सच्चाउने अवधिमा उक्त संरचना निर्माण व्यवसायीबाट मर्मत गराउनु पर्ने प्रतिवेदनले सुझाएको छ । प्रतिवेदनमा सडक निर्माणमा देखिएका विभिन्न त्रुटीहरुको तस्बिर समेत राखिएको छ ।
स्थानीयले पनि सडक निर्माणको काम गुणस्तरहीन भएको बताउँदै आएका थिए । उनीहरुले सडक निर्माणमा भ्रष्टचार गरेको आशंका समेत व्यक्त गरेका छन् । सडक निर्माण गरेको पूर्वाधार बिकास कार्यालय स्याङजाले भने यस अवधिमा महालेखाले औल्याएको त्रुटी सच्चाइसकिएको दावी गरेको छ ।
कार्यालय प्रमुख दयाराम अधिकारीले त्रुटी सच्चाउने अवधि १३ महिनाको रहने र यस अवधिमा सच्चाइसकिएको बताउनुभयो । ‘महालेखा परीक्षकको कार्यालयबाट अनुगमनका लागि आउने क्रममा केही त्रुटी देखिएको थियो’, अधिकारीले भन्नुभयो, ‘अहिले ठेकेदारले सम्झौता अनुसार जस्ताको तस्तै बनाइसकेको छ ।’











प्रतिक्रिया