नेपाल टेलिकमको वित्तीय अवस्था निरन्तर ओरालो


काठमाडौँ। 

दूरसञ्चार सेवाप्रदायक सरकारी स्वामित्वको कम्पनी नेपाल टेलिकमको नाफामा उल्लेख्य गिरावट आएको छ । टेलिकमले प्रकाशित गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक विवरणमा सेवा प्रवाहबाट हुने नाफा ३९ करोड २४ लाख रुपियाँ ऋणात्मक देखिएको छ । उक्त अवधिमा कम्पनीको खुद नाफा २० करोड ७१ लाख रुपियाँ रहे पनि बैंक तथा वित्तीय संस्थामा रहेको बचतबाट हुने ब्याजको आय र अन्य आम्दानीलाई छुट्टाउँदा सेवाबाट हुने नाफा ऋणात्मक देखिएको हो । 

कम्पनीको सेवाबाट हुने नाफा दोस्रो त्रैमासमा पनि २३ करोड ५२ लाख ऋणात्मक थियो । कुनै बेला उच्च नाफा कमाउने कम्पनीको पछिल्ला दुई त्रैमासमा लगातार सेवाबाट हुने आम्दानी ऋणात्मक हुँदा टेलिकम क्षेत्र सङ्कटतर्फ धकेलिँदै गएको संकेत गर्ने जानकारहरू बताउँछन् । टेलिकम कम्पनीहरूको आम्दानीको प्रमुख स्रोत भ्वाइस सेवा (आन्तरिक र अन्तर्राष्ट्रिय), इन्टरनेट, एसएमएस, ल्यान्ड लाइन सेवा, रोमिङलगायत हुन् । तर, यसबाटै ९ महिनामा २७ करोड १६ लाख रुपियाँ घाटा देिखँदा टेलिकम व्यवसायले के गर्दा नाफा हुन्छ भन्ने प्रश्न उब्जाएको विज्ञहरुको भनाइ छ ।

टेलिकमको चालू लगानी र नगदलाई रकम हेर्ने हो भने पनि उक्त सम्पत्ति करिब  ३४ अर्ब रुपियाँमा झरेको छ । जबकि ५ वर्षअघि ६२ अर्ब ७ करोड रहेको थियो । प्रतिवेदनअनुसार नेपाल टेलिकमको चालु आवको तेस्रो त्रैमाससम्म समग्रमा खुद नाफा ४८ दशमलव ६७ प्रतिशतले घटेको छ । गत आवको ९ महिनामा ५ अर्ब ५३ करोड ७५ लाख ६२ हजार खुद नाफा आर्जन गरेको टेलिकमले चालू आवको सोही अवधिमा २ अर्ब ८४ करोड २२ लाख ८९ हजारमा सीमित भएको छ ।

त्यस्तै टेलिकमले खुद नाफामा गिरावट आउनुको कारणमध्ये ओभर द टप (ओटीटी) प्लेटफर्म भएको बताइएको छ । ओटीटीको बढ्दो प्रयोगले टेलिकमको भ्वाइस र एसएमएसबाट हुने आम्दानीमा उच्च गिरावट आएको छ । साथै जीएसएमको अनुमति पत्र नवीकरण शुल्क २० अर्ब रुपियाँ भुक्तानी गर्नुपर्ने, प्रतिस्पर्धी इन्टरनेट सेवाप्रदायकहरुको मोबिलिटी गरी वाईफाई सेवा प्रदान गर्दा मोबाइल डाटाको खपतमा उल्लेख्य कमी आउँदा नाफामा असर परेको देखिन्छ । प्रविधि रुपान्तरणमा हरेक वर्ष खर्च गर्नुपर्ने तर आम्दानी भने घट्दै जाँदा कम्पनीमाथि चुनौति थपिएका छन् ।   

टेलिकमको वित्तीय विवरणअनुसार ‘ओटीटी सेवाको व्यापक प्रयोगका कारण विदेशबाट हुने आगमन कलको परिमाणमा असर परेकाले अन्तरआबद्धता आयमा गत आर्थिक वर्षको तुलनामा करिब ५३ करोड ५५ लाख ६६ हजार अर्थात २२ दशमलव ३७ प्रतिशतले कमी आएको छ । ओटीटी सेवाले कम्पनीको समग्र भ्वाइस र एसएमएस सेवाको आयमा नकारात्मक प्रभाव परिरहेको छ’,टेलिकमको मात्रै होइन, एनसेलको आम्दानीमा पनि उल्लेख्य कमी आएको दूरसञ्चार प्राधिकरणको तथ्याङ्क छ । आर्थिक वर्ष २०७४-७५ मा दुवै टेलिकम कम्पनीको आम्दानी ९८ अर्ब ७१ करोड थियो । तर, आव २०७९÷८० मा आइपुग्दा २६ प्रतिशतले ओरालो लागेर ७३ अर्ब १४ करोडमा सीमित भएको छ । आम्दानी घट्नुको अर्को कारण अत्यधिक कर समेत भएको टेलिकमका अधिकारीहरुको भनाइ छ । 

टेलिकम कम्पनीहरुले १३ प्रतिशत मूल्य अभिवृद्धि करबाहेक १० प्रतिशत सेवा शुल्क र दुई प्रतिशत स्वामित्व कर सहित कुल २१ दशमलव २ प्रतिशत करमा तिर्नुपर्छ । त्यसबाहेक स्पेक्ट्रम शुल्क, रोयल्टी शुल्क र ग्रामीण दूरसञ्चार कोषमा बुझाउनुपर्ने चार प्रतिशत रकम कटौती गर्दा रकम ३८ प्रतिशत रकम बचत हुन्छ । त्यसबाट लागत कट्टा, वित्तीय खर्च, अनुमतिपत्र नवीकरण शुल्क र किस्ता ऋणको तिर्दा औसतमा ८ प्रतिशत मात्रै रकम बाँकी रहन्छ । त्यसमा पनि संस्थागत कर तिरेपछि ५ प्रतिशत रकमलाई नाफा मान्न सकिन्छ । साथै दूरसञ्चार कम्पनीहरूले कर्पोरेट कर ३० प्रतिशत बुझाउनुपर्छ, जबकि अन्य क्षेत्रलाई यस्तो कर २५ प्रतिशत मात्रै छ । टेलिकम कम्पनीका आम्दानी निरन्तर घट्दै जाँदा सेवा विस्तार गर्न, नयाँ प्रविधिमा लगानी गर्न तथा समग्र सेवा सञ्चालन गर्न खर्च व्यवस्थापनका हिसाबले दीर्घकालीन रुपमा चुनौती थपिएको छ ।