लमजुङ।
सानैबाट मन सधैं चञ्चल थियो । सानो हुँदा खेल्ने मन थियो, ठुलो हुँदा बुझ्ने मन भयो । तर १८ पुग्नासाथ, यो मन एकाएक चुलबुल भयो । सधैं अरुको लागि सोच्ने, अरुलाई बुझ्ने, सधैं माया र सम्मान दिने यो मन, एक दिन आफैलाई सोध्न थाल्यो- “तँ कहाँ भतारिइरहेको छस् ?“
मन आफै अचम्मित हुन्थे- “मैले त आफ्नै मन बुझिनँ भने अरुले कसरी बुझ्लान ?“ कहिलेकाहीँ लाग्थ्यो, भगवानले आत्मा दिए, मन पनि दिए। तर, मन बुझ्ने दिन बिर्सिए । सायद मेरो भागमा त्यस्तो कोही लेखिएको थिएन ।
मेरी आमा, एक शान्त महिला, सधैं मलाई हेरिरहन्थिन् । कहिले छोरीको आँखाबाट पीडा पढ्थिन्, कहिले मुस्कानको ओढारमा लुकेको एकान्त महसुस गर्थिन् । उनले बुझ्न खोज्थिन्, तर उनको स्पर्शमा एक किसिमको न्यानोपन हुन्थ्यो — जसले भन्न खोज्थ्यो, “म छु, तिमीलाई बुझ्न सक्ने ।“
तर, मन कठोर थियो । आमाको प्रेम पनि कहिलेकाहीँ बोझ लाग्थ्यो । आफैं भित्र लडिरहने, आफ्नो भावनासँग डराउने र सुरु भयो आफ्नै भावना विच अन्तरद्वन्द , अन्ततः एक दिन आफ्नो डायरी खोलेर लेख्न थाले ।
“आखिर कसले हो मन बुझ्ने? मैले नै नबुझेको यो मनलाई । जसलाई मैले एकपल्ट निस्वार्थ प्रेम गरेको थिएँ, उसले त बुझेन भने । आमाको कोमलता, भगवानको अस्तित्व, र तिमी, यी तीन पात्र हुन्, जसमा म मनको आश्रय खोज्थेँ । तर सायद मैले आफैलाई बुझ्न खोजिनँ ।“
त्यस दिनदेखि यो मनले निर्णय ग¥यो — अब अरुलाई बुझ्नुभन्दा पहिले, आफूलाई बुझ्न सिक्नेछु । आफूलाई प्रश्न गर्ने, सुन्ने, र आफूले दिएको उत्तर स्वीकार गर्ने । किनकि आखिरमा — मन बुझ्न सक्ने सबैभन्दा नजिकको पात्र आफै भित्र थियो ।
३२ औं वसन्त पार गर्दै गर्दा आफू भित्रको चञ्चलता भने गुमेको छैन । यो त समयको एउटा बिन्दु हो, यो विन्दुको अन्त्य कहाँ छ त्यहाँ कहिले पुगिन्छ भन्ने कुनै निश्चितता छैन । जीवन यति अनिश्चित छ कि हिजोको भरोसा आजको भ्रम बन्न सक्छ र आजको पर्खाइ भोलिको सम्झना मात्रै ।
म सधैं तिमीमा आशा राख्थेँ, तिमीमै भरोसा गर्थें, लाग्थ्यो तिमी र म — हामी दुई मन कहिल्यै टाढा हुने छैनौं । तर यो मेरो मात्र भ्रम रहेछ । यी दुई मन कहिल्यै साँचो अर्थमा एक हुन सकेनन् । कहिलेकाहीँ भावना त मेल खान्छन्, तर बाटाहरु फरक–फरक ।
अब म बुझ्न थालेको छु — भित्रैबाट, गहिरो अनुभूतिबाट यो मन त अब तिम्रो रहेन । अब त यसको पर्खाइ पनि तिमीप्रति होइन । केवल जिवनको अन्तिम विन्दुलाई कुरिरहेको छ । समयको गतिसँगै मलाई तिमीबाट टाढा लैजानेछ, तिमीलाई बिर्साउनेछ र मलाई एक नयाँ गन्तव्यमा पु¥याउनेछ — जहाँ तिम्रो नाम, तिम्रो अनुहार र तिमी सँग जोडिएको प्रत्येक सम्झना समयसँगै हराउँदै जानेछ । यो एउटा अन्त्य जस्तो देखिए पनि, शायद यहीबाट नयाँ सुरुवात हुनेछ ।
अब त नयाँ पालुवाजस्तै ताजा अनुभूति भएको छ, यो संसार फेरिएको छ, दिशा बदलिएको छ । समयको छायाँसँगै यात्रा पनि मोडिएको छ । म आशा राख्छु कि यो मोडिएको बाटो र बदलिएको मनले मलाई एउटा यस्तो गन्तव्यतर्फ लैजाओस्, जहाँ आशाका किरणहरु झल्किरहेको होस् । जहाँ नयाँ संसार खुल्दछ, मिठा भावनाहरुले सजिएको, सम्मानले भरिएको र सत्कारले आत्मा छुने खालको होस् ।
अब त मनको कुरा सुन्दा–सुन्दै पनि थाकिसकिएझैँ लाग्छ । शायद उसले पनि अब ती भावनाहरु सुन्ने चाहना गुमाइसकेको छ । त्यही भएर होला, मन भन्छ—‘अब अरु कुरा पछि गरौँला’, आजको संवाद यहीँ कतै रोक्नुपर्छ । शब्दहरु मन भित्रनै थुनिएर बसुन्, केही नबोले पनि धेरै कुरा भन्न सकुन् ।











प्रतिक्रिया