रास्वपाका कार्यवाहक सभापति अर्याल र गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्ष डा. केसीसहितका पदाधिकारीबीच छलफल


काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्यालसँग गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्ष डा. बद्रि केसीसहितका पदाधिकारीहरूले आज (मंगलबार) संसदीय दलको कार्यालय सिंहदरबारमा भेटघाट तथा छलफल गरेका छन् । भेटघाटमा गैरआवासीय नेपाली नागरिकता, लगानीसम्बन्धी एनआरएन डेभलपमेन्ट फन्ड, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा, पर्यटन प्रवद्र्धन, संघमा देखिएका समस्यालगायतका विषयमा छलफल भएको थियो ।

कार्यवाहक सभापति अर्यालले गैरआवासीय नेपालीहरुले सरकारबाट पाउनुपर्ने सेवासुविधामा आफू सकारात्मक रहेको र नेपालमा पुँजी मात्रै होइन, सीपहरू पनि भित्र्याएर नेपालको विकासमा लगाउनुपर्ने धारणा राखे । साथै एनआरएनले जुन उद्देश्य प्राप्तिका लागि स्थापना भएको हो सो उद्देश्य प्राप्तिका लागि लाग्नुपर्ने भन्दै एनआरएनएमा देखिएको आपसी विवाद समाधानका लागि आफ्नो तर्फबाट सहयोग र पहल गर्न तयार रहेको बताए ।