कर्णाली र राराकाे पानी बोकेर सगरमाथा आरोहणमा 


मुगु। 

कर्णालीको पानी बोकेर सगरमाथा आरोहण गर्न निस्किएका छन् । ​यसबाट रारा तालको प्रचार प्रसार हुने उनको विश्वास छ। 

रारा ताललाई विश्वमा चिनाउन भन्दै राराको पानी र झन्डा बोकी सगरमाथा आरोहणको यात्रामा निस्कने व्यक्ति छायानाथ रारा नगरपालिकाका–१३ थार्प गाउँका  ४६ वर्षीय अक्कल बोहरा हुन्। 

पूर्व म्याराथन धावक तथा समाजसेवी बोहरा नेपालको सबैभन्दा ठूलो ताल तथा कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारालाई विश्वमा चिनाउन राराको पानी र कर्णाली नदीको पानीसहित चैत्र २९ सगरमाथा आरोहणका लागि निस्किएको  तर्क गर्छन्।

४३ लाखभन्दा बढी खर्चमा टिसिनो ट्रेकर्स एण्ड एकपोटेसन प्रालि मार्फत चैत २९ गते काठमाडौँबाट सगरमाथातर्फ लागेको हो। आफ्नै खर्चमा सगरमाथा आरोहण गर्ने आफू कर्णाली प्रदेशकै पहिलो व्यक्ति भएको बोहराको दाबी छ।

उनले स्पेनमा रारा नामक होटल सञ्चालन गर्दै आएका छन्। बोहराले सगरमाथा आरोहण गरी सगरमाथाको शिरमा रारा तालको झन्डा फरफराई विश्वमा राराको प्रचार प्रसार गर्ने कुराले समग्र मुगुको शिर उचो बनाएको छायानाथ रारा नगरपालिकाका मेयर विष्णुकुमार भामले बताए। 

प्राकृतिक स्रोत, धार्मिक तथा सांस्कृतिक अवस्थाले पर्यटन क्षेत्रको ठूलो सम्भावना बोकेको प्रदेश भए पनि खासै प्रचार प्रसार नदेखिएकाले विश्वमा राराको प्रचार प्रसारका लागि रारा तालको पानी र तालको झन्डा सहित सगरमाथा आरोहणले  समग्र कर्णाली प्रदेशमा पर्यटक बढ्ने बोहराले बताए।