रिलायबल समृद्धि योजना भोलिदेखि सार्वजनिक निष्कासन हुँदै


काठमाडौं
रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्टले रिलायबल समृद्धि योजना नामक म्युचुअल फण्ड वैशाख ३ गतेदेखि सार्वजनिक निष्कासन हुने भएको छ ।

यो फण्ड १० वर्षे बन्दमुखी योजना हो । यसअन्तर्गत १० रुपैयाँ अंकित दरका १० करोड इकाई बिक्रीमा आउनेछन् । यस योजनाको कुल आकार १ अर्ब रुपैयाँ बराबर हुनेछ ।

फण्डमा रहेको १० करोड इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक रिलायबल क्यापिटलका लागि सुरक्षित गरिएको छ । यसरी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो ।

यसमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । आवेदन दिने अवधि वैशाख ७ गतेसम्म रहनेछ तर उक्त अवधिभित्र सबै इकाई बिक्री नभएमा वैशाख १७ गतेसम्म लम्बिन सक्नेछ । लम्बिएको अवधिसम्म पनि कम्तीमा ५ करोड इकाई बिक्री नभएमा उक्त योजना खारेज गरी पन्ध्र दिनभित्र आवेदकको रकम फिर्ता गरिनेछ ।

क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपालले कोष प्रवर्धकलाई केयर एनपी ट्रिपल बी प्लस इस्यूअर रेटिङ्ग दिएको छ भने योजना व्यवस्थापकलाई केयर एनपी एएमसी क्वालिटी ४ प्लस रेटिङ्ग दिएको छ ।

लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालका साथै मेरो शेयर प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन् । यसमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।

यो योजनाको इकाई बाँडफाँड भएको मितिले १० वर्षपछि परिपक्व हुनेछ र परिपक्व भएपछि योजनाको सम्पत्तिलाई नगदमा परिणत गरी इकाईधनीहरूलाई समानुपातिक हिसाबले वितरण गरिनेछ ।