काठमाडौं।
वर्ष २०८१ मा नेपालको होटल क्षेत्रका निम्ति उल्लेखनीय रह्यो । यस वर्ष नयाँ पाँचतारे, चारतारे र पर्यटकीय चेन होटलहरूको तीव्र विस्तारसँगै देशको पर्यटकीय पूर्वाधार अझ बलियो भएको छ । होटल संघ नेपाल (हान)का अनुसार हालै मात्र झन्डै एक दर्जन पाँचतारे र चेन होटलहरू सञ्चालनमा आएका छन् भने अर्काे आधा दर्जन निर्माणको अन्तिम चरणमा छन्।
सञ्चालनमा आएका प्रमुख होटलहरूमा ‘मक्र्योर काठमाडौं’, ‘हिल्टन काठमाडौं’, ‘रोयल टुलिप’, ‘वेस्ट वेस्टर्न प्लस’, पोखराको ‘टेम्पल बेल बुटिक होटल एन्ड स्पा’, दमौलीको ‘सिद्धार्थ होटल दमौली’, भरतपुरको ‘सेन्ट्रल प्लाम होटल’ र मेगौलीको ‘साराङ वाइल्डलाइफ स्याङचुरी’ लगायत छन्।
यसअघि मेरियट, रमादा, दूसित थानी, ह्यात प्यालेस, अलफ्ट जस्ता चेन होटलहरू काठमाडौँ, पोखरा, लुम्बिनी, नेपालगञ्जलगायत क्षेत्रमा खुलेका छन्।
पर्यटन विभागका अनुसार हाल नेपालमा ३३७ पर्यटकस्तरीय होटल सञ्चालनमा छन ्। तीमध्ये २३ वटा पाँचतारे, ४१ वटा चारतारे, ३७ वटा तीनतारे र अन्य विभिन्न तहका बुटिक तथा रिसोर्ट होटलहरू छन् । हानका अनुसार १२ खर्ब रुपियाँभन्दा बढीको लगानी र वार्षिक ३५ लाख पर्यटक धान्न सक्ने क्षमता नेपालका होटलहरूमा भइसकेको छ । नेपाल पर्यटन बोर्डले होटललगायत पूर्वाधारमा लगानी बढेसँगै अन्तर्राष्ट्रिय प्रचारप्रसारमा जोड दिएको जनाएको छ।
सन् २०२४ मा साढे ११ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार गत वर्षको जनवरीदेखि डिसेम्बर महिनासम्म ११ लाख ४७ हजार ५६७ पर्यटक नेपाल भ्रमणमा आएका हुन्। बोर्डका निर्देशक मरिणराज लामिछानेका अनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा १४ प्रतिशतभन्दा बढी पर्यटक आगमन बढेको छ । त्यस्तै सन् २०२५ को पहिलो तीन महिनामा २ लाख ९८ हजार पर्यटक नेपाल भित्रिएका थिए । जसमध्ये जनवरीमा ७९ हजार नौ सय र फेब्रुअरीमा ९६ हजार आठ सय पर्यटक नेपाल आएका थिए भने मार्च महिनामा १ लाख २१ हजार ८ सय विदेशी पर्यटक आएका छन् ।
नेपालको होटल क्षेत्रले भौतिक पूर्वाधार निर्माणमा उल्लेख्य प्रगति गरिसकेको अवस्थामा अब डिजिटल युगसँग सुसंगत रणनीति आवश्यक छ। डिजिटल घुमन्तेहरूलाई आकर्षित गर्न स्पष्ट, लचिलो र प्रतिस्पर्धी नीति निर्माण गरेमा होटल क्षेत्रले पर्यटनसँगै ज्ञान–आधारित अर्थतन्त्रमा पनि टेवा पु¥याउने सम्भावना प्रवल रहेको विश्लेषकहरूको मत छ।
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले नेपालमा डिजिटल घुमन्ते लाई लक्षित नीति आवश्यक भएको औंल्याएको छ। आयोगका अनुसार वैदेशिक मुद्रा आर्जन, दक्ष श्रमिकको पलायन नियन्त्रण, पर्यटन प्रवद्र्धन तथा ज्ञानमा आधारित अर्थतन्त्रको विकासका लागि डिजिटल घुमन्तेहरूको प्रवेशलाई सहज बनाउने नीति निर्माण गरिनुपर्नेछ।यसका लागि प्रवेश भिसा नीति सुधार, स्वास्थ्य बिमा प्रणालीको व्यवस्थित रूपरेखा, आधुनिक कार्यस्थलको पहुँच र सुविधासम्पन्न पूर्वाधार विकास गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। डिजिटल घुमन्तेहरूको सुविधाका लागि काठमाडौँ, पोखरा, लुम्बिनी र भरतपुर जस्ता प्रमुख सहरहरूमा उच्चगुणस्तरीय इन्टरनेट, को–वर्किङ स्पेस र सेवा पहुँचयुक्त वातावरण तयार पार्न विशेष सुझाव दिइएको छ ।
प्रतिक्रिया