वायु प्रदूषणका कारण पर्यटन क्षेत्र प्रभावित


काठमाडौं ।

वायु प्रदूषण बढ्दै जाँदा नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर परेको सरोकारवालाहरूले बताएका छन् । उनीहरूका अनुसार प्रदूषणका कारण नेपाल आउने पर्यटकहरूले भ्रमण तालिका छोट्याउने वा रद्द गर्ने क्रम बढ्दै गएको छ।

नेपाल वातावरण पत्रकार समूह र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा शनिबार राजधानीमा भएको ‘पर्यटन क्षेत्रमा वायु प्रदूषणको असर’ विषयक अन्तरक्रियामा वक्ताहरूले काठमाडौं विश्वकै उच्च प्रदूषित सहरमध्ये सूचीकृत हुन थालेपछि पर्यटन उद्योग संकटतर्फ उन्मुख भएको बताएका हुन्।

प्रदूषणकै कारण नियमित हवाई उडानमा समस्या, स्वास्थ्यसम्बन्धी विविध समस्या देखिनु, पर्यटकहरूले हिमश्रृंखला अवलोकन गर्न नपाउनु जस्ता कारणले गर्दा उनीहरूमा निराशा बढेको र यसले पर्यटन क्षेत्रमा दीर्घकालीन असर पार्ने खतरा देखिएको सरोकारवालाहरूको भनाइ थियो ।

कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन उद्योगले हरित अर्थतन्त्रमा योगदान गरिरहे पनि प्रदूषणका कारण नेपालको सुन्दर छविमा आँच आउन थालेको चिन्ता व्यक्त गरे । उनले नेपालको कुल ग्राहस्थ उत्पादन (जिडीपी)मा पर्यटन क्षेत्रको योगदान महत्त्वपूर्ण भए पनि राज्यको प्राथमिकतामा अझै नपरेको गुनासो गरे। उनले भने, ‘पर्यटन क्षेत्रबाट १० लाखभन्दा बढी प्रत्यक्ष तथा परोक्ष रोजगारी सिर्जना भएको छ। अब जलवायु परिवर्तन तथा वातावरण प्रदूषणजस्ता जोखिम घटाउँदै नीतिगत सुधारमा केन्द्रित हुनुपर्छ । ’

नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले मौसम पूर्वानुमान प्रणाली सुदृढ हुँदै जाँदा पर्यटन क्षेत्रमा सकारात्मक असर देखिएको भए पनि वायु प्रदूषणले त्यो फाइदा ओझेलमा परेको बताए। उनले प्रत्येक पालिकाले वन डढेलो नियन्त्रण तथा प्रदूषण रोकथाममा प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंसहित देशका विभिन्न भागमा पछिल्लो समय वायु गुणस्तर सूचकांक स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण अवस्थामा पुगेपछि अस्पतालमा श्वासप्रश्वाससम्बन्धी रोगीको संख्या बढेको छ।

वायु गुणस्तर विज्ञ डा। भूपेन्द्र दासका अनुसार नेपालमा वायु प्रदूषणका प्रमुख स्रोतहरूमा अन्तरदेशीय धुलो, कृषि क्रियाकलाप, कलकारखाना, खुला क्षेत्रमा बालिने फोहोर, वन डढेलो र पुराना सवारी साधन पर्छन्।उनले भने, ‘९० प्रतिशतभन्दा बढी वायु प्रदूषण तराई क्षेत्रमा हुने गरेको अध्ययनले देखाएको छ । बाँकी साढे ६ प्रतिशत मध्य पहाड र ३ प्रतिशत हिमाली क्षेत्रबाट हुन्छ ।’

मौसमविद् डा। इन्दिरा कँडेलले हिउँदे र मनसुन पूर्वाद्धको वर्षाले प्रदूषण कम गर्न सघाउने भए पनि स्थायी समाधानका लागि आन्तरिक रूपमा नीतिगत तथा व्यवहारगत सुधार आवश्यक रहेको उल्लेख गरिन् । कार्यक्रममा वातावरण पत्रकार समूहका अध्यक्ष चन्द्रशेखर कार्की, नाट्टा सचिव विष्णु पाण्डे, पर्यटन व्यवसायी चक्र कार्कीलगायत वक्ताहरूले वायु स्वच्छ नहुँदासम्म पर्यटन क्षेत्रले दीर्घकालीन लाभ लिन नसक्ने धारणा राखेका थिए । वक्ताहरूको निष्कर्ष थियो— स्वच्छ वातावरण विना दिगो र आकर्षक पर्यटन सम्भव छैन ।

पहिलो सातासम्मको विश्लेषण अनुसार ८१।२ प्रतिशत दिनमा वायु गुणस्तर सूचकांक ९एक्यआई० १८० भन्दा माथि मापन गरिएको छ, जुन ‘अस्वस्थकर’ श्रेणीमा पर्छ । यस्ता धेरै दिनहरूमा काठमाडौं उपत्यकाको एक्यआई ३०० नाघेर ‘निकै अस्वस्थकर’ देखि ‘खतरनाक’ तहसम्म पुगेको पाइएको छ ।

९० दिनको विश्लेषणमा ७५ दिन प्रदूषित रहेका छन्। यो प्रदूषण संकट काठमाडौं उपत्यकामा मात्र सीमित नरही देशभर फैलिएको छ । देशका विभिन्न स्थानमा पीएम २।५ ९स–साना धुलो कणहरू० को मात्रा नेपालको राष्ट्रिय वातावरणीय वायु गुणस्तर मापदण्डअनुसार २४–घण्टे औसत ४० माइक्रोग्राम प्रति घन मीटर र विश्व स्वास्थ्य संगठनको २४–घण्टे औसत १५ माइक्रोग्राम प्रति घन मीटरको मापदण्ड दुवैभन्दा माथि पुगेको देखिन्छ ।

यो स्थितिका पछाडि अनेकौँ स्रोतहरू जिम्मेवार छन्-जसमा सवारी साधनबाट निस्कने धुवाँ, जीवाश्म इन्धन तथा दाउरामा आधारित खाना पकाउने प्रणाली, सडक तथा निर्माणस्थलको धुलो, इँटाभट्टा, र विशेष गरी अत्यधिक सुक्खा अवस्था र वर्षाको अभावका बीच फैलिएको वन डढेलो प्रमुख छन्।

यी उत्सर्जनहरूमा थप समस्या उत्पन्न गर्ने वातावरणीय अवस्था पनि जोडिएको छ-जसमा न्यून वायुगतिको अवस्था, बढ्दो तापक्रम, घट्दो आद्र्रता, र छिमेकी तथा पारवासी क्षेत्रहरूबाट आउने प्रदूषणको प्रभावले समग्र प्रदूषणलाई गम्भीर बनाइरहेको छ। यी सबै कारणहरूले मिलेर वायु प्रदूषणको यो लम्बिँदो र फैलिँदो संकट गम्भीर सार्वजनिक स्वास्थ्य जोखिमका रूपमा उभिएको छ।