२०८१ मा नेपाली खेलकुद नेतृत्वको लापरबाहीले भरिएको वर्ष

1.13k
Shares

वर्ष २०८१ नेपाली खेलकुदका लागि सम्भावना, समर्पण र संघर्षको मिश्रण बन्यो । एउटा पाटोमा खेलाडीहरुले मेहनत, प्रतिबद्धता र सपना बोकेर कीर्तिमानी प्रदर्शन गरे । अर्कोतर्फ उनीहरूमाथि जिम्मेवार निकायको चरम लापरबाहीले निरासा थपिरह्यो । खेलकुदको नेतृत्वमा बसेका निकायहरु पद, प्रभुत्व र व्यक्तिगत स्वार्थको खेलमा अल्झिँदा, खेलाडी र देश दुवैले ठूलो मूल्य चुकाउनु प¥यो ।

वर्ष २०८१ नेपाली खेलकुदमा उपलब्धिको भन्दा बढी बेवास्ताको वर्ष बन्यो। जहाँ खेलाडी अनुशासन, समर्पण र मेहेनतको बलमा अगाडि बढ्न चाहन्थे, त्यहीं जिम्मेवार निकायहरूले उनीहरूको बाटो छेक्दै आए । नेतृत्वले नीति, योजना र दीर्घकालीन सोचभन्दा पद र प्रभावको राजनीति खेलिरहँदा, खेलाडीहरूको सपना अधुरो बन्दै गएको छ । त्यसैले २०८१ नेपाली खेलकुदका लागि अवसर गुमाएको र नेतृत्वले खुसी खोसेको वर्षका रूपमा सम्झिनेछ ।

पलेशा गोवर्धनले नेपाललाई पेरिस पारालिम्पिक्समा ऐतिहासिक पहिलो पदक दिलाउनु २०८१ सालमा नेपाली खेलकुदले पाएको सबैभन्दा सुखद क्षण बन्यो । विगत ६ दशकदेखि नेपालले ओलम्पिक्समा सहभागिता जनाउँदै आएको छ । तर, कुनै पनि खेलाडीले ओलम्पिक्समा एक खेल समेत जित्न सकेका थिएनन् । पलेशाले नेपाललाई पदक जितेर नेपाली खेलकुदलाई गुण लगाइदिएकी छन् । के – ४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समुह शुक्रवार कास्य पदक जित्दै पलेशा नेपालको लागि ओलम्पिक्स र पारालिम्पिक्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएकी हुन् । पलेशाले जितेको कास्य पदक नेपाली खेलकुदकै अहिलेसम्मकै सबैभन्दा ठूलो पदक हो । यो बाहेक पेरिसमा नै भएको ३३औं ग्रीष्मकालीन ओलम्पिक्समा भने नेपालको प्रर्दशन सदा झै निरासाजनक नै रह्यो ।

१०औं राष्ट्रिय खेलकुद हुन सकेन
वर्ष २०८१ मा दसौं राष्ट्रिय खेलकुद हुन सकेन । मंसिर २–९ मा आयोजना गर्ने भनिएको प्रतियोगिता सुरुवातमै अलपत्र प¥यो । दोस्रो मिति तय गरिए पनि चैत्र २३–३० मा पनि हुन सकेन । त्यसपछि २०८२ को जेठ ३ देखि १० सम्म गर्ने भनेर दोस्रो पटक मिति सरियो । त्यो पनि नहुने पक्का भएको छ । बहाना फेरिए, बजेट अभाव, तयारी अपूरो, तर वास्तविक कारण नेतृत्वको अदूरदर्शिता र प्राथमिकताको अभाव कारण यस्तो भएको हो ।
यसैबीच खेलाडीहरू, जसले राष्ट्रियस्तरमा उत्कृष्ट प्रदर्शन गरेर अन्तर्राष्ट्रिय प्रतियोगिताका ढोका खोल्न खोजिरहेका थिए, निरास भएर वर्षभर प्रतिक्षामै रहन बाध्य भए । कतिपय त अन्तर्राष्ट्रिय अवसरको खोजीमा देश छाड्न विवश भए ।

एन्फा एकेडेमीका ६ बालखेलाडीको मृत्यु
१२ असोज २०८१ नेपाली फुटबल इतिहासको कालो दिन । मकवानपुरको सिस्नेरीमा रहेको बत्सलादेवी माविमा प्रशिक्षणरत ६ बालबालिकाले एन्फाको लापरबाहीका कारण ज्यान गुमाए । पहिरोको उच्च जोखिममा रहेर पनि उनीहरूलाई सुरक्षित स्थानमा सार्ने कुनै प्रयास नगरिए पछि यस्तो दुःखद घटनाको साक्षी बन्यो २०८१ । पूर्व सूचना दिएर कुलेखानी जलविद्युतले सावधानी अपनाउन आग्रह गरे पनि एन्फा बेखबर रह्यो। प्रशिक्षार्थी बालकहरूको मृत्युपछि उठेका प्रश्नहरू अहिलेसम्म जवाफविहीन छन् ।
भएन ए डिभिजन लिग
फुटबलको प्रतिष्ठित ए डिभिजन लिग वर्ष २०८१ मा पनि हुन सकेन । यसले गर्दा खेलाडीहरूलाई व्यावसायिक अवसर मात्र होइन, प्रगतिको बाटोसमेत बन्द गरिदियो । विभिन्न गोल्डकपहरूमा सहभागी हुन बाध्य क्लब र खेलाडीहरू भित्रभित्रै खिन्नता र अन्योलमा रहे । सालको अन्त्यतिर नेपाल सुपर लिग (एनएसएल) ले आशा जगाउने प्रयास गरे पनि दर्शकहरूको उत्साह फर्काउन सकेन । फुटबल नेतृत्वभित्रको खिचातानी, योजना विहिनता र पारदर्शिताको अभावले खेलाडीले पलायनको बाटो रोज्न थालेका छन् ।
ओलम्पिक विवाद
नेपाल ओलम्पिक कमिटीभित्रको विवादले अन्तर्राष्ट्रिय तहमा समेत चिन्ताको विषय बन्यो । जीवनराम श्रेष्ठले तेस्रो कार्यकालमा पदासीन हुनाका लागि विधान संशोधनदेखि भर्चुअल निर्वाचनसम्म गर्न भ्याए । यसविरुद्ध मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदले कडा आपत्ति जनाउँदै मुद्दा अदालतसम्म पु¥याए । अहिले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले समर्थन देखाए पनि नेपाल सरकारले भने आधिकारिक मान्यता दिएको छैन । यस्तो परिस्थितिमा नेपाली खेलाडीको अन्तर्राष्ट्रिय सहभागिता नै अन्योलमा पर्न थालेको छ । सरकारले नेपाल ओलम्पिक कमिटीको भवनमा तालाबन्दी गरेको छ । सरकारी हस्तक्षेपविरुद्ध इन्टरनेसनल ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल एसियाले पनि विवाद समाधान जोड दिन पत्रमार्फत पहल गरिरहेको छ । नव वर्ष २०८२ सुरुवातसँगै यो विवाद समाधान हुने अपेक्षा गरिएको छ । यदि यो विवाद यथाशीघ्र समाधान नभएमा नेपाली खेलकुदको दुर्भाग्य हुनेछ । किनभने आसन्न १४औं दक्षिण एसियाली लगायत अन्य अन्तराष्ट्रीय प्रतियोगितामा नेपाल सहभागितालाई लिएर यसले अन्योल सिर्जना गर्नेछ ।