काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका स्वकीय सचिव भूपदेव शाह र कामु प्रहरी प्रमुख राजुनाथ पाण्डेलगायत सचिवालय सदस्यको नाममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा १४ बुँदे उजुरी परेको छ ।
उजुरीपत्रमा सबै कामको सेटिङ मेयरको सचिवालयले गरेको आरोप लगाइएको छ । यद्यपि, उजुरीकर्ताको परिचय भने खुलाइएको छैन । उजुरीमा नियमविपरित फ्रान्स भ्रमणमा पुगेका बालेन्द्रका दुई सचिवालय सदस्यको विषयसमेत उठान भएको छ । नेपाल समाचारपत्रसँग प्राप्त उजुरीपत्रको नक्कलअनुसार रंगीन फुटपाथदेखि खरिद गरिएका सबै विषयको सेटिङमा टेन्डर गरेको विषय उल्लेख छ ।
यस्तो सेटिङ गर्नेमा मेयरका स्वकीय सचिव शाह र कामु प्रहरी प्रमुख पाण्डेको समेत नाम जोडिएको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न नदिएर रोक लगाउनेसम्मको हर्कत गरेका यी दुई जनाले कामपामा आतंक मच्चाएको आरोप लागेको छ ।
मेयर साहका स्वकीय सचिव भुपदेव शाहमात्र होइन, सचिवालयको विभिन्न विभागको जिम्मा लिएको दाबी गरेका कुमार व्यञ्जनकार, सुदिप ढकाल, सन्तोष पाण्डे, शैलेन्द्र झा, नवीन भण्डारी, विनय शाक्यलगायत सचिवालयका सदस्यले मेयर साहको हवाला दिँदै अनधिकृत काम गर्ने गरेको उजुरी प्रधानमन्त्री कार्यालयमा परेको छ । हरेक कामको टुक्रे ठेक्का लगाउने, वातावरण विभागमा हस्तक्षेप गरी अधिकांश काम गर्ने, सवारीसाधन खरिददेखि नक्सा स्वीकृत गर्नेसम्मको काममा सचिवालय जोडिएको छ ।
उच्चस्रोतका अनुसार पछिल्लो समय ४ सय ५० स्मार्टबोर्ड खरिद गर्दा समेत अनियमितता भएको छ । स्मार्टबोर्ड खरिद गर्न कामपाका शिक्षा सल्लाहकार शैलेन्द्र झाको स्पेसिफिकेसनको आधारमा उक्त बोर्ड खरिद गरेको पाइएको छ । सो बोर्ड खरिद गर्न टेन्डर प्रक्रियामा सचिवालयकै हस्तक्षेप भएको छ । हाल ती बोर्ड जडान हुने क्रममा रहेका छन् ।
कार्यपालिका बैठकबाट स्वकीयसचिव नियुक्त भएका शाह र मेयर आएदेखि नियमविपरीत कामु प्रहरी प्रमुख रहेका पाण्डेले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई प्रवेश गर्न सहयोग गर्ने कर्मचारीको नाम संकलन गरिरहेको बताइएको छ । कामपाको वातावरण व्यवस्थापनदेखि कारबाही गर्नेसम्मको जिम्मा लिएका पाण्डेले स्वकीयसचिव शाहकै सल्लाहमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई तीनकुनेमा फोहोर गरेको आरोपमा जरिवानापत्र काटेका थिए । नक्सा स्वीकृतदेखि अनधिकृत बनेका संरचनाका सवालमा आफूखुसी कारबाही गर्न प्रहरी परिचालन गर्ने अधिकार बोकेका कामु प्रहरी प्रमुख पाण्डेले अधिकांश कर्मचारीको विषयमा मेयर बालेन्द्र साहलाई नकरात्मक विवरण दिने गर्नुभएको कर्मचारीहरूको गुनासो छ ।
कानुनतः प्रमुख प्रशासकीय अधिकृतको मातहतमा प्रहरी प्रमुख रहनुपर्ने व्यवस्था छ । त्यसविपरीत कार्यकारी अधिकृत गुरागाईंलाई कार्यालयमा प्रवेश गर्न रोक लगाउने र कर्मचारीको रेकर्ड राखेर कारबाही गर्नेसम्मको धम्की दिने गरेका पाण्डेमाथि कारबाही गर्ने तयारी भएको बुझिएको छ । प्रमुख प्रश्सासकीय अधिकृत गुरागार्इं कार्यालय प्रवेश गर्ने दिन उहाँको सवारी साधनमा ह्विल लक गर्ने र कार्यकक्षमा ताला लगाउने जस्ता गम्भीर विषयमा कामु प्रहरी प्रमुख पाण्डेमाथि कारबाही गर्ने तयारी भइरहेको हो । उच्चस्रोतका अनुसार अधिकार नै नभएको विषयमा हस्तक्षेप गर्ने स्वकीय सचिव शाहमाथि पनि कस्तो कारबाही गर्ने भन्ने विषयमा छलफल भइरहेको छ । उपमेयर सुनिता डंगोलदेखि सबै कर्मचारीलाई जेल हाल्नेसम्मको धम्की दिएका शाहको विषयमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा समेत कुरा पुगेको छ ।
आफ्नो अधिकार क्षेत्र बिर्सेर मेयर साहलाई उक्साउने र हरेक विषयमा कामु प्रहरी प्रमुख पाण्डेलाई अघि सारेर अनधिकृत काम गर्न उक्साउने स्वकीय सचिव शाहको विषयमा कार्यपालिकाको बैठकमा छलफल हुने भएको छ । मेयर साह र उहाँको टिमले गरेको अनियमितताको विषयमा अख्तियारले समेत छानबिन शुरू गरेको छ ।
३५ वटा एम्बुलेन्स खरिद गरेको विषयमा अख्तियारले मुद्दा नम्बर समेत दिएर छानबिन प्रक्रिया अघि बढाइसकेको अवस्थामा स्वकीय सचिव शाहले सचिवालयको हौवा दिँदै सो घटनामा आफ्नो कुनै संलग्नता नभएको भन्दै विज्ञप्ति जारी गर्नुभएको छ । यद्यपि, उक्त विज्ञप्ति कसले जारी गरेको हो खुलेको छैन ।
सामान्यतः सचिवालयको तर्फबाट हस्ताक्षर गरेर विज्ञप्ति जारी गर्ने प्रचलन छ । मेयर र उहाँको सचिवालयको विषयमा प्रश्न उठ्दा भने कामपाले विज्ञप्ति जारी गर्नुपर्ने प्रचलन छ । तर स्वकीयसचिव शाहले चलानी नम्बर उल्लेख नगरी प्रमुखज्युको सचिवालयको हवाला दिएर अख्तियारको उजुरीको विषयलाई खण्डन गर्न खोज्न्ुभएको छ । सो विषयमा स्वकीय सचिव शाहसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन । स्वकीय सचिव शाह जोडिएको हरेक समाचारबारे जानकारी लिन खोज्दा उहाँ सम्पर्कमा आउनुभएको छैन ।
प्रतिक्रिया