ओली, देउवा र प्रचण्डलाई २५ वर्ष दिए पनि देश बन्दैन : राजेन्द्र लिङ्देन


काठमाडौँ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले हालका प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई २५ वर्षसम्म प्रधानमन्त्री बनाए पनि देश नबन्ने बताएका छन्।

मंगलवार पार्टीले काठमाडौँको बल्खुमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले ओली, देउवा र प्रचण्ड जति सत्तामा बस्यो उति नै देश बर्बाद हुने बताए ।

उनले भने, ‘म आदरपूर्वक कांग्रेस, एमाले र माओवादीका साथीहरूलाई भन्न चाहन्छु, तीन नेताको पनि नाम लिन्छु, ओलीलाई कति वर्ष प्रधानमन्त्री बनाए देश बन्ला ? त्यसपछि शेरबहादुर देउवाको पालो भनिएको छ, कति वर्ष बनाउने, कि बाँचुन्जेल ? कि प्रचण्डलाई सत्तामा फर्काएर देश बन्छ, ५ वर्ष होइन यी तीनजनालाई २५ वर्षसम्म प्रधानमन्त्री बनाए पनि देश बन्नेवाला छैन, यिनीहरूलाई जति दिन राख्यौँ, त्यति दिन देश बर्बाद हुनेवाला छ।’