रास्वपा सभापति लामिछाने कारागार चलान, एक घण्टा स्वास्थ्य परीक्षणपछि ब्लक नम्बर ४ मा राखियो 

3.67k
Shares

बुटवल। 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं  गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने रुपन्देहीको भैरहवाको कारागार चलान भएका छन् । दुई दिन जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा राखिएका लामिछाने सोमबार जिल्ला कारागार चलान भएका हुन् । सोमबार बिहान जिल्ला अदालत पेस गरेर आवश्यक प्रक्रिया पूरा गरिएपछि उनलाई कारागार चलान गरिएको थियो । अदालत पेस गरेपछि उनलाई थुनुवा पुर्जी दिइएको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका  प्रहरी नायव उपरीक्षक सुरज कार्कीको नेतृत्वको टोलीले लामिछानेलाई अदालत पेस गरे लगत्तै थुनुवा पुर्जी प्रदान गर्ने प्रक्रिया पूरा गरेर कारागार लगिएको थियो । जिल्ला प्रहरीको टोलीले सोमबार बिहान कार्यालय समय भएपछि बुटवल पुगेर उच्च अदालतको आदेशको मिसिल बुझेको थियो । मिसिल बुझेर भैरहवा ल्याएपछि जिल्ला प्रहरीको हिरासतबाट लामिछानेलाई अदालत पेस गरिएको थियो ।

जिल्ला कारागारका प्रशासक सुरेश भण्डारीका अनुसार करिब एक घण्टासम्म कारागारमा लामिछानेको स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसपछि लामिछानेलाई कारागारको ब्लक नम्बर ४ मा राखिएको छ । उक्त कारागारमा अहिले लामिछाने मात्रै रहेको प्रशासक भण्डारीले बताए ।

लामिछानेलाई राखिएको कक्ष अन्य कैदीबन्दीलाई राखिएका भवन भन्दा बाहिर रहेको छ । शुक्रवार राति काठमाडौँबाट पक्राउ गरेर लामिछानेलाई शनिवार बिहान भैरहवा ल्याइएको थियो । दुई दिन बिदा भएपछि उनलाई शनिवार र आइतबार जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा राखिएको थियो ।

सोमबार बिहान अदालत लैजानु अघि सदरमुकाम भैरहवाको सुरक्षा व्यवस्था कडा तुल्याइएको थियो । जिल्ला प्रहरीबाट अदालत जाने बाटो र अदालत परिसर आसपास नेपाल र सशस्त्र प्रहरी तैनाथ गरिएको थियो । त्यस्तै जिल्ला कारागार परिसर र आसपास पनि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले शुक्रवार थुनामा राख्न आदेश दिएपछि प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो ।

जिल्ला अदालत रूपन्देहीले दिएको एक करोड धरौटी लिएर छाड्ने आदेश बदर गर्दै उच्च अदालतले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो । माघ १३ गते जिल्ला अदालत रूपन्देहीले रवि लामिछानेलाई एक करोड धरौटी रकम माग गरेको थियो भने छविलाल जोशीलाई माघ २९ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो । 

समान प्रकृतिको मुद्दामा एकजनालाई धरौटी र अर्कालाई थुना भएपछि सरकारी वकिल कार्यालयले लामिछानेलाई पनि थुनामै राख्नुपर्ने माग गर्दै उच्च अदालत पुगेको थियो ।