लोकप्रिय निर्देशक दीपेन्द्र के खनालद्वारा निर्देशित फिल्म के घर के डेरा: घर नं २ ले एकसाथ ३ पोस्टर रिलिज गर्दै आगामी जेठ २ मा रिलिज गर्ने घोषणा गरेको छ।
तीनमध्ये एकमा निश्चल बस्नेतलाई सोलो रूपमा प्रस्तुत गरिएको छ। जसमा निश्चल कतै पुग्न हतार भएझैँ गरी कुदिरहेको देखिन्छन्। दोस्रो पोस्टरमा अर्का अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री उपासना सिंह ठकुरीलाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको छ। हातमा केही सामान बोकेर झोला भिरेर हिँडिरहेकी उपासनालाई अभिनेता खगेन्द्रले साइकल डो¥याउँदै र मुस्कुराएर पछ्यारहेको देखिन्छ, त्यस्तै अर्को पोस्टरमा फिल्मका अधिकांश मुख्य पात्रलाई प्रस्तुत गरिएको छ।
पोस्टरमा पात्रहरूलाई तीन तले घरको तल्लाका विभिन्न कोठाको झ्यालमा भएझैं गरी डेरा जिन्दगीमा उनीहरूको मनोदशामा प्रस्तुत गरिएको छ। जसमा एकातर्फका कलाकार कोही गम्भीर भाव त कोही चिन्तित मुद्रामा छन् भने अर्को तर्फको भागमा फिल्मका खुशी मुद्रामा पात्रलाई प्रस्तुत गरिएको छ। यो पोस्टरमा अभिनेता आर्यन सिग्देल, खगेन्द्र लामिछाने र अभिनेत्री केकी अधिकारीलाई गम्भीर, चिन्ताग्रस्त र गम्भीर भावमा देखाइएको छ भने अर्को तर्फ निश्चललाई खुशी अवस्थामा, अभिनेता प्रकाश घिमिरेलाई उपसनासँग खुशी मुडमा र श्रृजना नापितलाई खुशी भइरहेको देखाइएको छ।
एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियसनको ब्यानरमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जनद्वारा निर्मित फिल्ममा कर्नाली ब्लुज, एक्लो, फिरफिरेजस्ता उपन्यासका लेखक बुद्धि सागरको लेखन र कृष्णबहादुर थापाको छायांकन रहेको छ। युवराज कार्की कार्यकारी निर्माता रहेको फिल्ममा आर्यन सिग्देल, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरेलगायतका कलाकारले अभिनय गेरेका छन्।
प्रतिक्रिया