सञ्चार क्षेत्रसामू अर्थमन्त्री पौडेलको प्रतिबद्धता : ढुक्क हुनोस्, आफ्नो क्षमताले भ्याएसम्म सरकारले सहयोग गर्छ


काठमाडौं ।

 उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकार नेपाली सञ्चार क्षेत्रको विकास र समृद्धिमा सधैँ सकारात्मक रहने प्रतिबद्धता जनाएका छन् ।

प्रेस चौतारी नेपालका नवनिर्वाचित पदाधिकारीसँग अर्थ मन्त्रालयमा भएको भेटमा उपप्रधान तथा अर्थमन्त्री पौडेलले पत्रकारको पक्षमा सरकार सदैव सकारात्मक रहेको र पत्रकारले सरकारको कमी कमजोरी औँल्याउनु पर्ने बताए ।

अर्थमन्त्री पौडेलले पत्रकारले राष्ट्र निर्माणको लागि योगदान गर्नुपर्ने पनि बताए । ‘सरकार सञ्चार क्षेत्रको विकास र गुणस्तर कायम होस भन्ने चाहन्छ । आफ्नो सामर्थ्यले भ्याएसम्म सहयोग गर्छ । सीमित स्रोत साधनको बाबजुद सञ्चार क्षेत्रको विकासमा सघाउन चाहन्छ । आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्छ भन्नेमा तपाईंहरु ढुक्क हुनोस्,’ नेकपा एमालेका उपाध्यक्षसमेत रहेका  उपप्रधान तथा अर्थमन्त्री पौडेलले भने ।

पछिल्लो समय सत्यलाई ओझेलमा पार्ने गरी अफवाह फैलाउने अभियान चलाइएको भन्दै उनले त्यसप्रति नेपाली सञ्चार जगत सचेत रहनुपर्ने र सत्यलाई स्थापित गर्ने कुरामा अब्बल भूमिकामा उत्रनुपर्ने सुझाव पनि दिए । प्रेस चौतारी नेपालको नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना दिँदै उपप्रधानमन्त्री पौडेलले सरकारले गरेका सकारात्मक कामको प्रचार र सुधार गर्नुपर्ने क्षेत्रमा सुझाव दिन पनि आग्रह गरे ।

यस्तै मन्त्री पौडेलले पत्रकारिता क्षेत्रले समाजमा सकारात्मक सन्देश प्रवाह गरी राष्ट्र निर्माणमा महत्त्वपूर्ण योगदान दिन सक्ने बताए । उपप्रधानमन्त्री पौडेलले सरकार पत्रकारसँग सहकार्य गरेर अघि बढ्न प्रतिबद्ध रहेको जानकारी पनि गराएका छन्  । सो क्रममा उपप्रधानमन्त्री पौडेलले प्रेस चौतारी नेपालसहित सवै सञ्चार संगठनहरुसँग आवश्यक सहयोग र सहकार्य गर्न सकार तयार रहेका जानकारी दिनुभएको प्रेस चौतारीका महासचिव हिरामान लामाले बताए ।

कार्यक्रममा प्रेस चौतारी नेपालका नवनिर्वाचित अध्यक्ष गणेश पाण्डेसहितका पदाधिकारी, निवर्तमान अध्यक्ष गणेश बस्नेत र नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रेस चौतारी नेपालका इन्चार्ज राजेन्द्र गौतमलगायतको उपस्थिति रहेको थियो ।