कुलमान र हितेन्द्रदेवको रिटमा बहस सकियो, आजै आदेश आउने


काठमाडौँ।

नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका रिट निवेदनको बहस सकिएको छ। कुलमान र हितेन्द्रदेवको निवेदनमा सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चूडाल र नित्यानन्द पाण्डेयको इजलासमा मंगलबारदेखि लगातार बहस भएको थियो। तीन दिनसम्म चलेको सुनुवाइ आजबाट सकिएको सर्वोच्च प्रशासनले जनाएको छ।

यी दुवै रिटको आदेश अजै आउने बताइएको छ।

कुलमानले आफ्नो पदावधि बाँकी छँदै सरकारले बदनियतपूर्वक कार्यकारी निर्देशकबाट हटाएको दाबी गर्दै थमौतीका लागि अन्तरिम आदेश माग गरेका छन्।

सरकारले यही चैत ११ गते कुलमानलाई हटाउँदै विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको हो। कुलमानको पदावधि ४ महिना बाँकी थियो।

उता हितेन्द्रदेवले कुलमानको नियुक्ति नै गलत भएको जिकिर गर्दै ४ वर्षअघि आफूले दायर गरेको रिटमा पहिले निर्णय हुनुपर्ने माग गरेका छन्।

आज बिहीबार केही सरकारी वकिल, केही शाक्यपक्षका कानुन व्यवसायी र उनीहरूको बहस सकिएपछि कुलमान पक्षका कानुन व्यवसायीले जवाफ बहस गरेका थिए।