काठमाडौं ।
राजा फर्काउने नाममा यही चैत १५ गते कोटेश्वरमा राजावादीले देखाएको उदण्डताले नजिकैको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड खण्डहरमा परिणत भएको छ । प्रदर्शनकारीहरुले गरेको आगजनीका कारण कम्पनीको बहुमूल्य मेसिनहरुसँगै उत्पादित सामग्री जलेर खरानीमा परिणत भएसँगै करोडौं रुपियाँको क्षति भएको छ ।
धन्न, सरकारले कफ्र्यु लगाउने सूचना जारी गरेकाले धेरै कर्मचारी समयमै घर फर्केका कारण उनीहरुको ज्यान भने जोगिएको थियो । तर कम्पनीमा प्रत्यक्ष या अप्रत्यक्ष रुपमा दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका सयांै कामदारको रोजीरोटी भने खोसिएको छ ।
कम्पनीका महाप्रबन्धक संगीता यादवले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘यहाँ काम गर्ने सबैको मुखको भाग खोसिएको छ । उनीहरुको बालबच्चाको पालन, पोषणलगायत सम्पूर्ण जिम्मेवारी अब कसले लिन्छ ?’ भाग्यले बाँचेका ती कर्मचारी तथा कामदारहरुको पनि एउटै प्रश्न छ– ‘हामी त बाँच्यौं तर हामीलाई बचाउने यो घर, ठूलाठूला मेसिन, दर्जनभन्दा बढी सवारीसाधन, तयारी अवस्थामा रहेको औषधि तथा कच्चा पदार्थलाई जोगाउन सकेनौं, सबै जलेर ध्वस्त भएको छ । एकछिन अघिसम्म आफूले काम गरेको ठाउँ खण्डहर भएको छ ।
सरकारले पुनर्निमार्णको आश्वासन त दिएको छ तर पूरा कहिले हुने ? त्यतिञ्जेल हामी र हाम्रा बालबालिका कसरी बाँच्ने ?’ यस्ता गम्भीर प्रश्नहरुको उत्तर न त राजावादी आन्दोलनकारीसँग छ, न त सरकारसँग नै । सरकारले आन्दोलनलाई निकै हलुका रुपमा लिएकाले र सुरक्षा निकायको कमजोरीका कारण जडीबुटी कम्पनी ध्वस्त भएको कर्मचारीहरुको ठम्याइ छ । कम्पनीका योजना तथा बजार व्यवस्थापन शाखा प्रमुख गोविन्द शर्माका अनुसार जडिबुटी कम्पनीमा शुरुमा ढुंगामुढा प्रहार गरिएको र पछि मात्र आगजनी गरिएको थियो ।
आन्दोलनकारीहरु क्रूर रुपमा प्रस्तुत भइरहँदा समयमै सुरक्षा निकायको उपस्थिति हुन नसक्दा र दमकल आइनपुग्दा कम्पनी जलेर ध्वस्त हुन पुगेको हो । महाप्रबन्धक यादवसहितका केही कर्मचारीहरु र एकजना विज्ञ कम्पनीको कामकै बारेमा छलफलमा गरिरहेकै बेला एक हुल आन्दोलनकारी केन्द्रमा प्रवेश गरी तोडफोड र आगजनीमा उत्रिएका थिए । शर्माले भन्नुभयो– ‘हामी उनीहरुसँग प्रतिकार गर्न सक्ने अवस्थामा थिएनौं । ज्यान जोगाउन कोही झ्यालबाट हाम फालेर नभागेको भए पत्रकार सुरेशकै हालत बनाउने थिए होलान् ।
ती आन्दोलनकारीले सरकारी कर्मचारी मार्नुपर्छ भन्दै लखेटिरहेका थिए । हामी सुरक्षा निकायलाई खबर गर्दै भागिरहयौ ।’ उहाँका अनुसार भाग्दाभाग्दै आन्दोलनकारीहरुले हानेको ढुंगाले लागेर एक जना कर्मचारी टाउकोमा चोट पनि लागेको थियो ।
कम्पनीका सुरक्षागार्ड अमर रोकाले आफू सादा पोसाकमा भएका कारण मात्र ज्यान जोगाउन सफल भएको बताउनुभयो । उहाँका अनुसार जडीबुटी कम्पनीभित्र केही सुरक्षाकर्मी भएको भए तापनि आन्दोलनकारीको भीड एकैपटक कम्पनीको ढोका फोरेर भित्र पसेकाले केही गर्न सक्ने अवस्था नै भएन ।
ढोका तोडेलगत्तै आन्दोलनकारीले सुरक्षा गार्डको कक्षमा आगजनी गरेको बताउँदै सुरक्षा गार्ड अमरले भन्नुभयो– ‘यदि म त्यहाँ भएको भए मेरो पनि अकालमा ज्यान जाने रहेछ ।’ झन्डै २ घण्टासम्म तोडफोडमा उत्रिएका आन्दोलनकारीहरुले निर्धक्कसँग तोडफोड सकेर अन्तिममा आगजनी गरे । रातको एक बजे उद्योग पूर्ण रुपमा खण्डहर भइसकेपछि मात्र आगो नियन्त्रणमा आएको उहाँले बताउनुभयो ।
आन्दोलनकारीको आँखामा नपरेका कारण स्यानिटाइजर उत्पादनका लागि राखिएको ३ वटा ठूला ट्यांकर अल्कोहल र डिजेल जोगिएको थियो । त्यसमा आगलागी भएको भए पूरै बस्ती र करोडौं मूल्यको सामान भण्डारण गरेको गोदामघर पनि खरानी हुने त्यहाँ कार्यरत कर्मचारीहरु बताउँछन् ।
चार घण्टासम्म आगो लाग्दा जडीबुटीको ७० करोड रुपियाँ बराबरको क्षति भएको पूर्वानुमान गरिएको छ । पार्किङमा राखिएका १३ वटा गाडी र ६ वटा मोटरसाइकल पूर्ण र ४ वटा मोटरसाइकलमा आंशिक क्षति भएको छ । कम्पनीको कार्यालय पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । यसैबीच गृहमन्त्री रमेश लेखकले स्थलगत अनुगमन गरी उद्योग सञ्चालनमा पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाइसक्नुभएको छ । जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रले वातावरणको सुधारलगायत पिछडिएका समुदायहरूको विकास गर्ने र उनीहरूलाई उचित आम्दानी प्रदान गर्ने दृष्टिकोण अघि सारेको थियो ।
सरकारको रेखदेखमा १९८१ सालमा स्थापना भएको यो कम्पनीले नेपालभित्र र विदेशमा औषधि, खाना, सौन्दर्य र स्वास्थ्य उद्योगका लागि छुट्टै पहिचान दिएको छ । दुखाइ निको पार्ने विभिन्न खालका तेल उत्पादन गर्ने पहिलो नेपाली कम्पनीका रुपमा स्थापित यो कम्पनीको तरहरा, बेलबारी, तामागढी, महेन्द्रनगर र टीकापुरमा ५ सय हेक्टर जमिनमा जडीबुटीको खेती छ ।
कम्पनीले सन्चो जटा हेयर तेल, सन्चो बाल्म, दुखाइ कम गर्ने तेल, सन्चो हातको स्यानिटाइजर, सिलाजित, पल्मारोसा तेल, लेमनग्रास तेल, तिमुर तेल, मेन्था तेल, तेजपात तेल र चमेली तेललगायतका थुप्रै जडीबुटीहरु उत्पादन गर्दै आएको छ ।
तस्वीर: अनिल आङदेम्बे
प्रतिक्रिया