लोकप्रिय गायक तथा अभिनेता प्रकाश सपुतको डेब्यु निर्देशनमा निर्मित फिल्म वसन्तमा समावेश गीत हेर्दै आँखामा सार्वजनिक गरिएको छ।
नेपालका विभिन्न लोकेसनका साथै भारतको गोवामा खिचिएको गीतमा अभिनेता सपुत र अभिनेत्री स्वस्तिमा खड्कालाई रोमान्टिक अवतारमा फिचर्ड गरिएको छ। सार्वजनिक गीतमा फिल्मका मुख्य पात्र वसन्तले विभिन्न धर्म र संस्कारअनुसार विवाह गरेको देखाइएको छ। जसले फिल्मको कथा र त्यसको मर्मलाई चित्रण गर्ने प्रयास गरेको छ।
गायक सुगम पोखरेल र गायिका समीक्षा अधिकारीले स्वर दिएको गीतमा सपुतकै शब्द रचना र संगीत तथा योगेश काजी शाहको संगीत संयोजन रहेको छ। केवीका खत्रीको कोरियोग्राफी रहेको गीतको भिडियोमा सुशन प्रजापतिको छायांकन र प्रवीन भट्टको सम्पादन रहेको छ।
गीत सार्वजनिक गर्न आयोजिक पत्रकार भेटघाट कार्यक्रममा निर्देशक तथा अभिनेता सपुतले गीतले मानिस जुनसुकै जात, धर्म अनि वर्गको भएपनि एक नै भएको सन्देश दिने बताए। ‘गीत सिनेमा अनुसार भए नभएको अहिले खासै अर्थ नराख्ला, तर कुनै न कुुनै दिन पक्कै चर्चा हुने र त्यसको महत्व देखिनेछ’ सपुतले भने। आगामी २२ गते नेपाल र विदेशमा एक साथ रिलिज हुने फिल्ममा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहारीलगायतले अभिनय गरेका छन्।
गलबन्दी प्रोडक्सनको ब्यानरमा मोहन विश्वकर्मा र बिन्दु बोहोराद्वारा निर्मित सोसल ड्रामामा कथा, पटकथा र संगीत निर्देशक सपुतको नै छ। विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा भन्ने फिल्ममा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्।
फिल्म गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउमा छायांकन गरिएको छ।
प्रतिक्रिया