काम गर्न नसकेपछि उपकुलपतिको राजीनामा

संकटमा त्रिवि

5.08k
Shares

कर्मचारी र शिक्षकको दबाबमा राजिनामा
-कार्यकारी परिषदलाई जानकारी नै नदिइ राजिनामा
-कर्मचारीसंग १४ गते सम्झौता गर्ने तय भएको थियो, त्यहीदिन सुटुक्क राजिनामा
-सर्वोच्चको अदालतले तनाब भएपछि राजिनामा
-रेक्टर र रजिस्टारले असहयोग गरेको आरोप

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले काम गर्न नसकेपछि राजीनामा दिनुभएको छ । राजीनामा दिनुअघि रेक्टर, रजिस्टारलगायत कार्यकारी परिषद्सँग सल्लाहसमेत गर्नुभएको छैन ।

उहाँले एकलौटीरुपमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई राजीनामापत्र बुझाउनुभएको हो । राजीनामा दिने विषयमा कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छलफल भएको छैन । स्रोतका अनुसार १४ गते सचिवालयका कर्मचारी राजमान महर्जनलाई राजीनामा पत्र तयार गरी प्रधानमन्त्री कार्यालयमा बुझाउन आग्रह गरेर सोही दिन राती करिब ९ बजे काठमाडौं छाड्नुभएको थियो ।

सीतापाइलास्थित निवासबाट त्रिविको सामान छाडेर हिँड्नुभएको थियो । ‘पीएसओ, घरको कुकुर र परिवारसहित १५ गते पोखरा पुग्नुभएको थियो । सोही दिन बिहान उहाँ चढ्ने सवारीसाधन, मोबाइल र ल्यापटप पीएसओको जिम्मा लगाएर उक्त सामान सचिवालयमा बुझाउन आग्रह गर्नुभएको छ ।

उपकुलपति बरालसँग पीएसओ जानुभएको थियो । १५ गते सचिवालयका कर्मचारी महर्जनले उपकुलपति बरालको राजीनामा पत्र सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रीपरिषद्को कार्यालयमा बुझाउनुभएको थियो । राजीनामा पत्रमा स्वास्थ्यका कारण देखाउनुभएको छ । उपकुलपति प्राडा बरालले पद छाड्नुअघि तत्कालीन प्रम पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्न पुग्नुभएको थियो । त्यस बेला पद नछाड्न गरेको आग्रह लत्याउँदै सोही दिन बेकुकी गुन्टा कसेर पोखरा पुग्नुभएको थियो ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यकालमा गत वर्ष फागुन १० गते नियुक्ति हुनुभएका उहाँले नियुक्त भएको १३ महिनामै राजीनामा दिनुभएको थियो । कार्यकारी परिषद्का पदाधिकारीलाई समेत जानकारी नदिई सुटुक्क राजीनामा दिएका उपकुलपति बरालले कर्मचारी र पदाधिकारीलाई धोका दिएको विश्लेषण गरिएको छ । प्रचण्डको जोडबलमा उपकुलपति बनेको आरोप उहाँमाथि थियो । राजनीतिक भागवण्डाले ग्रसित त्रिविमा उपकुलपति प्राडा बराल माओवादी, रेक्टर प्राडा खड्ग केसी एमाले र रजिस्टार प्राडा केदार रिजाल नेपाली कांग्रेस निकट हुनुहुन्छ ।

‘उपकुलपतिले राजीनामा दिएपछि उहाँबाटै नियुक्ति भएका दुई पदाधिकारीलाई नैतिक संकट परेको छ । अब उहाँहरुले के गर्नुहुन्छ भन्ने विषयमा निर्णय गर्लान्’ –स्रोतले भन्यो । उपकुलपतिको कार्यालय ४ वर्षको हो तर काम गर्न नसकेर एक वर्षमै राजीनामा दिएको सम्भवतः पहिलो घटना हो । पोखरा जानुअघि उहाँले प्रचण्डलाई भेटेर आफूले राजीनामा दिने बताउनुभएको थियो । त्यस बेला प्रचण्डले राजीनामा नदिन गरेको आग्रलाई बरालले बेवास्ता गर्नुभएको थियो ।

उहाँसँग सल्लाह गरेर फर्किएकै राती सचिवालयका कर्मचारी राजमान महर्जनलाई ‘भोलि राजीनामा बुझाइदिनु है’ भन्दै १४ गते राती नै पोखरा हिँड्नुभएको स्रोतले बतायो ।करार र आंशिक शिक्षकको दबाब थेग्न नसकेर उहाँले पदबाट राजीनामा दिनुभएको हो । सर्वोच्चले ‘करार वा अस्थायी कर्मचारी र शिक्षक कसैलाई पनि स्वतः स्थायी गर्न नमिल्ने आदेश दिएपछि पार्टी, कर्मचारी र शिक्षकको दबाबमा पर्नुभएका उपकुलपति बरालले आफ्नै कारणले राजीनामा दिनुभएको कर्मचारीको भनाइ छ ।

‘कर्मचारी स्थायी गरे सर्वोच्चको आदेश पालना नगरे मानहानिमा पर्ने, नगरे सर्वत्र दबाब थेग्नुपर्ने यही कारण उहाँले राजीनामा दिनुभएको हो । आन्तरिक प्रतिस्पर्धाबाट कर्मचारी स्थायी गर्ने विषयमा पदाधिकारीसँग यही १४ गते सम्झौता गर्ने तयारी थियो, त्यही दिन राजीनामा लेखेर पोखरा जानुभयो’ –एक कर्मचारीले नेपाल समाचारपत्रसँग भने ।

त्यसअघि रजिस्टार रिजालले आफूसँग सल्लाह नै नगरी केही कर्मचारी सरुवा गरेकोमा असन्तुष्ट हुनुहुन्थ्यो । सेवा आयोगका प्रमुख केदार ढकाललाई सरुवा गरी प्राज्ञिक परिषद्मा ल्याइएको थियो । प्राज्ञिक परिषद्का कर्मचारी लिली थापालाई सूचना प्रमुखमा सरुवा गरेको विषयमा उपकुलपति बेखुसी हुनुहुन्थ्यो । लगत्तै उपकुलपति बरालले परिषद्का प्रमुख थापाको थमौती गर्नुभएको थियो ।

उपकुलपति फकाउन दुई पदाधिकारी पोखरा

काम गर्न नसकेर राजीनामा दिएका त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बराललाई भेट्न दुई पदाधिकारी पोखरा पुग्नुभएको छ । त्रिविका रेक्टर प्राडा खड्ग केसी र रजिस्टार केदारप्रसाद रिजाल पोखरा पुग्नुभएको हो । राजीनामा दिनुअघि दुई पदाधिकारीसँग सल्लाहसमेत नगरेका उपकुलपति बरालसमक्ष राजीनामा दिनुको कारण खोज्दै दुई पदाधिकारी पोखरा पुग्नुभएको हो ।

स्रोतका अनुसार उपकुलपति बरालकै सिफारिसमा रेक्टर भएका केसी र रजिस्टार रिजालले आफूहरुले पनि राजीनामा दिने कि नदिने भन्ने विषयमा सल्लाह गर्न पोखरा पुग्नुभएको हो । उपकुलपति बरालले नियुक्ति गर्नुभएका रेक्टर केसी एमाले निकट हुनुहुन्छ भने रजिस्टार नेपाली कांग्रेस । उपकुलपति बराल माओवादी निकट हुनुहुन्छ । स्रोतका अनुसार उपकुलपतिलाई फकाउन दुई पदाधिकारी पोखरा पुगेका हुन ।

२०८० फागुन १० गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले बराललाई उपकुलपतिमा नियुक्ति गर्नुभएको थियो । उहाँले १३ महिना मात्र उपकुलपतिको वागडोर सम्हाल्नुभएको थियो । राजीनामा दिनुअघि तत्कालीन प्रम प्रचण्डसँग समेत कुनै सल्लाह गर्नुभएको थिएन ।

आफ्नै सिफारिसमा नियुक्ति भएका दुई पदाधिकारीलाई सुईंको नदिई राजीनामा दिएका उपकुलपति बराललाई पोखरा भेट्न गएको विषय त्रिविमा आलोचना भएको छ ।