नमुना कलेज अफ फेसन टेक्नोलजीको १९औं ग्रेजुएसन फेसन शो अनुकल्पित प्रभानम् फेसन, संस्कृति र नवाचारको उत्सवको रूपमा शुक्रवार सम्पन्न भएको छ।
ललितपुरको झम्सीखेलस्थित द प्लाजा नेपालमा सम्पन्न फेसन शो नेपाली कला, संस्कृति र आधुनिकताको संगमको उत्सव प्रतीत भएको थियो। ८८ स्नातक विद्यार्थी डिजाइनरको सिर्जनात्मक संसारलाई उजागर गर्ने शोमा नौ संग्रह प्रस्तुत गरिएको थियो। ती संग्रहले फेसन डिजाइनरहरूको दृष्टिकोण, मौलिकता, र सांस्कृतिक पहिचानलाई समेटेका थिए।
फेसन कार्यक्रम ३६ जना मोडलको मनमोहक प्रस्तुतिमा सम्पन्न भएको थियो। शोको विशेष आकर्षण भनेको प्रत्येक डिजाइनरद्वारा प्रस्तुत गरिएका मास्टरपिस थिए। ती पहिरनले नेपाली संस्कृति, परम्परा, र भावना प्रस्तुत गरे।
परम्परागत हस्तकलाका नमुनालाई समकालीन सिल्हुटसँग मिश्रण गर्दै ती डिजाइनरले फेसनलाई सिर्जनात्मकता र भावनाको क्यानभासमा उतारेका थिए। ३६ मोडलको प्रस्तुतिले डिजाइनरहरूको सिर्जनात्मक परिकल्पनालाई जीवन्त बनाए। कार्यक्रमको कोरियोग्राफी र निर्देशन सञ्चारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए।
कार्यक्रममा नमुना कलेज अफ फेसन टेक्नोलजीको ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेज्मेन्ट शीर्षक अन्तर्गतको फेसन डिजाइनिङसम्बन्धी स्नातक तहको अन्तिम परीक्षाको रूपमा अनुकल्पित प्रभानम् शीर्षकअन्तर्गत फेसन शोले मूर्त रूप पाएको हो।
परीक्षारुपी फेसन शोमा सिटिइभिटिका पूर्व उपाध्यक्ष डा. कुल बहादुर बस्नेत, पद्म कन्या बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रोफेसर डा. जया प्रधान, अध्यापकद्वय राजेन्द« सिंह र कुश्मा श्रेष्ठ, फेसन डिजाइनरद्वय राजेश धाख्वा र अनु श्रेष्ठ, एनसिएफटी आल्मुनाइका कार्यवाहक अध्यक्ष लिना महर्जन, मिस विभा २०२४ प्रेमा लाम्गाडे र मिस नेवाः नेपाल ११४५ प्रलिशा शाक्यले निर्णायकको भूमिका निर्वाह गरेका थिए।
प्रतिक्रिया